भियना । रुसको नियन्त्रणमा रहेको दक्षिणी युक्रेनको जापोरिज्जिया आणविक ऊर्जा केन्द्रमा ड्रोन आक्रमण भएको संयुक्त राष्ट्रसङ्घको आणविक ऊर्जा निकाय (आइएइए) ले पुष्टि गरेको छ।
भियनास्थित उक्त निकायले सामाजिक सञ्जालमा लेखेको छ, “जापोरिज्जिया ऊर्जा संयन्त्र (जेएनपिपी) मा खटिएको हाम्रो टोलीले टर्बाइन भवनको बाहिरी भागमा क्षति पुगेको फेला पारेको छ ।
टोलीको निरीक्षणमा उक्त क्षति ड्रोन आक्रमणकै कारण भएको देखिन्छ। यद्यपि, ऊर्जा केन्द्र र त्यसको वरपर विकिरणको स्तर भने सामान्य छ ।”
युरोपको सबैभन्दा ठूलो मानिने यो आणविक प्लान्टलाई रुसी सेनाले सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेको प्रारम्भिक दिनमै कब्जा गरेको थियो। यस क्षेत्रमा आणविक दुर्घटनाको जोखिम बढेको भन्दै मस्को र किएभले बारम्बार एकअर्कामाथि आक्रमणको आरोप लगाउँदै आएका छन् ।
रुसको सरकारी आणविक कम्पनी ‘रोसाटोम’ ले युक्रेनले जानाजानी ‘फाइबर अप्टिक केबल’बाट नियन्त्रित ड्रोनमार्फत उक्त आक्रमण गरेको आरोप लगाएको छ ।
रोसाटोमका प्रमुख कार्यकारी एलेक्सी लिकाचेभले यो घटनाले रुस र युक्रेनको सीमाभन्दा टाढा बस्ने मानिसहरूलाई समेत गम्भीर असर पार्न सक्ने चेतावनी दिनुभएको छ ।
अर्कोतर्फ, युक्रेनी विदेश मन्त्रालयले रुसको उक्त आरोपको खण्डन गर्दै एक विज्ञप्ति जारी गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “युक्रेनले आफ्नै भूमिमा रहेको आणविक प्लान्टमा आक्रमण गर्न सक्दैन, जसलाई उसले पुनः आफ्नो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। रुसको यो दाबी केवल अफवाह फैलाउने अर्को प्रयास मात्र हो।” (रासस/एएफपी)
View : 269
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved