Biratnagar, Morang, Nepal
२४ वैशाख २०८२, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा कांग्रेसको आक्रोश

मुख्यमन्त्री आसेपासे पोस्न व्यस्त बनेको आरोप

‘पँचौं वर्षअघि सुरू भएका योजनामा ‘एमओयू’ गर्न अहिले राज्यकोषको करोडौं रकम उडाउन जरूरी थिएन’, ती मन्त्रीले भने ‘भन्नलाई लगानी सम्मेलन भनियो । तर, खासमा यो एमालेको कार्यकर्ता भेलामा परिणत भयो । एमाले मन्त्री र मुख्यमन्त्रीको सचिवालयका आसेपासे, कार्यकर्ताहरू मात्रै उपस्थित थिए ।
उद्‌घोष सम्वाददाता
२४ वैशाख २०८२, बुधवार

विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘एकलकाँटे स्वभाव र कार्यशैली’ प्रदर्शन गरेको भन्दै कोशी प्रदेशको सत्ता गठबन्धनभित्र गम्भीर असन्तोष पैदा हुँदै गएको छ । 

सरकारका हरेक कार्यक्रम र योजनामा एमालेभित्रकै पनि आसेपासे समूहलाई मात्रै साथमा लिने मुख्यमन्त्री कार्कीको शैलीले सत्ता सहयात्री दल नेपाली कांग्रेस नै रूष्ट बनेको छ । 
मुख्यमन्त्रीको कार्यशैलीबाट आजित बनेका कांग्रेस नेताहरू पछिल्ल्लो समय मुखर बन्न थालेका हुन् । 

प्रदेश पर्यटन वर्षदेखि लगानी सम्मेलनसम्म, नीति कार्यक्रमदेखि बजेट निर्माणको तयारीसम्मका छलफलमा मुख्यमन्त्रीले सत्ता सहयात्री दल कांग्रेसलाई ‘बाइपास’ गर्दै आएको कांग्रेसको आरोप छ । 

मुख्यमन्त्रीको यस्तो शैलीले कांग्रेस कोशी संसदीय दलभित्र गम्भीर असन्तोष उत्पन्न गराएको हो । यसको पछिल्लो प्रमाण हो, कांग्रेस प्रमुख सचेतक गोपाल तामाङको पछिल्लो अभिव्यक्ति ।

प्रमुख सचेतक तामाङले सोमबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखे, जुन कोशी सरकारविरूद्ध लक्षित थियो । 

‘कोशी प्रदेश सरकारको एकलौटी रबैयाप्रति घोर बिमति छ’ तामाङले लेखेका छन् ‘यस्तो सरकारमा रहनु भन्दा प्रतिपक्षी हुनुमा गर्व गर्छु ।’ 

प्रमुख सचेतक तामाङले यस्तो लेख्नु अघि नै वैशाख पहिलो साता सम्पन्न कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले मुख्यमन्त्री कार्कीले हरेक कार्यक्रमलाई एकलौटी गरेको, गठबन्धनको मर्म अनुरूप अघि नबढेको भन्दै तीव्र असन्तोष प्रकट गरेका थिए ।

अहिले नीति कार्यक्रम तथा बजेटको तयारी भइरहेका बेला  सत्तारूढ दलकै प्रमुख सचेतकलाई ‘सरकारमा रहनुभन्दा प्रतिपक्षी हुनुमा गर्व गर्छु’ भन्ने अवस्था कसरी आयो ? प्रमुख सचेतक तामाङले यसबारे थप बोल्न चाहेनन् । 

‘मैले मलाई लागेको विषय लेखेको हो’, उनले भने ‘अहिले यो भन्दा बढी बोल्ने विषय केही छैन ।’

कांग्रेस संस्थापन पक्षका निकट मानिने कोशीका प्रमुख सचेतक तामाङको यस्तो अभिव्यक्तिपछि उद्घोषले कोशीका आधा दर्जन कांग्रेस नेतालाई यसबारे प्रश्न गरेको छ । 

सोमबार कांग्रेस कोशीका नेता र मन्त्रीहरूलाई यसबारे प्रश्न गर्दा अधिकांश नेताहरूले मुख्यमन्त्री कार्की स्वेच्छाचारी बनेको, काममा भन्दा आसेपासे पोस्न बढी लिप्त बनेको, कांग्रेसको सुझाव सुन्दै नसु्नेको जस्ता आरोप लगाएका छन् । 

कार्की नेतृत्वको मन्त्रिपरिषदमा कांग्रेसबाट सदस्य रहेका एक जना मन्त्रीले नै मुख्यमन्त्री कार्की पछिल्लो समय स्वेच्छाचारी ढंगले अघि बढ्न खोजिरहेको बताए ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका प्रदेशसभा सदस्य भीम पराजुलीले कोशीको सरकार गठबन्धनको मर्म र संस्कृति अनुसार अघि नबढेका कारण असन्तोष चुलिएको स्वीकारे ।

‘सरकार गठबन्धनको मर्म र संस्कार अनुसार अघि बढेको छैन’, पराजुलीले भने ‘यो मर्म अनुसार चलोस् भन्ने हाम्रो आग्रह छ । यदि नचल्ने हो भने यसको परिणाम राम्रो देखिदैन ।’ 

मुख्यमन्त्रीको शैलीले आफूहरू आजित बनेको मन्त्रीहरू नै बताउ“छन् । 

‘बोलीमा सबैलाई मिलाएर अघि बढ्छु भन्ने मुख्यमन्त्री एमालेभित्रको पनि आसेपासेलाई मात्रै साथमा लिएर अघि बढेका छन्’, कार्की मन्त्रिपरिषदमा रहेका एक मन्त्रीको भनाइ छ ‘पर्यटन (भ्रमण) वर्षको कार्यक्रमदेखि लगानी सम्मेलनबाटै मुख्यमन्त्रीको नियत छर्लङ्ग भएको छ । 

यी कार्यक्रमका नाममा आसेपासे पोस्ने गरी सरकारी रकम उडाइएको छ । यस्ता कार्यक्रमलाई सार्थक बनाउने गरी हामीले दिइएको सुझाव वेवास्ता भएको छ ।’ 

उनका अनुसार मुख्यमन्त्री कार्की जसरी हुन्छ प्रचारमुखी काममा तल्लिन भएका छन् । यसले राज्यकोषको रकम अनवाश्यक रूपमा उडेको छ । 

ती मन्त्रीले थपे ‘राज्यकोषको रकम खर्चेर मुख्यमन्त्रीको व्यक्तिगत विज्ञापन गर्ने काम कुनै पनि हालतमा स्वीकार्य छैन । के गर्दा एमालेका केही कार्यकर्ता पोसिने हु्न्, मुख्यमन्त्रीको ध्यान त्यता मात्रै गएको देखिएको छ ।’ 

उनका अनुसार लगानी सम्मेलनमा अनावश्यक रूपमा राज्यकोष उडाउने काम मुख्यमन्त्रीकै चाहनामा भएको छ । 

‘पाँचौं वर्षअघि सुरू भएका योजनामा एमओयू गर्न अहिले राज्यकोषको करोडौं रकम उडाउन जरूरी थिएन’, ती मन्त्रीले भने ‘भन्नलाई लगानी सम्मेलन भनियो । तर, खासमा यो एमालेको कार्यकर्ता भेलामा परिणत भयो । 

एमाले मन्त्री र मुख्यमन्त्रीको सचिवालयका आसेपासे, कार्यकर्ताहरू मात्रै उपस्थित थिए । नाम मात्रैका लगानीकर्ता भेला पारेर राज्यकोष रित्याउने काम भयो । 

हामी यसमा सन्तुष्ट छैनौं ।’ यस्तै भ्रमण वर्षका नाममा भइरहेका गतिविधि पनि आसेपासे पोस्ने गरी मात्रै अघि बढाइएको उनको आरोप छ ।

कांग्रेस नेताहरूका अनुसार योजना छनोटमा पनि मुख्यमन्त्रीले आफू निकटका कार्यकर्ताहरूलाई पोस्ने नियत सुरूदेखि नै देखाएका छन् । 

‘हामीले भनेका योजनाहरू पार्दै नपार्ने, बरू एमालेका कार्यकर्ता जोडिएका योजना कसैगरी नछुटाउने शैली मुख्यमन्त्रीले सुरूदेखि नै देखाएका छन््’, कांग्रेस नेताहरूको आरोप छ ‘कांग्रेस सांसदहरूले औंल्याएका योजना र बजेटमा ध्यान नदिने तर आफू निकटका कार्यकर्ता र व्यापारी पोस्ने काममा मुख्यमन्त्री लगातार लागिरहेको देखिन्छ । यो गलत छ । यस्तो अवस्था हेरेर बस्न सकिन्न ।’

कांग्रेस कोशीलाई चिढ्याउने अर्को कारण बनेको छ, उसको नेतृत्वमा रहेका मन्त्रालयहरूको बजेट कटौती । 

प्रदेश सरकारमा कांग्रेसले नेतृत्व गरेका मन्त्रालयहरूको ‘बजेट सिलिङ’ घटेपछि पनि कांग्रेस असन्तुष्ट बनेको हो । 

एमाले नेता रामबहादुर मगर नेतृत्वमा रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट सीमा र मागर्दशन सम्बन्धमा मन्त्रालय तथा मातहत निकायलाई पत्राचार गर्ने क्रममा बजेटको सिलिङ तोकेको छ । यसमा कांग्रेसले नेतृत्व गरेका मन्त्रालयहरूको बजेट घटाएर पठाइएको छ । 

प्रदेशमा रहेका  नौ मध्ये चारवटा मन्त्रालय कांग्रेसको नेतृत्व छ । भौतिक पूर्वाधार, स्वास्थ्य, उद्योग, कृषि तथा सहकारी र पर्यटन वन तथा वातावरण मन्त्रालयमध्ये सबैजसोको सिलिङ घटाइएको छ । 

भौतिक पूर्वाधारको दुई अर्ब घट्ने निश्चित भएका बेला उद्योग, कृषि तथा सहकारी मन्त्रालयको सिलिङ पनि आगामी वर्षका लागि २२ करोड घटेको छ ।

पर्यटन वन तथा वातावरण मन्त्रालयको समेत सिलिङ घटेको छ । 

मन्त्रालयको १४ करोड बजेट घटाइएको भन्दै मन्त्री सदानन्द मण्डलले असन्तोष प्रकट गरेका छन् । मुख्यमन्त्री र मन्त्रीहरूको एकलौटीले आक्रोशित कांग्रेस सांसदहरू सरकारका गतिविधिमा आफूहरूलाई सहभागी नगराइएको भन्ने विषयले पनि रूष्ट छन् ।

मुख्यमन्त्रीसँग कांग्रेसमा असन्तोष बढ्ने अर्को कारण लगानी सम्मेलनले पनि ल्याएको नेताहरूको भनाइ छ । 

‘सम्मेलनको उद्घाटनमा प्रधानमन्त्री ल्याउने भएपछि समापनमा सत्ता गठबन्धन दलका नेता शेरबहादुर देउवालाई आमन्त्रण गर्न संसदीय दलको बैठकले सुझाव दिएको थियो’, कांग्रेस स्रोतले भन्यो ‘तर, मुख्यमन्त्रीले हाम्रो दलको बैठकको निर्णयलाई नै सुनेको नसुन्यै गरे । यसले उनी कतिसम्म एकलौटी रूपमा अघि बढ्न खोजेका छन् भन्ने देखिन्छ । यही रवैया कायम रहे हामीले सोच्नुपर्ने हुनसक्छ ।’

View : 141

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved