Biratnagar, Morang, Nepal
२४ भदौ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

जेन्जी आन्दोलनको वर्षदिन

नवयुवाको आक्रोशमा घुसपैठियाको ताण्डव

उद्‌घोष संवाददाता
२४ भदौ २०८३, बुधवार

Advertisement

विराटनगर । गत वर्ष भदौ २४ गते दिउँसो १२ बजे । विराटनगर देवकोटा चोकस्थित कोशी प्रदेशसभा सचिवालय परिसरभित्र कर्मचारीहरू अत्तालिँदै यताउति दौडिरहेका थिए । बाहिर सडकमा आक्रोशित भीड नाराबाजी गर्दै गेट तोड्ने प्रयासमा थियो । 

भित्र रहेका कर्मचारी र सुरक्षाकर्मीहरूले सुरूमा सोचेका थिए– ‘अघिल्लो दिनजस्तै आज पनि प्रहरीले भीड रोक्छ, संसदभित्र हामी सुरक्षित छौँ ।’ तर, स्थितिले एकैछिनमा अर्कै रूप लिइसकेको थियो । 

अचानक खबर फैलियो– ‘मुख्य गेटमा तैनाथ सुरक्षाकर्मीहरू पछाडिको भागिसके !’ यति खबर सुन्नासाथ संसद्  भवनभित्र भागाभाग मचियो । 

‘गेट तोडेर प्रदर्शनकारीहरू भित्र छिरिसकेका थिए, हामीले पछाडिको ढोकाबाट निस्केर बल्लतल्ल ज्यान जोगायौँ,’ त्यो पल सम्झँदै प्रदेशसभाका कर्मचारी वासु पौडेलले भने, ‘हामी निस्केको केही बेरमै भवनबाट धुवाँको ठूलो मुस्लो निस्किन थालेको थियो ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध खोल्नुपर्ने आवाजसहित भदौ २३ मा देशव्यापी सुरू भएको प्रदर्शन केहीबेरमा मौलाउँदो भ्रष्टाचार र कुशासनविरोधी आन्दोलनमा रूपान्तरण भएको थियो । 

विराटनगर, इटहरी, दमक र बिर्तामोडसहित देशका प्रमुख सहरमा  नवयुवाहरू स्वतःस्फूर्त सडकमा ओर्लिएका थिए । तर, पहिलो दिन नै इटहरीमा प्रहरीसँगको झडपमा इटहरी–१४ का मोहन सरदार र इनरूवा–६ का अभिषेक श्रेष्ठको गोली लागेर मृत्यु भएपछि स्थिति तनावग्रस्त बन्यो । त्यही दिन काठमाडौंमा १७ जना सुरक्षाकर्मीको गोली लागेर मारिएका थिए । 

अघिल्लो दिन इटहरी र काठमाडौँमा साथीहरू मारिएको आक्रोश र भदौ २४ को बिहानैदेखि सामाजिक सञ्जालमा फैलिएका अनियन्त्रित अफवाहहरूका कारण भीड पूर्णतः नियन्त्रणबाहिर पु¥याएको थियो ।

कोशीमा भदौ २४ गते राजधानी विराटनगरलगायत झापा र सुनसरीका सडकहरू युद्धमैदानमा परिणत भएका थिए । 

सुशासन माग्न निस्किएको भीडभित्र राजनीतिक दलका कार्यकर्ता, लागुऔषध सेवनकर्ता, अपराधी र स्वार्थ समूहहरूको घुसपैठ भइसकेको थियो । घटनापछि गठित दुईटा जाँचबुझ आयोगले नै यो कुरा प्रतिवेदनमा उल्लेख गरेका छन् ।

भदौ २४ मा विराटनगर रणभूमिमा परिणत भएको थियो । प्रदेशसभा परिसरमा भीड छिरेपछि तोडफोड र लुटपाटको ताण्डव सुरू भयो । 

कोही सभामुख र सांसदका कुर्सीमा बसेर फोटो–भिडिओ खिच्न व्यस्त थिए भने कोही कार्यालयका कम्प्युटर, फर्निचर, एसी, पङ्खा र विद्युतीय सामग्री बोकेर दौडिरहेका थिए । 

‘हाम्रो आँखैअगाडि ‘लखनउ लुट’ चल्यो । सुरक्षाकर्मी थिएनन् । कसैले केही भन्ने अवस्था थिएन,’ देवकोटा चोकका बासिन्दा पूर्णप्रसाद गौतमले भने ‘सुरूमा सम्झाउन खोज्दा आफैँतिर आइलागेपछि हामी टुलुटुलु हेरेर बस्न बाध्य भयौँ । कार्यालयका महँगा सामान त लगे लगे, क्यान्टिनका थाल र चम्चासमेत सिटी रिक्सामा लोड गरेर लैजानेहरू थिए ।’ 

केही बेरमै प्रदेशसभाको तीनतले प्रशासनिक भवन र नयाँ सभाहलमा आगो झोसियो । संसदीय अभिलेखहरू खरानी बने । 

पार्किङमा राखिएका ८ वटा सरकारी गाडी, २१ वटा मोटरसाइकल र स्कुटरहरू डढेर नष्ट भए । विराटनगरमै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालयहरू, उच्च अदालत, जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय वाणिज्य बैंक र भाटभटेनीमा समेत आगजनी र लुटपाट भयो । 

विराटनगर महानगरपालिकाको मुख्य प्रशासनिक भवन र धेरै वडा कार्यालयहरू नष्ट भए । पार्टी कार्यालयहरू, विभिन्न तहका जनप्रतिनिधि र दलका नेताहरूको निजी घर पनि अराजकताको आगोमा परे । 

त्यसदिन अराजकताको निशाना सरकारी पूर्वाधारमा मात्र सीमित रहेन । निजी सम्पत्तिहरूमाथि मोरङको सुन्दरहरैँचास्थित विराटचोकमा सञ्चालित चारतारे स्तरको ‘होटल नेपालीरिका’ यसको सबैभन्दा दर्दनाक सिकार बन्यो । 

नेताहरू लुकेको र नेताहरूको लगानी रहेको भ्रामक अफवाहकै भरमा होटलमा विनाशलीला रचिएको थियो । 

मोरङका उत्साही उद्यमी भोलेश्वर दुलालले ३२ वर्षसम्म पसिना बगाएर उभ्याएको ६० वटा सुविधासम्पन्न कोठा, भिल्ला र सेमिनार हल भएको होटललाई भीडले तोडफोड गरी ३२ मिनेटभित्रै खरानी बनाइदिएको थियो । ४८ वटा टेलिभिजन र १२८ वटा ग्यास सिलिन्डरहरू लुटिएको थियो ।

यद्यपि, ३२ वर्षको पसिना खरानी भए पनि उद्यमी दुलालले हिम्मत हारेनन् । १५० भन्दा बढी कर्मचारी कसैलाई पनि जागिरबाट ननिकाली, बन्द रहेको ३ महिनाको पनि पूर्ण तलब र दशैँ बोनस भुक्तानी गरेर उनले फेरि नेपालीरिकालाई नयाँ जीवन दिइसकेका छन् ।

२०८२ मंसिर १ बाट  होटल पुनः सञ्चालनमा आइसकेको छ । घटनाको एक वर्ष पुग्दा ९० प्रतिशतभन्दा बढी पुनर्निर्माण सकिइसकेको दुलालले जानकारी दिएका छन् । 

भदौ २४ को विध्वंसले कोशी प्रदेशका प्रायः सबै मुख्य शहर र स्थानीय तहहरूलाई लथालिङ्ग बनाइदिएको थियो । 

भदौ २४ गते दिउँसो, जेन्जी प्रदर्शन उग्र बन्दै जाँदा सडक तथा सरकारी कार्यालयहरूको सुरक्षार्थ तैनाथ सुरक्षाकर्मी एकाएक गायब भएका थिए । 

आन्दोलनकारीका अघि हार मानेर जब सुरक्षाकर्मीहरू पछि हटे, विराटनगर क्षेत्रका सरकारी तथा निजी भवनहरू एकएक गरी आगोको लप्कासँगै जलेका थिए । 

तोडफोड र आगजनीबाट मोरङमा १५५ वटा भवन तथा सरकारी संरचनामा क्षति पुगेको तथ्यांक छ ।

कोशी प्रदेशको राजधानीसमेत रहेको विराटनगरका दर्जनौं सरकारी कार्यालय र भवनमा तोडफोड र आगजनी भयो ।

विराटनगरसहित धरान, दमक, बिर्तामोडमा रहेका भाटभटेनी सुपर स्टोरसहित निजी व्यापारिक प्रतिष्ठानहरू निसानामा परे । 

विराटचोकमा रहेको ’होटल नेपालीरिका’ आक्रोशको आगोले खरानी जस्तै बन्यो । विराटनगरकै ‘होटल ह्यारिसन’ लुटपाट र तोडफोडको शिकार बन्यो ।

विराटनगर महानगरपालिकाको प्रशासनिक भवन र वडा कार्यालयहरू नष्ट हुँदा रू ९८ देखि १०० करोड बराबरको क्षति भएको महानगरले जनाएको छ । त्यस्तै  रङ्गेली, पथरीशनिश्चरे र उर्लाबारी नगरपालिकाका कार्यालयहरूमा आगजनी र तोडफोड भएको थियो ।

सुनसरीका इटहरी उपमहानगरपालिकाका, इटहरीकै  मेयर हेमकर्ण पौडेलको घर, उपमहानगरको दमकलमा समेत आगजनी भएको थियो ।

इटहरी इलाका प्रहरी कार्यालय, इनरूवा नगरपालिका भवन, वडा कार्यालयहरू र कोशी गाउँपालिका लगायतमा आगजनी र लुटपाट भएको थियो ।

त्यसैगरी झापाका दमक नगरपालिका, दमक भ्यूटावर, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको घर, स्थानीय जनप्रतिनिधि तथा नेताहरूको घर, भाटभटेनी, विभिन्न दलका पार्टी कार्यालयहरू बिर्तामोडस्थित भाटभटेनी, अनारमनी प्रहरी कार्यालय लगायत १५० देखि २१० सरकारी तथा निजी संरचनामा आगजनी र क्षति भएको थियो ।

झापाका विभिन्न प्रहरी कार्यालयहरूबाट २२ थान हतियार लुटिएका थिए । तेह्रथुमको आठराईस्थित ओलीको जन्मघरमा आगजनी गरिएको थियो ।

राजधानी काठमाडौंसहित देशव्यापी रूपमा आन्दोलन चर्किएपछि अन्ततः प्रधानमन्त्री ओली बालुवाटारबाट हेलिकप्टर चढेर भाग्न बाध्य भए ।

उनले राजीनामा दिएपछि एकाएक सेनाको अगुवाइमा नयाँ सरकार गठनको पहल चल्यो । अन्ततः पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा ६ महिनाभित्र चुनाव गर्ने गरी नयाँ सरकार बन्यो ।

त्यसपछि सरकारद्वारा गठित गौरीबहादुर कार्की नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग र राष्ट्रिय मानव अधिकार आयोगले पनि घटनाको छानबिन थाले ।

ती छानबिन प्रतिवेदनहरूले कोशी प्रदेशका घटनाबारे महत्वपूर्ण निष्कर्ष निकालेका छन् । जस अनुसार आन्दोलनका क्रममा कोशी प्रदेशमा ५ जना नागरिकको मृत्यु भएको दुवै प्रतिवेदनको ठहर छ ।

 सुनसरीमा मोहन सरदार र अभिषेक श्रेष्ठ तथा झापामा कमल भण्डारी, गोपाल सेढाई र दिनेश राजवंशीको ज्यान गएको थियो । कोशी प्रदेशमा मात्रै कूल २२४ भन्दा बढी घाइते भएको कार्की आयोगको प्रतिवेदनमा उल्लेख छ । 

कार्की आयोगका अनुसार जेनजीको नेतृत्व कमजोर हुँदा दलका कार्यकर्ता, लागुऔषध सेवनकर्ता, अपराधी र स्वार्थ समूहले आन्दोलन अपहरण गरेका थिए । 

सुरक्षा निकायहरूबिच समन्वय अभाव र चेन अफ कमान्ड नहुँदा स्थिति भयावह बनेको कार्की आयोगको ठहर छ । त्यस्तै मानव अधिकार आयोगले राज्य पक्षबाट टाउको र छातीमा ताकेर घातक गोली चलाइएको भन्दै मानव अधिकारको गम्भीर उल्लङ्घन भएको औँल्याएको छ ।

यी दुवै प्रतिवेदन काठमाडौँमा केन्द्रित रहेको र कोशी प्रदेशका घटनाहरूमाथि गहिरो स्थलगत अनुसन्धान नगरी छिपछिपे विश्लेषण मात्र गरेको भन्दै ठूलो आलोचना भएको थियो ।

आज विनाशको एक वर्ष बितिसक्दा पनि विराटनगरको देवकोटा चोकस्थित प्रदेशसभाको पुरानो घर जलेको अवस्थामा ‘रेड स्टिकर’ टाँसिएर खण्डहर अवस्थामा छ ।  १४ करोड बराबरको भौतिक पूर्वाधार र ऐतिहासिक अभिलेख गुमाएको प्रदेशसभा अहिले आफ्नै भवनविहीन छ ।

विस्थापित भएपछि सुरूमा विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहलाई मासिक ८ लाख भाडा (६ महिनाको कुल ४८ लाख) तिरेर बैठक चलाइयो ।

हाल कटहरी गाउँपालिकाको स्वामित्वमा रहेको तरकारी बजारको संरचनामा ४ करोड रूपैयाँभन्दा बढी खर्च गरेर प्रदेशसभा सञ्चालन भइरहेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको मुख्य भवन अहिले पनि हरियो पर्दा टाँगिएको अवस्थामा छ ।

नजिकै रहेको अर्को भवनबाट सबै कामहरू भइरहेको छ । महानगरदेखि स्थानीय तहका भवनहरू पनि जसतोतसो कामचलाउ रूपमा सन्चालन भइरहेका छन् । 

आन्दोलनको वर्षदिन बित्दा त्यो घटनालाई फर्केर हेर्नेहरूले सरकारको निरंकुशताविरूद्धको प्रश्नलाई जायज मानेका छन् । तर, त्यसको निहुँमा भएको राज्य र निजी सम्पत्तिमाथिको आक्रमणको भने खुला रूपमा विरोध गरिरहेका छन् ।

‘भ्रष्टाचार, कुशासन र सरकारी  प्रतिबन्धका विरूद्ध युवाहरूले औँला उठाउनु र सरकारलाई प्रश्न गर्नु लोकतन्त्रको प्राण हो, जेनजी आन्दोलनको त्यो मूल सन्देश र चेतना इतिहासमा स्वर्ण अक्षरले लेखिनेछ,’ राजनीतिक विश्लेषक झलक सुवेदीले लेखेका छन् ‘तर, आन्दोलनको निहुँमा मौलाएको अनियन्त्रित हिंसा, लुटपाट, अफवाह र विध्वंसले राज्य र नागरिक दुवैलाई कहिल्यै नपुर्ने घाउ दिएको छ ।

भदौ २४ मा सुशासन र परिवर्तनका लागि उठेको युवा विद्रोहको दृश्य मात्र  थिएन । त्यो त अफवाह, आक्रोश र आपराधिक घुसपैठले जन्माएको उन्मुक्त अराजकताको नाङ्गो नाच थियो ।’

View : 48

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved