Biratnagar, Morang, Nepal
२४ भदौ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
विचार

विराटनगरलाई हेर्दा

डा भरतराज सुब्बा
२४ भदौ २०८३, बुधवार

Advertisement

विराटनगर आफैँले आफ्नो चाहनाहरू व्यक्त गर्न सक्तैन ।

विराटनगर सुगम ठाउँ भएर पनि विराटनगरबासीले चाहेको विकास यहाँ हुन नसक्नु, यसबारे बोल्न नसक्ने विराटनगर, विराटगर महानगरपालिका नाममात्र भएर पुग्दैन भनी गुनासो भने पोख्दछ ।

 

विराटनगर बारे दर्जनौँ लेखहरू आए ।

कसैले विराटनगरको इतिहास बारे आफ्नो धारणा पस्किए, कसैले विराटनगर नाम कसरी भयो भनी लेखे,

कसैले यहाँका राजनीतिक परिवेशमा डुबुल्की मारे, कसैले यहाँका आर्थिक विकास बारे आफ्नो धारणा राखे, कसैले यहाँका व्यापारीहरूबारे गनथन गरे, कसैले यहाँका शिक्षित वर्ग बारे चर्चा गरे, कसैले शैक्षिक संस्थाहरूको अवस्थाबारे जानकारी दिने प्रयास गरेको पाइयो ।

कसैले यहाँका सङ्घसंस्थाहरूबारे टिप्पणी गरे । 


    देशको राजनीतिमा महत्वपूर्ण योगदान दिनसक्ने क्षमता राख्ने व्यक्तिहरू बसोबास गर्ने स्थानको रूपमा परिचय बनाएको यो विराटनगरले राणा शासनको अन्तपछि प्रथम प्रधानमन्त्री मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, नगरेन्द्रप्रसाद रिजाल, कृतिनिधि विष्ट, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, सुशीलप्रसाद कोइराला, विराटनगरका वासिन्दाको रूपमा परिचय पाएका सात जना प्रधानमन्त्री विराटनगरबाट हुनु भनेको कम गर्वको कुरो होइन । 


सात–सात जना प्रधानमन्त्री भएर देशको चौतर्फी विकासमा योगदान अवश्य पु-याउनु भयो तर आफ्नो गृहनगरको विकासतर्फ सोच्न कञ्जुस्याइँ गर्नुभएको जस्तो विराटनगरले महसुस गर्दैछ ।

कुनै पनि सरकारी संरचनाहरू निर्माण गर्न सरकारी जमिनको अभाव देखिएको छ । 


    भारतको जोगबनी रेल्वे स्टेशनदेखि ५ किमि दूरीमा रहेको यो विराटनगर सहर अझै पनि विकासका धेरै महत्वपूर्ण विषयहरूमा पछाडि किन परेको छ ?

कता कता नरमाइलो लाग्ने । बाहिरबाट एक पाहुना आएमा पाँच मिनेट खुला आकाशमुनि सुन्दर हरियालीले सजिसजावट भएको खुला पार्कमा बस्ने मौका दिन सकेको छैन विराटनगरले ।

विराटनगरमा विद्यालयको सङ्ख्या बढ्दो छ तर विद्यार्थीहरूले पुस्तकमा देखेका उपकरणहरू, जनावर र वनस्पतिका चित्रहरू सङ्ग्रहालयमा, जुलोजिकल पार्क र वनस्पति उद्यानमा देखेर सन्तुष्ट हुन पाएका छैनन् ।


 प्रत्यक्ष देखेर जति ज्ञान प्राप्त हुन्छ, त्यति टीभी, युट्युव र विविध च्यानलहरूमा देखिएका वस्तुले ज्ञान दिन सक्दैन ।

टीभी, युट्युव, अन्य सामाजिक च्यानलहरूमा देखिने वस्तुहरू त एक प्रकारले भन्ने हो भने काल्पनिक वस्तु जस्तो मात्र हुन्छ ।

यथार्थमा प्रत्यक्ष रुपमा विद्यार्थीहरूलाई देखाउन शिक्षालयहरूले धेरै शैक्षिक सामाग्रीहरू जुटाउन सक्नुपर्छ तर त्यस्तो क्षमता भएका विद्यालयहरूको सङ्ख्या न्यून छ भने पनि हुन्छ ।

धेरै प्रतिशत विद्यालयहरूको त खेल्ने मैदानसम्म प्रशस्त छैन ।

सरकारी पुस्तकालय, सङ्ग्रहालय, वनस्पति उद्यान, जुलोजिकल पार्क, स्विमिङ पुल, माछा गृह, अनुसन्धान केन्द्र जस्ता अत्यन्तै आवश्यक पर्ने संरचनाहरू नरहेको अवस्थामा विराटनगरलाई मृत सहरको नामले परिचय दिन मन लाग्छ ।

माथिका संरचनाहरूको व्यवस्था भए विराटनगरले नयाँ नाम शैक्षिक हव जस्ता अत्यन्त आकर्षक उपाधिसहितको नाम पाउने छ । 


    विराटनगर महानगरपालिका भित्र पर्ने मिल्स एरिया जहाँबाट देशमा पहिलोपल्ट ऐतिहासिक मजदुर आन्दोलन सुरु भएको थियो ।

मिल्स एरियाको सिमाना भारतको जोगबनीसँग जोडिएको छ । धेरै वर्षसम्म विराटनगर भन्ने वित्तिकै औद्योगिक सहर भन्ने बुझिन्थ्यो ।

 

औद्योगिक क्षेत्रको परिचय बनाएको विराटनगरले धेरै काम ग-यो तर पछि आउने पुस्ता बारे विगतका पुस्ताहरूले त्यति ध्यान पु-याएको जस्तो लाग्दैन ।

हुनतः राणा शासनपश्चात् पनि सोच्ने धेरै मौका त पाए होलान् तर आँट र दुरगामी सोच नपुगेको भन्दा अत्युक्ति नहोला । 


    नगरको विकास, नगरको भौतिक संरचनाहरू, आकर्षक बनाउन, अर्थतन्त्रको विकास गर्न पर्यटक निम्त्याउने, आकर्षक संरचनाहरू बनाउने योजनाहरू आए तापनि कार्यान्वयन गर्न नसकेको बुझिन्छ ।

सडक, खानेपानी, बिजुली, इन्टरनेट आदिको व्यवस्थाले सुविधा सम्पन्न नगर देखिए तापनि सुविधालाई राम्ररी प्रयोग गर्न सक्ने चेतनाको विकास गर्ने काममा नगर पछाडि छ ।  


    नगर प्रमुख भएर बस्ने धेरैले मौका पाए तर कसैको पनि विराटनगरमा पृथक प्रकारको विकास गर्ने योजना आएको पाइएन । सानातिना योजनाहरूले विराटनगर महानगरपालिकाको नाम चल्दैन ।

माथि उल्लेख गरिएका भौतिक संरचनाहरूको व्यवस्था जबसम्म हुँदैन, तबसम्म विराटनगरलाई पुरानै शैलीको सहर भनेर चिनिन्छ ।

जबसम्म बाह्य पर्यटक र विद्यार्थी विराटनगरमा भित्रिदैनन् तबसम्म आयातभन्दा निर्यात कम नै रहन्छ । परनिर्भरता चुलिन थालेको छ ।

यसको न्यूनीकरण गर्न भौतिक स्तरबाट भए पनि बाह्य पर्यटक निम्त्याउने आकर्षण मनोरञ्जनका संरचनाहरू निर्माण गर्न सुरु गरोस् विराटनगरले । 


    देशको विकास देशको राजनीतिक अवस्थामा निर्भर गर्दछ ।

देशको राजनीतिक अवस्था स्थिर नरहेसम्म विकास सधैँ अन्योलमै रहन्छ ।

विगत झण्डै पैतीस वर्षसम्म देशले क्रेन टाइपको विकासमा चित्त बुझाएर रहनुप-यो ।

राजनीतिक भागवण्डामा धेरैले छक्का, दाउ पारे तर सङ्घसंस्थाहरूको विकास शून्यभन्दा तल झ-यो ।

 

यहाँ क्रेन टाइपको विकास केलाई भन्न खोजिएको हो भने, राजनीतिक नियुक्तिमा दक्षता र विषयको कदर गरिएन ।

आफ्नो पार्टीको पिट्ठू वा आँखा बन्द गरेर समर्थन गर्ने व्यक्ति भए पुग्यो ।

यसरी नियुक्ति गरिएका सङ्घसंस्थाहरूको हाकिमहरूले के गर्न सक्नुपथ्र्यो त्यो गर्न असमर्थ हुँदा संस्थाहरू घाटामा गएको, बन्द हुन पुगेको, विकास स्थिर अवस्थामा रहेको धेरै उदाहरणहरू छन् । 


    देशमा भ्रष्टाचार मौलाएको कारणले नै देशको सबै क्षेत्रमा विकास मौलाउन नसकेको यथार्थ जीवितै छ ।

अझै पनि खाएर आनन्द मनाउनेहरूको चित्त बुझेको छैन ।   


    देशमा सुशासन नभएर भ्रष्टाचार मौलाएको कारणले राष्ट्रप्रेमीभन्दा विदेशप्रेमी बन्न पुगे लाखौँ नेपाली जनता ।

विदेशमा मजदुर काम गरेर कमाएर पठाएको अर्थले देशको चौतर्फी विकास हुँदैन ।

जबसम्म स्वावलम्बी बन्न सक्तैन देश तबसम्म देशले विकासको बाटो पक्रन सक्दैन । यसको लागि विराटनगर महानगरपालिकाले पर्यटकबाट आर्थिक आर्जन गर्ने उपाय रच्नु आवश्यक छ ।

जनताबाट उठाएको करबाट मात्र विकासको सम्भावना न्यून रहन्छ । 


    सुस्वास्थ्य जिउन मानिसलाई आराम र मनोरञ्जनको आवश्यक पर्दछ ।

बिदाका दिनहरूमा बालबालिकालाई लिएर केही ज्ञानबद्र्धक, केही मनोरञ्जनका वस्तुहरू अवलोकन गराउन अभिभावको मुख्य कर्तव्य हो ।

प्रत्यक्ष अवलोकन गरेर बालालिकाले अनमोल ज्ञान हासिल गर्दछन् । प्रत्यक्ष रुपमा अवलोकन गरेर प्राप्त गरेको ज्ञानले मानिस ऊर्जाशील बन्दछ । 


विराटनगरले विराटनगरवासी सर्वसाधारण जनता, विद्यार्थीहरू, आगन्तुकहरूका लागि आकर्षक गर्ने कुनै पनि भौतिक संरचनाहरू बनाउने जमर्को आजसम्म नगर्नुको धेरै कारण होलान् तर मुख्य राजनीतिक खिचातानी जस्तो लाग्दछ ।

धमिलो पानीमा माछा मार्ने शैलीमा न त राजनीति फस्टाउँछ न त देशको विकास नै हुन्छ ।

 

यही भयो नेपालमा ।

अझ पार्टीलाई देश र जनताभन्दा ठूलो भनेर रटाउने, प्रलोभनमा फसाएर भरौटे बनाउने, पार्टीहरूको परमभक्त भएर पार्टीको बिल्ला छातीमा राखेर अत्यन्त सक्रीय शैलीमा आफ्नो अमूल्य समय बिताएर आफ्नो परिचय देशसँग होइन पार्टीसँग गाँस्ने शैलीलाई अझै अपनाउने हो भने चेतनालाई हेला गरे सरह हुनेछ ।

पार्टीले आफ्नो स्वार्थसिद्ध गर्न विभिन्न शैली अपनाउँछ तर कालो र सेतो छुट्याउने काम जनताको हो । कालोलाई सेतो भन्ने शैलीमा देशको विकासले फड्को मार्न सकेन ।

सुविधाहरू जनताले पाउँदै छन् तर जनचेतनाको विकास बढाउन सरकारको सोच हुनु जरुरी देखिन्छ । 


    अन्तमा भन्नुपर्दा प्रधानमन्त्री पार्क बन्दै गरेको सन्देशले विराटनगरमा आगन्तुकहरूको गन्तव्य स्थान, एकैछिन भए पनि प्रधानमन्त्री पार्कले सिर्जना गर्नेछ ।

माथि उल्लिखित भौतिक संरचनाहरूमध्ये यो एक सानो तर महत्वपूर्ण सुरुवात हो ।

यसरी नै विराटनगर महानगरपालिकाले स्मरणीय, ज्ञानबर्धक, अत्यन्तै आवश्यक वस्तुहरूको व्यवस्था गर्दै जाओस् ।

विराटनगर कोशी प्रदेशको राजधानी भएको र शैक्षिक हव बन्ने यहाँ धेरै सम्भावनाहरू रहेकाले विराटनगरले आफ्नो परिचयमा आमूल परिवर्तन गर्न आवश्यक कदम चाल्नुपर्ने समयको माग प्रस्ट छ ।    
      
 

View : 51

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved