Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

कोरोना बीमा भुक्तानीको आदेश कार्यन्वयन गर्न अजोड इन्स्योरेन्सलाई उच्च अदालतको पत्र

उद्घोष सम्वाददाता
२५ वैशाख २०८१, मङ्गलवार

विराटनगर । कोरोना बीमा वापतको रकम भुक्तानी दिन गरेको फैसला कार्यन्वयन गर्न अटेर गर्ने अजोड इन्स्योरेन्सलाई उच्च अदालतले पुनः पत्राचार गरेको छ ।

मंगलबार नेपाल पत्रकार महासंघका सचिव नेत्र पी अधिकारीसहितको टोलीले उच्च अदालत विराटनगरमा पुगेर आदेश कार्यन्वयनको माग गर्दै निवेदन दिएका थिए ।

उच्च अदालत विराटनगरबाट २०७९ जेठ १६ मा कोरोना बीमा वापतको रकम भुक्तानी नगर्ने अजोड इन्स्योरेन्सविरुद्व परमादेशको आदेश जारी हुने ठहरसहितको फैसला भएको थियो ।

तर उक्त आदेश कार्यन्वयन नभएपछि महासंघका सचिव अधिकारीले अजोड इन्स्योरेन्स लिमिटेड विराटनगर शाखासमेतलाई आदेश कार्यन्वयनको माग गरेका थिए ।

सो आदेश बमोजिमको कार्य गराई पाउँ भनी उनले मंगलबार उच्च अदालत विराटनगरमा निवेदन दिएका हुन् ।

अदालतले निवेदक अधिकारीसमेतको निवेदनका आधारमा २०७९ जेठ १६ को परमादेशको आदेश बमोजिमको कार्य अविलम्ब गर्नु गराउनु भनि अजोड इन्स्योन्सलाई पत्राचार गरेको हो ।

उच्च अदालत विराटनगरका उप–रजिष्ट्रार टिकेन्द्र वीरजङ्ग राणाद्वारा हस्ताक्षरित पत्रमा विराटनगर महानगरपालिका–२ धरान रोडस्थित अजोड इन्स्योरेन्स लिमिटेडको विराटनगर शाखा र अजोड इन्स्योरेन्स लिमिटेड केन्द्रीय कार्यालय सिटिसी मल सुन्धारालाई आदेश कार्यन्वयन गर्न आग्रह गरिएको जनाइएको छ । 

कोभिड १९ को संक्रमण सुरु भएपछि बीमा कम्पनीहरूले कोरोना बीमाको कार्यक्रम ल्याएका थिए । महासंघले पनि सदस्यहरुको बीमा अजोड इन्स्योरेन्समार्फत गराएको थियो ।

केही सदस्यले कोरोना लागेपछि बीमा दाबी भुक्तानी प्राप्त गरेपनि बीमा कम्पनीले अधिकांश पत्रकारहरूको दाबी भुक्तानी नगरी आलटाल गरेको थियो । महासंघका सचिव अधिकारीले बीमा दाबी भुक्तानी नगरेको भन्दै कम्पनीविरुद्ध २०७८ भदौ २१ मा उच्च अदालत विराटनगरमा रिट निवेदन दायर गरेका थिए ।

न्यायाधीशद्वय सत्यमोहन जोशी थारू र जगतनारायण प्रधानको इजलासले दाबी भुक्तानी दिन बीमा कम्पनीका नाममा परामादेश जारी गरेका थिए ।

View : 110

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved