Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

भ्रष्टाचार र चेक अनादर मुद्दाका तीन फरार प्रतिवादी पक्राउ

उद्‌घोष संवाददाता
७ पुष २०८२, सोमवार

एआईद्वारा निर्मित सांकेतिक तस्वीर ।

खाँदबारी । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका तीन जना प्रतिवादीहरूलाई संखुवासभा प्रहरीले पक्राउ गरेको छ।

विशेष अदालत काठमाडौँ र संखुवासभा जिल्ला अदालत चैनपुरको फैसला कार्यान्वयनका लागि प्रहरीले सोमबार उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–६ की ५२ वर्षीया मेनुका तामाङ रहेकी छन्।

उनलाई विशेष अदालत काठमाडौँले 'मापदण्ड विपरीत निर्माण गरी भ्रष्टाचार गरेको' मुद्दामा दोषी ठहर गरेको थियो। लामो समयदेखि फरार रहेकी उनलाई प्रहरीको विशेष टोलीले खाँदबारीबाटै नियन्त्रणमा लिएको हो।

यसैगरी, चेक अनादर मुद्दामा फरार रहेका अन्य दुई जना पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिलिचोङ गाउँपालिका–४ का ४९ वर्षीय विक्रम विश्वकर्मा र खाँदबारी नगरपालिका–३ का ३२ वर्षीय दावा शेर्पा छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक (प्रनि) धन बहादुर राजवंशीले पक्राउ परेका तीनै जनालाई सोमबार नै फैसला कार्यान्वयनका लागि संखुवासभा जिल्ला अदालत चैनपुरमा पेश गरिएको जानकारी दिए।

अदालतको फैसलापछि सजाय भुक्तान नगरी फरार रहेकाहरूको खोजीका लागि जिल्लामा विशेष टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

View : 254

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved