विराटनगर । मोरङको कटहरी गाउँपालिकामा आदिवासी जनजातिहरुले पूजापाठ गर्दै आएका थान, घाट र मन्दिरहरु अतिक्रमित हुन बाट जोगाउन र देवस्थलहरुको संरक्षणका लागि दस्तावेजीकरण गरिने भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद कटहरी मोरङले नेपालका आदिवासीहरुको मानवअधिकार सम्बन्धि वकिल समूह लार्हुर्निपको सहकार्यमा सांस्कृतिक भूमि दस्तावेजीकरण गर्न स्थानीयहरुसंग अन्तक्रिया र छलफल शुरु गरेको छ ।
छलफल कार्यक्रममा सहभागीहरुले आदिवासी जनजातिहरुको देवस्थलहरु दिनानुदिन मिचिदै गएकाले यसको संरक्षणका लागि स्थानीय तहहरुले विशेष पहल लिनुपर्ने आग्रह गरेपछि दस्तावेजीकरण गर्न लागिएको जानकारी दिइएको थियो ।
कार्यक्रममा बोल्दै कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले आदिवासी जनजातिहरुको भूमि अधिकार तथा सांस्कृतिक भूमि सरंक्षणको बिषयमा गाउँपालिका सजग रहेको र पहिलो चरणमा आदिवासी जनजातिहरुको र त्यसपछि अन्य जातजातिहरुको सांस्कृतिक भूमिहरुको दस्तावेजीकरण गर्न कटहरी गाउँपालिकाले सहयोग गर्ने जानकारी दिए ।
उनले धर्म, संस्कृति, परम्परा र संस्कारहरुको दस्तावेजीकरण नगरे लोप हुने सम्भावना रहने बताए ।
सांस्कृतिक भूमि दस्तावेजीकरणका लागि कटहरी गाउँपालिकाका सबै वडामा स्थानीयवासीसँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
कटहरीको वडा नम्बर १ कार्यालय परिसरमा आयोजना गरिएको कार्यक्रममा वडा नम्बर १ र २ का ५० बढी आदिवासी जनजातिका अभियन्ताहरुले सहभागिता जनाएको नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद कटहरीका अध्यक्ष दिलिपकुमार माझीले जानकारी दिए ।
View : 133
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved