Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

उखुबारीबाट बरामद भयो आठ सय किलो गाँजा, कारोबारी को ?

मोरङका प्रहरी नायव उपरिक्षक कोपिला चुडालका अनुसार थप गाँजाको खोजी र बरामद गरिएको गाँजाको कारोबारमा संलग्न ब्यक्तिबारे अनुसन्धान हुँदै छ ।
उद्‌घोष संवाददाता
२५ असार २०८२, बुधवार

विराटनगर । नेपालमा गाँजा खेती र सेवनको बैधानिकता बारे बहस चलिरहेका बेला भारततर्फ अवैध रुपमा निर्यातको प्रयास बढेको छ । 

गाँजा खेती सम्बन्धी कानुन नै बनाउनु पर्ने माग बढेको अवस्थामा सुरक्षा निकायले लगातार गाँजा बरामद गरिरहेको घटनाले यसको उत्पादन बढेको देखाएको छ ।

बुधबार अपरान्ह मात्रै मोरङ धनपालथान गाउँपालिका–१ नोचास्थित खेल मैदान नजिकैको उखुबारीबाट २६ बोरा गाँजा बरामद भएको छ । 

करिव ३० किलो तौलका बोरा सशस्त्र र नेपाल प्रहरीले बरामद गरेको छ । गाँजाका मालिक को हुन् भन्ने खुलेको छैन । वस्तु नियन्त्रणमा लिएपछि सुरक्षा निकायले यतिका गहिराईसम्म पुग्ने गरेको पाइदैन ।

भारतबाट नेपाल भित्रिने खैरो हेरोइन (ब्राउन सुगर) र नेपालबाट भारततर्फ जाने गाँजाको कारोबारमा सुरक्षा निकायको समर्थन बेगर सम्भव हुँदैन । 

पहाडमा गाँजाखेती नष्ट गर्ने क्रम गतवर्षको तुलनामा घटेसँगै यसको उत्पादन र कारोबार बढेको सहजै अनुमान लगाउन सकिन्छ । मंगलबार धनपालधान–४ बाट २५ किलो गाँजासहित नेपाल प्रहरीले एक जना ब्यक्ति पक्राउ गरेको थियो ।

भोलिपल्टनै सशस्त्र प्रहरी नोचा बोर्डर आउट पोष्टको अगुवाइमा २६ बोरा गाँजा बरामद भएपछि सुरक्षाकर्मी यसको कारोबारीको खोजीमा लागेका छन् । 

‘कारोबारी खोजे जस्तो गरिए पनि मिलेमतो बेगर धनकुटाको गाँजा भारतीय सीमासम्म आई पुग्दैन’ सुरक्षा स्रोतले भन्यो । मानिस पक्राउ परेको हकमा उसको बयानका आधारमा थप खोजविन र कारवाही हुने गरेको छ ।

जस्तै काठमाडौमा पक्राउ परेका ब्यक्तिको बयानका आधारमा मोरङ रंगेलीबाट प्रहरीले सोमबार ३ सय ६५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेका थियो । 

काठमाडौमा बेवारिसे खैरो हेरोइन भेटिएको भए मोरङसम्म केन्द्रीय अनुसन्धान ब्युरोले खोजविन नगरी रकम लिएर राजधानीमै अनुसन्धान अन्त्य गर्ने थियो । गाँजाको हकमा पनि त्यसको उल्टो हुने स्थानीयको भनाइ छ ।

‘नोचा नाकाबाट चौपाया, खाद्यान्न, लत्ताकपडाको तस्करी गर्नेहरुबाटै गाँजाको कारोबार गरेको हुनसक्ने’ धनपालथान–१ का स्थानीय एक युवकले भने ‘यदी यसको कारोबारी पक्राउ परेन भने बेवारिसे वस्तु देखाएर सुरक्षाकर्मीले अनुसन्धान लुकाउन सक्छन् ।’ 

धनपालथान–१ का वडाध्यक्ष खाजा हुसेनले बेवारिसे गाँजा बरामद भएकाले यसको कारोबारी बारे अनुमान लगाउन नसकिएको बताए ।

बोरा एकै ठाउँमा फे२५ ला परेपछि थप खोजविनका क्रममा उखुबारीबाट अर्को एक बोरा बरामद भएको छ । 

त्यस आसपासको क्षेत्रका अरु उखुबारीमा पनि गाँजा भेटिने अनुमानमा सशस्त्र र नेपाल प्रहरीले साँझसम्म खोजविन गरेको थियो । 

मोरङका प्रहरी नायव उपरिक्षक कोपिला चुडालका अनुसार थप गाँजाको खोजी र बरामद गरिएको गाँजाको कारोबारमा संलग्न ब्यक्तिबारे अनुसन्धान हुँदै छ ।

View : 608

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved