Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

धरानका कांग्रेसीले भने 'कांग्रेसमा पूर्ण रुपान्तरण आवश्यक'

उद्‌घोष संवाददाता
११ कार्तिक २०८२, मङ्गलवार

धरान । नेपाली कांग्रेसको नेतृत्व परिवर्तन गर्दा सर्पले काँचुली फेरेजस्तो मात्र रुपान्तरण नभएर झुसिलकिराबाट पुतली भए जस्तो गरी पूर्ण रुपमा रुपान्तरण आवश्यक हुनुपर्ने धरानका कांग्रेसीले धारणा राखेका छन् ।

नेपाली कांग्रेसमा महाधिवेशन र रुपान्तरणको विषय उठिरहेको बेला सुनसरी क्षेत्र नं १ को धरानमा सोमबार भएको समसामयिक छलफल कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरुले पूर्ण रुपान्तरण हुनुपर्ने कुरालाई विशेष जोड दिएका हुन् ।

उनीहरुले पार्टीको विधान, संरचना, नीति, कार्यक्रम र मूल्यमान्यतामा समयसापेक्ष व्यापक रुपान्तरण हुनुपर्ने ठहर गर्नुका साथै मंसिर मसान्तभित्रै १५औं महाधिवेशन गर्नुपर्ने अन्यथा विशेष महाधिवेशन नै गरेर भए पनि रुपान्तरणको विषयलाई संवोधन गर्नुपर्नेमा जोड दिइएको छ । 

त्यसैगरी पार्टीको हरेक तहमा युवा पुस्ताको सहभागितालाई सुनिश्चित गर्न विधानमा नै निश्चित आरक्षणको व्यवस्था गर्नुपर्नेमा पनि ध्यानाकर्षण गराएका छन् ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्मा, कोशी प्रदेश महामन्त्री उमेश थापा, सदस्य किशोर राई, प्रदेशसभा सुनसरी १(१) सभापति अनिल श्रेष्ठ, पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बा, महासमिति सदस्य जगतबहादुर कार्की, स्थानीय संसदीय दलका नेता तथा धराननगर उपसभापति नरेन्द्रकुमार राई (प्रविन), प्रजातान्त्रिक विचार समाजका कोशीका अध्यक्ष डा. जीवनकुमार राई, नेपाल दलित संघका प्रदेश सभापति गोविन्द दर्नाल, क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरी,क्षेत्रीय सहसचिव सुमित राई, प्रदेशसभा १(१) सचिव युवराज शंकर, नेपाल विद्यार्थी संघ महेन्द्र वहुमुखी क्याम्पस, धरानका एकाई सभापति विनोद आले मगरलगायतले आफ्नो विचार राखेका थिए ।

छलफलले मतदाता नामवली अद्यावधिक गर्न तथा गराउन, कार्यकर्ताहरुको मनोवल बढाउन तथा संगठनलाई गतिशील बनाउन र तोडफोड भएको धरानस्थित पार्टी कार्यालयको पुनर्निर्माण गर्न वडा–वडामा गई क्षेत्रीय प्रतिनिधि र स्थानीय नेताहरुसँग भेटघाट र पार्टीका भातृ एवम् शुभेच्छुक संघ संस्थासँग अन्तरक्रियागर्ने समेत निर्णय गरेको छ ।

View : 300

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved