-सुमन दाहाल
सदाझै यसपालि पनि तिहार हर्ष र उमङ्ग लिएर आयो, बिगतका वर्ष भन्दा लामो छुट्टी थियो, सबैजना आफ्ना दाजुभाइ, दिदीबहिनी साथै परिवारजन आफू अनुकूल समय मिलाउन ब्यस्त थिए ।
तिहार नेपालीहरूको एउटा यस्तो पर्व हो, जसले घरआँगन मात्र होइन, मन र सम्बन्धलाई समेत उज्यालो बनाउँछ ।
सयपत्री र मखमली फूलको सुगन्ध, झिलिमिली बत्ती, देउसीभैलोका गुञ्जायमान आवाज र दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयताले तिहारलाई अन्य पर्वभन्दा विशेष बनाएको छ ।
यो केवल धार्मिक आस्थाको पर्व मात्र नभई पारिवारिक मिलन, सामाजिक सद्भाव र पुराना सम्बन्धलाई नवीकरण गर्ने सुन्दर अवसर पनि हो ।
मेरो घर ओखलढुङ्गाको सुन्दर बस्ती मोलुङ गाँउपालिको रामपुरमा पर्छ । सधैँझैँ यस वर्षको तिहार पनि रमाइलो र उल्लासपूर्ण रह्यो ।
परिवार, आफन्त र इष्टमित्रसँग भेटघाट गर्दै, हाँसोखुसी साट्दै र टीका लगाउँदै तिहार मनाइयो ।
लामो समय भेटघाट नभएका आफन्तजन जमघट हुनु आफैँमा एउटा सुन्दर पारिवारिक सञ्योग बन्यो ।
भेटघाट, आशीर्वाद, हाँसो र आत्मीयताले यस वर्षको तिहारलाई पनि अविस्मरणीय बनायो ।
तर यस वर्षको तिहार रमाइलो भइरहँदा मनको एउटा कुनामा पुराना तिहारका सम्झनाहरूले पनि उत्तिकै ठाउँ ओगटिरहे,
विशेषगरी पहिलेको तीन दिन तीन रातसम्म गाउँभरि खेलिने देउसीभैलोको सम्झनाले निकै भावुक बनायो ।
आहा ! ती दिनहरू साँच्चै कति रमाइला थिए ।
गाउँका दाजुभाइ, दिदीबहिनी र दौँतरी साथीहरू सबै एकै ठाउँमा भेला हुन्थ्यौँ, तीन दिन तीन रातसम्म गाउँभरि घुम्दा न थकाइको महसुस हुन्थ्यो, न समय बितेको पत्तो ।
कसैको घर छुट्दैनथ्यो, कसैको आँगन खाली हुँदैनथ्यो ।
मादलको ताल, भट्याउनेका स्वर, देउसीका भाका र साथीभाइबीचका हाँसोठट्टाले सिंगो गाउँ नै उत्सवमय बन्थ्यो ।
ती क्षणमा न कसैलाई भोलिको कामको चिन्ता हुन्थ्यो, न समयको हतारो ।
सबैको उद्देश्य एउटै हुन्थ्यो—सँगै रमाउने र तिहारलाई अविस्मरणीय बनाउने ।
तर आज समय बदलिएको छ ।
हिजो सँगै देउसी खेल्ने, रातभरि गाउँ डुल्ने, नाच्ने, गाउने र एकअर्काको घरमा पुगेर रमाइलो गर्ने दामाली साथीहरू कोही रोजगारीका लागि परदेश पुगेका छन् त कोही आफ्नै व्यवसाय, पेसा र पारिवारिक जिम्मेवारीमा व्यस्त छन् ।
कोही आफ्नो भविष्य निर्माणको दौडमा छन् त कोही समयको व्यस्ततासँगै आफ्नै संसारमा सीमित भएका छन् ।
गाउँ उही छ, तिहार पनि उही छ, तर पहिलेको जस्तो जमघट, उत्साह र सामूहिक आत्मीयता भने विस्तारै पातलिँदै गएको अनुभूति हुन्छ ।
कहिलेकाहीँ लाग्छ, हामीले तिहारसँगै जीवनका सबैभन्दा सुन्दर पलहरू पनि कतै पछाडि छोडेर आयौँ कि !
आज हातमा मोबाइल छ, सामाजिक सञ्जालमा शुभकामनाका सन्देश छन्, घरघरमा आधुनिक बत्तीको उज्यालो छ तर पहिलेको जस्तो आँगनमा बसेर गरिने गफ, सामूहिक देउसीभैलो र साथीभाइसँगको निस्वार्थ रमाइलो खोज्दा कतै भेटिँदैन ।
प्रविधिले हामीलाई एकअर्कासँग जोडेको छ, तर भौतिक दूरी र व्यस्तताले कतिपय आत्मीय सम्बन्धलाई टाढा पनि बनाएको छ ।
यद्यपि यी परिवर्तन कसैप्रतिको गुनासो होइनन् ,समयसँगै मानिसको जीवनशैली, जिम्मेवारी र प्राथमिकता बदलिनु स्वाभाविक हो ।
तर बदलिँदो समयसँगै हाम्रा मौलिक परम्परा र सामूहिक संस्कृतिलाई पनि जोगाइराख्नुपर्ने आवश्यकता छ ।
देउसीभैलो केवल रमाइलो गर्ने माध्यम मात्र होइन, यो हाम्रो लोकसंस्कृति, सामूहिक एकता र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदा पनि हो ।
नयाँ पुस्तालाई यसको महत्व बुझाउने र पुरानो पुस्ताका अनुभवसँग जोड्ने प्रयास हामी सबैले गर्नुपर्छ ।
कम्तिमा वर्षमा एकपटक आउने तिहारमा भए पनि गाउँका साथीभाइ, दाजुभाइ र दिदीबहिनीहरू एकै ठाउँमा भेला हुने वातावरण बनाउन सके कति राम्रो हुन्थ्यो होला !
परदेशमा रहेका साथीहरू पनि आफ्नो गाउँ फर्केर पुरानै शैलीमा देउसीभैलो खेल्न पाए, फेरि एकपटक मादलको तालमा गाउँ गुञ्जाउन पाए, ती पुराना दिनहरू कति जीवन्त बन्थे होलान् !
अन्त्यमा, यस वर्षको तिहारले परिवारसँगको आत्मीयता र भेटघाटको खुसी त दियो नै, सँगसँगै विगतका ती अविस्मरणीय दिनहरूको सम्झना पनि ताजा गरायो ।
महभिर, भदौरे, चौँलाबोट, तोरीसुवारा लगायतका ठाँउका ती पुराना देउसीभैलो, गाउँभरिका दाजुभाइ–दिदीबहिनी अनि जहाँ पुगे पनि मनमा गाउँ बोकेर हिँडिरहेका मेरा दामाली साथीहरू सबैको सम्झना आइरह्यो ।
तिहार त यसपालि पनि आयो, घरमा टीका पनि लगाइयो, रमाइलो पनि भयो, तर मनले खोजेको त्यो पुरानो देउसीभैलोको टोली, मादलको ताल र साथीभाइको जमघट भने कतै विगतका पानामै छुटेछ ।
समय फेरिएला, पुस्ता फेरिएला, हाम्रो जीवनशैली फेरिएला तर बाल्यकालमा गाउँसँग जोडिएका ती सम्झनाहरू कहिल्यै पुराना हुँदैनन् ।
सायद तिहारको सबैभन्दा ठूलो उज्यालो पनि यही हो, टाढा पुगेका आफ्नाहरूलाई सम्झनामा भए पनि फेरि एकपटक नजिक आफ्नो मनमा समर्पण गर्नु नै आधुनिक समयको बाध्यता रहन पुगेको छ ।
(रामपुर, ओखलढुंगा)
View : 80
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved