फाइल फोटो ।
विराटनगर । कमजोर राजनीतिक भूमिकाका कारण आलोचित हुँदै आएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला चुनावलगत्तै फेरि शेरबहादुर देउवाको पक्षमा उभिन पुगेका छन् ।
विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको हस्ताक्षरमा टिकट लिएर प्रतिनिधिसभा निर्वाचन लडेका कोइराला रास्वपाकी रुबिना आचार्यसँग ४२ हजारभन्दा बढी मतान्तरले पराजित भएका थिए ।
मोरङ ६ मा लज्जास्पद हार बेहोरेका उनै कोइराला चुनाव हारेपछि भने फेरि देउवालाई नै सभापति मानेर अघि जानुपर्ने ठहरमा पुगेका छन् ।
देउवा पक्षको यो योजनामा साथ दिँदै कोइराला कांग्रेसभित्र समानान्तर गतिविधिमा सहभागी बन्न थालेका छन् ।
आइतबार काठमाडौंमा देउवा समूहले आयोजना गरेको समानान्तर बैठकमा कोइरालाले आफू पक्षका प्रतिनिधि पठाएर देउवालाई नै सभापति मान्ने सन्देश दिएका छन् ।
नेता कोइराला प्रतिनिधिसभा निर्वाचनमा लज्जास्पद हार सहने ‘हेभिवेट’हरूमध्ये एक थिए ।
विधानले नभने पनि उनलाई निकटकाहरुले पार्टीको ‘वरिष्ठ नेता’ मात्रै भन्दैनथे, भावी सभापति र प्रधानमन्त्रीकै रुपमा चर्चासमेत गर्दथे ।
यद्यपि चार वर्षसम्म सभापति शेरबहादुर देउवाको उग्र विरोध गर्दै आएका उनी विशेष महाधिवेशनको संघारमै देउवा समूहमै मिसिन पुगेका थिए ।
५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन आयोजना गरिरहँदा उनी भने देउवाकै नेतृत्वमा कांग्रेस अघि बढ्नु पर्ने भन्दै निर्वाचन आयोग धाइरहेका थिए ।
यद्यपि आयोगले गगन थापा नेतृत्वलाई आधिकारिकता दिएपछि कोइरालासहितका नेताहरू गगनकै हस्ताक्षरको टिकट लिएर चुनाव लडेका थिए ।
चुनावका बेला पार्टी सभापति गगन थापालाई सर्लाही ४ मा हराउन भूमिका खेलेको आरोप कोइरालामाथि लाग्दै आएको छ ।
उनका स्वकीय सचिव दिनेश थपलियाको शंकास्पद अडियो चुनाव अघि सार्वजनिक भएको थियो । स्वकिय सचिव थपलियाले त्यसको खण्डन गरेका छन् । तर, शेखर केही बोलेका छैनन् ।
त्यससँगै कोइराला माथि अहिले पार्टीभित्रै दोहोरो चरित्र प्रदर्शन गरेको आरोप तीव्र बनेको छ ।
चुनाव लड्दा सभापति थापाको हस्ताक्षरमा टिकट लिने तर हारपछि पुनः देउवालाई नै वैधानिक सभापति मान्ने गतिविधिमा सहभागी हुनुले कोइरालाको राजनीतिक विश्वसनीयतामाथि प्रश्न उठाएको कार्यकर्ता बताउँछन् ।
‘अहिले समानान्तर गतिविधिमा शेखर दाइ सहभागी भएको हल्ला चलेको छ, यदि त्यसो हो भने उहाँको गम्भीर भूल हुनेछ,’ कोइराला टिमकै मोरङका एक नेताले भने ‘पाइलैपिच्छे गल्ती गरेर यसै पनि कमजोर बनिसकेको बेला फेरि अर्को गल्ती गर्ने हो भने उहाँलाई राम भन्ने हो, काँध थापिन्न ।’
विशेष महाधिवेशन अघि तत्कालीन महामन्त्रीहरू गगन र विश्वप्रकाशले पार्टी नेतृत्व सम्हाल्न गरेको आग्रह शेखरले लत्याएको भन्दै उनले थपे ‘जोखिम हुन्छ भन्दै उहाँ निर्णायक बेलामा चुक्नुभयो । त्यसपछि गगनलाई नमान्ने भन्दै निर्वाचन आयोग जानुभयो । कि त्यही अडानमा अडिनुपथ्र्यो । होइन भने अहिले गगनकै हातबाट टिकट लिने, लाजैमर्दो गरी हार्ने अनि फेरि अहिले देउवालाई नै सभापति भन्दै हिंड्ने कुरा नैतिक पनि होइन, राजनीतिक पनि होइन ।’
शेखरले यस्तो दोहोरो चरित्र देखाएको यो पहिलोपटक भने होइन । निर्वाचनअघि कोइरालाको सचिवालयले सार्वजनिक गरेको चुनावी पोस्टरले नै विवाद निम्त्याएको थियो ।
जुन पोस्टरमा उनले ‘मेरो नेतृत्वमा स्थिर सरकार’ भन्ने नारासहित आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेका थिए ।
तर, कांग्रेस केन्द्रीय समितिले त्यसअघि नै सभापति थापालाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरिसकेको थियो ।
निर्वाचन परिणाम आएपछि कोइरालाको अभिव्यक्ति र व्यवहारमा आएको परिवर्तनले उनीप्रति तल्लो तहसम्मै आक्रोश बढाएको नेताहरू बताउँछन् ।
विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वलाई सुरुमा अस्वीकार गरेका उनी पछि मध्यमार्गी बनेर स्वीकार गर्ने लाइनमा पुगेका थिए ।
तर, अहिले फेरि अस्वीकार गर्ने तहमा पुगेका उनी अस्थिर र अराजनीतिक देखिएको टिप्पणी हुन थालेको छ ।
पूर्वउपसभापति पूर्णबहादुर खड्का र कोइराला पक्षका नेताहरूले छुट्टै बैठक राखेर समानान्तर गतिविधि थालेका छन् ।
आइतबार सानेपामा केन्द्रीय कार्यसमिति बैठक चलिरहेकै बेला खड्काको अध्यक्षतामा अर्को बैठक बस्नुले पार्टीभित्र विभाजन गहिरिंदै गएको संकेत गरेको छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पूर्व सदस्यहरू सहभागी थिए । बैठकपछि नेता मीनबहादुर विश्वकर्माले एक साताभित्रै ‘केन्द्रीय समिति’ बैठक बोलाउने तयारी भइरहेको जानकारी दिएका छन् । खड्कालाई नै बैठक आह्वान गर्ने जिम्मेवारी दिइएको छ ।
गत पुसमा थापा र उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन सम्पन्न भएको थियो । सो महाधिवेशनलाई निर्वाचन आयोगले वैधानिकता दिएको छ । तर, देउवा पक्षले त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ, जुन अहिले विचाराधीन छ ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले जम्मा ३८ सिट मात्र जित्न सफल भयो ।
अपेक्षाभन्दा कमजोर नतिजा आएपछि पार्टीभित्र असन्तोष बढेको छ । यही असन्तोषबीच सर्लाही ४ मा आफै पराजित थापाले सभापति पदबाट नैतिकताका आधारमा राजीनामा दिइसकेका छन् ।
तर, लामो असन्तोषलाई थापाले एक महिनामा बदल्ने कुरा जायज नभएको भन्दै केन्द्रीय समितिले उनको राजीनामा अस्वीकार गरेको छ ।
‘डढेलो निभाउन गएको व्यक्तिलाई आगलागीको दोष बोकाउनु न्यायसंगत होइन’ भन्दै उपसभापति शर्माले गगनको राजीनामा होइन, पार्टीलाई पुनर्जागरणमा लैजानुपर्ने बताएका छन् ।
यहीबेला शेखर कोइरालाले भने देउवा टिमबाट भावी सभापतिको टिकटको आशामा उनैलाई सहयोग गरेको आरोप लागेको छ ।
‘उहाँ पार लाग्ने यात्रामा हुनुुहुन्न’ मोरङका एक नेताले भने ‘पार्टी नयाँ पुस्ताको हातबाट पुनर्जागरणमा जानुपर्छ । पुरानाहरुबाट नेतृत्व अब सम्भव छैन ।’
View : 166
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved