Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

फेसबुकमा मुख्यमन्त्री कार्कीको कमेन्टः हैसियत कायम गर्न नेम्वाङको सुझाव

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीविरुद्ध आउने अभिव्यक्तिको प्रतिवाद गरिहाल्ने बानी परेका मुख्यमन्त्रीले सन्दर्भ नबुझी कमेन्ट गरेको नेम्वाङको प्रत्युत्तरले खुलाउँछ ।
उद्‌घोष संवाददाता
२५ असार २०८२, बुधवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सामाजिक सञ्जाल फेसबुकमा सक्रिय रहने राजनीतिक नेता मध्येमा पर्छन् । विभिन्न चाडपर्वको शुभकामनादेखि बधाई दिने, पार्टीका नेताहरूको स्टाटस सेयर गरेर मुख्यमन्त्री कार्की फेसबुकमा समय दिइरहन्छन् । 

बेलाबेला अरुका स्टाटसमा पनि कमेन्ट गरेर बहसमा उत्रिने गरेका उनी मंगलबार माओवादीका एक जना नेतासँग नमिठो भाषामै भिडेका छन् ।

नेकपा माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङसँग फेसबुकमा मुख्यमन्त्री भिड्ने विषय थियो, राष्ट्रिय महिला फुटबल टोलीबारे नेम्वाङले गरेको टिप्पणी । 

माओवादी कोशी अध्यक्षले फेसबुकमा लेखेका थिए ‘नेपाली महिला फुटबल प्रशिक्षक पेट्रिक डे वाइल्डले नेपाली महिला फुटबल टिम हार्नुमा केपी ओलीको भिडियो कन्फरेन्स पनि कारकको रूपमा बताएका रछन् । साथीहरूले भनेको पनौतीको कारण बल्ल बुझिँदैछ ।’

माओवादी प्रदेश अध्यक्ष नेम्वाङले यो स्टाटस लेख्नुको कारण मंगलबार कान्तिपुर दैनिकमा प्रकाशित महिला टिमका मुख्य प्रशिक्षक वाइल्डको अन्तरवार्ता हो भन्ने सजिलै बुझिन्थ्यो । 

उक्त अन्तरवार्तामा मुख्य प्रशिक्षक वाइल्डले एन्फामा अनावश्यक राजनीतिले फुटबलको अवस्था दयनीय भएको मात्रै बताएका थिएनन्, उज्वेकिस्तानसँगको फाइनलअघि प्रधानमन्त्रीले गरेको भिडियो कन्फरेन्सले खेलाडीलाई दबाबमा पारेको पनि बताएका थिए ।

‘यसपल्टको टाइब्रेकरमै पनि केही तीन–चार खेलाडी पेनाल्टी प्रहार गर्न नै तयार थिएनन् ।  किन त ? दबाबकै कारण ’, उनले अन्तरवार्तामा भनेका छन् ‘बिहान ११ बजे नै प्रधानमन्त्रीसहित व्यक्तिहरूसँगको भिडियो कन्फ्रेन्स थियो । यसले खेलाडीलाई अत्यधिक दबाबमा राख्यो । 

मैले उज्वेकिस्तानी अफिसियललाई सोधेको थिएँ, के तिमीहरूलाई पनि आफ्नो देशका राष्ट्रपतिले फोन गरे ? उत्तर रह्यो, थिएन । रियल म्याड्रिडले च्याम्पियन्स लिग खेल्दा के अध्यक्ष पेरेजले प्रेसमिट राख्छन् त ? राख्दैनन् ।

यो सबै खेलाडीको फाइदाका लागि भएको थिएन । यो अरूको फाइदाका लागि भएको थियो । नेपालले पहिलो खेल जित्दा त्यस्तै बधाई सन्देश किन आएन ? किन कसैले सानै पुरस्कार पनि घोषणा गरेन ? तर सबैले महत्वको खेल अगाडिको क्षण नै कुरिरहे । गेम हारेपछि भने कसैले त्यसरी नै फोन गर्यो त ?’

विश्व फुटबलमा नाम कमाएका प्रशिक्षक वाइल्डले नेपाली फुटबल कसरी राजनीतिको शिकार भइरहेको छ भन्ने विषय उक्त अन्तरवार्तामा उल्लेख गरेका छन् । 

प्रशिक्षकको त्यही भनाइलाई आधार मान्दै नेम्वाङले फेसबुकमा अपूर्ण भाषामा प्रधानमन्त्री ओलीतिर दोष देखिने गरी लेखेका थिए । उनले सन्दर्भ स्रोत पनि खुलाएका थिएनन् ।

मुख्यमन्त्री कार्कीले पनि यो सन्दर्भ बुझ्ने कोसिस नै नगरी नेम्वाङलाई सिधै ‘स्वास्थ्यलाभ’ को कामना गर्दै कमेन्ट गरिदिए । मुख्यमन्त्रीले नेम्वाङको स्टाटसमा कमेन्ट गर्दै लेखे ‘अलि स्तर मेन्टेन गरेर लेख्नुस् न यार । तपाई जस्तो स्टाटसमा भएको मान्छेले यस्तो लेख्न मिल्छ ? मलाई त तपाईको यो स्टाटस आफै लेख्नुभएको जस्तो लागेको छैन । यदि लेख्नुभएको हो भने तपाईको सोच, चिन्तन र क्षमता दुःख लाग्यो । तपाईको सुस्वास्थको कामना गर्दछु ।’

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीविरुद्ध आउने  अभिव्यक्तिको प्रतिवाद गरिहाल्ने बानी परेका मुख्यमन्त्रीले सन्दर्भ नबुझी कमेन्ट गरेको नेम्वाङको प्रत्युत्तरले खुलाउँछ ।

उनले ‘ओ हो धन्यवाद छ मुख्यमन्त्रीज्यू प्रतिक्रियाका लागि’ भन्दै लेखेका छन् ‘मैले त कान्तिपुरमा प्रशिक्षकले दिएको अन्तवार्ताको विषय उठाएको हो । त्यो पहिला पढ्न आग्रह गर्दछु । साना कुरामा गरिने स्टन्टबाजी र हाम्रो व्यबहारले खेलाडीहरूमा कतिको दबाब सिर्जना गर्दोरहेछ भन्ने कुरा प्रष्ट हुन्छ । अरू बेला खेल क्षेत्रमा केही लगानी नगर्ने स्टण्ट गर्न मात्र अघि सर्ने प्रवृत्ति प्रति ओहदामा पुगेका नेताहरूले समीक्षा गर्नुपर्छ र सुधार पनि गर्नुपर्ने देखिन्छ ।’ 

नेम्वाङले अन्त्यमा भनेका छन् ‘अब रह्यो तपाईको कमेन्टको । तपाईको कमेन्टले चाहिँ मुख्यमन्त्रीकै स्तर मेन्टेन गर्यो त मुख्यमन्त्रीज्यू ? तपाईको पार्र्टी सदस्यले गरिराखेको कमेन्टभन्दा तल्लो स्तरको देख्छु त तपाईको कमेन्ट । त्यसकारण तपाईले पनि स्तर मेन्टेन गर्नोस् मुख्यमन्त्रीज्यू, मलाई पनि दया लाग्यो हजुरप्रति ।’ त्यसपछि मुख्यमन्त्रीले अरु जवाफ फर्काएका छैनन् ।

View : 632

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved