Biratnagar, Morang, Nepal
२९ कार्तिक २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

डीडीसी विराटनगरका आयोजना प्रमुख नवीनकिशोर शर्मा पक्राउ

उद्‌घोष संवाददाता
२८ कार्तिक २०८३, शनिवार

Advertisement

विराटनगर । दुग्ध विकास संस्थान (डीडीसी) अन्तर्गत विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीनकिशोर शर्मा आपराधिक विश्वासघात तथा संगठित अपराधको कसुरमा पक्राउ परेका छन् ।

नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानलाई १२ करोड रुपैयाँभन्दा बढी आर्थिक हानि पुर्‍याई गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

संगठित सञ्जाल बनाएर संस्थानका तत्कालीन महाप्रबन्धक, प्रशासनिक उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीहरूको मिलेमतोमा गैरकानुनी आर्थिक कारोबार भएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।

प्रारम्भिक छानबिनका क्रममा संस्थानका पदाधिकारी तथा कर्मचारीहरूको पूर्वयोजना र आपसी मिलेमतोमा विभिन्न समूह खडा गरी संस्थानलाई प्रत्यक्ष आर्थिक हानि पुर्‍याएको र १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ गैरकानुनी लाभ लिएको खुलेको सिआइबीले जनाएको छ ।

सोही कसुरमा संलग्न रहेको आरोपमा सर्लाहीको रामनगर गाउँपालिका–३ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२५ भैँसेपाटी बस्दै आएका ४५ वर्षीय शर्मालाई शुक्रबार ललितपुरको भैँसेपाटीबाट पक्राउ गरिएको जनाइएको छ ।

मुलुकी अपराध संहिता २०७४ अन्तर्गत आपराधिक विश्वासघात गर्न नहुने कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिएर उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

डीडीसीमा भएको भनिएको आर्थिक अनियमिततामा तत्कालीन महाप्रबन्धकदेखि प्रशासनिक तहका अधिकारी र विभिन्न केन्द्रका प्रमुख तथा कर्मचारीहरूको संलग्नता रहेको आशंकामा अनुसन्धान भइरहेको छ ।

पक्राउ परेका शर्मामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

View : 106

२९ कार्तिक २०८३, आइतवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved