Biratnagar, Morang, Nepal
२९ कार्तिक २०८३, आइतवार
+977 21 450305, 515728, 578305
विचार

भोजपुरी समाजको भाषिक तथा सांस्कृतिक उत्थान

२८ कार्तिक २०८३, शनिवार

Advertisement

-उमेशकुमार भगत
कुनै पनि समाजको वास्तविक विकासको लागि सचेत व्यक्ति, संगठित समाज, दुरदर्शी नेतृत्व र उत्तरदायी सरकारबीच प्रभावकारी सहकार्य आवश्यक हुन्छ । समाज र राष्ट्रको वास्तविक उत्थान तब हुन्छ, जब व्यक्तिले आफ्नो जिम्मेवारी बुझ्छ,

समाजले सामुहिक शक्ति निर्माण गर्छ र सरकारले नागरिक भाषा, संस्कृति, पहिचान तथा विकासको आधार सुनिश्चित गर्छ ।


भोजपुरी समाज नेपालको बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक राष्ट्रिय पहिचानको एउटा महत्वपूर्ण अंग हो ।

नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार भोजपुरी भाषा नेपालमा बोलिने तेस्रो ठूलो मातृभाषा हो ।

 

१८ लाख भन्दा बढी मानिसको मातृभाषा हुनु यसको सामाजिक र सांस्कृतिक शक्तिको प्रमाण हो ।

यसको आफ्नो गौरवशाली इतिहास, भाषा, साहित्य, लोककला, संगीत, संस्कार र सांस्कृतिक सम्पदा छ ।

नेपालको सामाजिक, भाषिक तथा सांस्कृतिक विविधतामा भोजपुरी समाजको महत्वपूर्ण स्थान रहेको छ ।

 

भोजपुरी समाजको भाषिक, शैक्षिक, आर्थिक र संस्थागत विकासलाई अझ प्रभावकारी बनाउनु आवश्यक छ ।

यसका लागि व्यक्ति, समाज, संघीय सरकार तथा प्रदेश सरकार सबैले आ–आफ्नो कर्तव्य स्पष्ट रूपमा पहिचान गरी कार्यान्वयन गर्नुपर्छ ।

भोजपुरी समाजको उत्थान कसैको एकल जिम्मेवारी होइन, यो व्यक्ति, समाज र राज्यको साझा दायित्व हो ।


व्यक्तिको कर्तव्य : समाज परिवर्तनको पहिलो आधार व्यक्ति हो ।

व्यक्ति सचेत, शिक्षित, अनुशासनित, जिम्मेवार र आफ्नो पहिचानप्रति गौरवान्वित नभएसम्म समाजको समग्र उत्थान सम्भव हुँदैन । भोजपुरी समाजको प्रत्येक व्यक्तिले आफ्नो मातृभाषा, संस्कृति र मौलिक पहिचानप्रति सम्मानको भावना राख्नुपर्छ ।
 

व्यक्तिगत तहमा निम्न प्रतिबद्धता आवश्यक छन्

  •   मातृभाषाको सम्मान र प्रयोगः घरपरिवारमा भोजपुरी भाषाको प्रयोग बढाउने । विद्यालय तहदेखिनै भोजपुरी भाषालाई मातृभाषा शिक्षाको माध्यम तथा विषयको रूपमा विकास गर्नुपर्छ ।
  •  भोजपुरी भाषामा कविता, कथा, नाटक, उपन्यास, निबन्ध तथा अनुसन्धानमूलक लेखनलाई प्रोत्साहन गर्नुपर्छ ।
  •  नियमित साहित्यिक गोष्ठी, कवि सम्मेलन र पुस्तक प्रकाशनका कार्यक्रम संचालन गर्नुपर्छ ।

समाजको कर्तव्य – व्यक्तिगत शक्तिलाई सामुहिक शक्तिमा बदलौं

 

व्यक्ति परिवर्तनको प्रारम्भिक एकाई हो भने समाज, परिवर्तनको सामुहिक शक्ति हो । छरिएर रहेको व्यक्तिको क्षमता संगठन र सहकार्यबाट मात्र ठूलो सामाजिक शक्ति रूपान्तरण सम्भव छ ।

भोजपुरी समाजका सामाजिक संस्था, साहित्यिक समूह, बुद्धिजीवी, शिक्षक, पत्रकार, कलाकार, व्यवसायी तथा सामाजिक अभियन्ताहरूले साझा उद्देश्यका साथ अगाडि बढ्नुपर्छ ।

समाजको प्रमुख जिम्मेवारी निम्न हुनुपर्छ 

  •  भोजपुरी भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा सम्बद्र्धनका लागि संस्थागत अभियान सञ्चालन गर्ने ।
  • स्थानीय तहमा भोजपुरी साहित्य परिषद, सांस्कृतिक मञ्च तथा भाषा अनुसन्धान केन्द्र स्थापना गर्ने ।
  •  भोजपुरी भाषा तथा संस्कृति सम्बन्धी पुस्तक, पत्रिका, शब्दकोष र अनुसन्धान सामग्री प्रकाशन गर्ने ।

 

  •  सामाजिक विभेद, छुवाछूत, दाइजोप्रथा, लैङ्गिक असमानता र अन्य सामाजिक विकृति विरुद्ध अभियान सञ्चालन गर्ने ।
  •   समाज भित्र रहेको विभिन्न जाति, धर्म, वर्ग र क्षेत्रको मानिसबीच एकता, सहिष्णुता र पारस्परिक सम्मान अभिवृद्धि गर्ने ।

 

समाजले सरकार निकायसँग आफ्ना माग र आवश्यकताहरू तथ्य, प्रमाण र स्पष्ट योजना सहित प्रस्तुत गर्नुपर्छ ।

सरकारलाई दोष दिने मात्र होइन, सरकारसँग सहकार्य गर्ने र सार्वजनिक कार्यक्रमको निगरानी गर्ने क्षमता पनि विकास गर्नु पर्छ ।
संघीय सरकारको कर्तव्य – संवैधानिक अधिकारलाई व्यवहारमा उतार्न

नेपालको संविधानले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएको छ । संविधानको धारा (६) ले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषा मानेको छ भने धारा (७) ले सरकारी कामकाजको भाषासम्वन्धी व्यवस्था गरेको छ । धारा (३२) ले भाषा तथा संस्कृतिको अधिकार सुनिश्चित गरेको छ ।

यस संवैधानिक व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु संघीय सरकारको महत्वपूर्ण दायित्व हो ।

संघीय सरकारले भोजपुरी समाजको भाषिक तथा सांस्कृतिक उत्थानका लागि निम्न प्रतिबद्धता पूरा गर्नुपर्छः

 

  •   राष्ट्रिय भाषिक नीति – भोजपुरी भाषासहित सबै मातृभाषाको संरक्षण, विकास र प्रयोगलाई सुनिश्चित गर्ने स्पष्ट राष्ट्रिय नीति निर्माण र कार्यान्वयन गर्ने ।
  •   संस्थागत संरचना – भोजपुरी भाषा, साहित्य, कला र संस्कृतिको अध्ययन, अनुसन्धान, अभिलेखिकरण तथा प्रवद्र्धनका लागि उपयुक्त राष्ट्रिय संस्थागत व्यवस्था गर्ने ।
  •   शैक्षिक अधिकार – स्थानीय र संवैधानिक व्यवस्था अनुसार मातृभाषामा शिक्षा प्राप्त गर्ने अवसर विस्तार गर्न पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक तयारीमा सहयोग गर्ने ।

 

  •  आर्थिक बजेट–भोजपुरी भाषा तथा संस्कृतिको संरक्षणको लागि संघीय बजेटमा उपयुक्त कार्यक्रम र स्रोत विनियोजन गर्ने ।
  •   अनुसन्धान र प्रकाशन – भोजपुरी भाषाको व्याकरण, शब्दकोष, इतिहास, लोकसाहित्य र सांस्कृतिक सम्पदाको अनुसन्धान तथा प्रकाशनमा सहयोग गर्ने ।
  •  अन्तर्राष्ट्रिय सम्बन्ध – भारत, मौरिसस, फिजी, सुरिनाम लगायत देशका भोजपुरी भाषी समुदायसँग साहित्यिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्ने ।

 

स्थानीय आवश्यकता अनुसार कार्यान्वयन
भोजपुरी भाषी समुदायको उल्लेखनीय उपस्थिति रहेको मधेश तथा कोशी प्रदेश लगायत सम्बन्धित प्रदेश सरकारले भोजपुरी समाजको उत्थानमा विशेष भूमिका निर्वाह गर्न सक्छन् ।

भोजपुरी भाषाको संरक्षण र सम्बद्र्धनका लागि प्रादेशिक नीति तथा कार्यक्रम निर्माण गर्ने । प्रदेशस्तरमा भोजपुरी भाषा तथा सांस्कृतिक प्रतिष्ठान वा उपयुक्त अनुसन्धानकेन्द्र स्थापना गर्ने ।

भोजपुरी भाषामा पाठ्यसामग्री तथा शैक्षिक स्रोत निर्माणमा सहयोग गर्ने । प्रत्येक वर्ष प्रादेशिक भोजपुरी भाषा तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने । लोकगीत, लोकनृत्य, लोकनाट्य र मौखिक इतिहासको अभिलेखीकरण गर्ने ।

स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो ।

त्यसैले भोजपुरी भाषा र संस्कृतिको संरक्षणमा नगरपालिका तथा गाउँपालिकाको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ ।

यसरी स्थानीय तहदेखि प्रदेश र संघसम्म समन्वय स्थापित भएमा मात्र भाषिक तथा सांस्कृतिक उत्थान दिगो बन्न सक्छ ।

सरकारले अधिकार सुनिश्चित गर्नुपर्छ, समाजले संगठन र सहकार्य निर्माण गर्नुपर्छ अनि व्यक्तिले आफ्नो कर्तव्य इमान्दारीपूर्वक निर्वाह गर्नुपर्छ ।

यी तीन पक्षको समन्वय नै सफल सामाजिक रूपान्तरणको आधार हो ।

 

राजनीतिक नेतृत्वको उत्तरदायित्व : राजनीतिक नेतृत्वले भाषिक पहिचानलाई चुनावी नारामा मात्र सीमित राख्नु हुँदैन ।

भोजपुरी समाजको वास्तविक आवश्यकता, शिक्षा, रोजगारी, सामाजिक न्याय, सांस्कृतिक संरक्षण र आर्थिक विकासका मुद्दालाई नीति तथा बजेटमा समावेश गर्नुपर्छ ।

हामीले आफ्नो भाषा र संस्कृतिप्रति गौरव गर्नुपर्छ तर अरूको भाषा र संस्कृतिलाई पनि उत्तिकै सम्मान गर्नुपर्छ ।

यो नै सफल संयुक्त तालमेल हो । हाम्रो उद्देश्य कुनै समुदायसँग प्रतिस्पर्धा गर्नु होइन, नेपालको राष्ट्रिय एकता, सामाजिक सद्भाव र बहुसांस्कृतिक समृद्धिलाई बलियो बनाउनु हो ।

हाम्रो संकल्प हुनुपर्छः
‘भोजपुरी भाषा हमर पहिचान,
भोजपुरी साहित्य हमर सम्मान ।
भोजपुरी संस्कृति हमर धरोहर,
एकर संरक्षण हमर साझा उत्तरदायित्व  ।’
आइँ, मिलकर भोजपुरी समाजके शिक्षित, संगठित, समृद्ध आ सम्मानित समाज बनाई ।

 

इतिहासले हामीलाई पहिचान दिएको छ र वर्तमानले जिम्मेवारी दिएको छ र भविष्यले परिणाम खोजिरहेको छ ।

तसर्थ व्यक्ति जागौं, समाज जुटौं र सरकार प्रतिबद्ध बनोस् । हाम्रो एकता, हाम्रो चेतना र हाम्रो सामुहिक प्रयाशबाट मात्र समुन्नत भोजपुरी समाजको निर्माण सम्भव छ ।

‘हाम्रो उद्देश्य साझा, हाम्रो जिम्मेवारी साझा र हाम्रो प्रतिबद्धता साझा – भोजपुरी समाजको समुन्नति नै हाम्रो सामुहिक संकल्प !’
 इति शुभम् !

(लेखक उमेश भगत विराटनगर–२ स्थित जनता माध्यमिक विद्यालयका पूर्वविद्यार्थी संघका अध्यक्ष हुन् ।)

View : 54

२९ कार्तिक २०८३, आइतवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved