Biratnagar, Morang, Nepal
११ कार्तिक २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी कांग्रेस उपसभापतिमा सञ्जय भट्टराईको दाबी

उद्‌घोष संवाददाता
११ कार्तिक २०८३, बुधवार

Advertisement

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिलाई थप गतिशील, सुदृढ र प्रभावकारी बनाउने संकल्पसहित पुराना नेता सञ्जय भट्टराईले प्रदेश उपसभापतिका लागि तयारी अघि बढाएका छन् ।

पार्टीभित्र संगठन रूपान्तरण, नेतृत्व हस्तान्तरण र सांगठनिक सुदृढीकरणको बहस चलिरहेका बेला भट्टराईले तल्लो तहसम्म पार्टीको उपस्थिति बलियो बनाउने एजेन्डा अघि सारेका हुन् ।

सांगठनिक राजनीतिमा ३६ वर्षभन्दा बढी समय बिताएका भट्टराईले प्रदेश उपसभापतिको जिम्मेवारीलाई पद र प्रतिष्ठामा मात्र सीमित नराखी वडा तथा टोल तहसम्म पार्टी संगठन विस्तार र सुदृढीकरणको माध्यम बनाउने लक्ष्य लिएका छन् ।

२०४६ सालको जनआन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका मोरङको कानेपोखरी निवासी भट्टराई २४ वर्षकै उमेरमा महाधिवेशन प्रतिनिधि बनेका थिए ।

तत्कालीन गाउँ समिति सदस्य, दुई कार्यकाल क्षेत्रीय सचिव र मोरङ जिल्ला सचिवको जिम्मेवारी सम्हालिसकेका उनीसँग पार्टीको तल्लो तहदेखि प्रदेशस्तरसम्मको सांगठनिक संरचना र कार्यकर्ताको भावना बुझेको अनुभव छ ।

हाल नेपाली कांग्रेस कोशी प्रदेशका निर्वाचित कार्यसमिति सदस्य रहेका भट्टराई नवौँ महाधिवेशनदेखि निरन्तर महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य रहँदै आएका छन् ।

पार्टी आन्दोलन र संगठन निर्माणमा लामो समय सक्रिय रहे पनि उनले हालसम्म कुनै राजकीय वा लाभको पद नलिएको बताइएको छ ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा कानेपोखरी गाउँपालिका अध्यक्षका प्रत्यासी बनेका भट्टराई चुनावी परिणाम आफ्नो पक्षमा नआए पनि पार्टीको नीति निर्माण र संगठन विस्तारमा निरन्तर सक्रिय रहँदै आएका छन् ।

कांग्रेसभित्र नयाँ ऊर्जा, वैचारिक स्पष्टता र सांगठनिक सुधारको आवश्यकता बढिरहेका बेला भट्टराईको उम्मेदवारीलाई अनुभव, निष्ठा र रूपान्तरणसँग जोडेर हेरिएको छ ।

प्रदेश उपसभापति बनेपछि स्थानीय तह, जिल्ला र प्रदेश समितिबीच प्रभावकारी समन्वय स्थापित गर्ने उनको योजना छ ।

त्यस्तै, पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थालाई क्रियाशील बनाउने, पार्टीका नीति तथा कार्यक्रमलाई स्पष्ट रूपमा कार्यान्वयन गर्ने र कांग्रेसको अभियानलाई टोल–टोलसम्म पुर्‍याउने उनका प्रमुख एजेन्डा छन् ।

कोशी प्रदेश उपसभापति पदका अन्य सम्भावित उम्मेदवारले औपचारिक रूपमा आफ्नो दाबेदारी घोषणा गरिनसकेको अवस्थामा भट्टराईको उम्मेदवारी तयारीले आगामी प्रदेश अधिवेशनमा चासो बढाएको छ ।

लामो सांगठनिक अनुभव र पार्टीप्रतिको निरन्तर सक्रियतालाई आधार बनाएका भट्टराईले अघि सारेका एजेन्डाले कांग्रेसको आगामी नेतृत्व चयन र संगठन रूपान्तरणको बहसमा कस्तो प्रभाव पार्छ भन्ने विषय चासोका साथ हेरिएको छ ।

View : 22

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved