विराटनगर । दुई उद्योगीले विराटनगरमा एक अर्बको लगानीमा औषधि उद्योग स्थापना गरेका छन् ।
मोरङको बुढीगंगा गाउँपालिका–२ वाइपास रोडमा अन्तर्राष्ट्रिय स्तरको औषधि उत्पादन गर्ने उद्योगका रुपमा उद्योगी दिनेश ठाकुर र रञ्जित भगतले एलेक्सा लाइफसाइन्स स्थापना गरेका हुन् ।
नेपालकै उच्चस्तरीय औषधि उद्योग बन्ने लक्ष्यसहित यो औषधि उद्योग स्थापना गरिएको ठाकुरले बताए । एभरेष्ट बैंकसँगको वित्तीय सहकार्यमा एक अर्बको लगानीमा उद्योग स्थापना गरिएको उनले जानकारी दिए । जसमध्ये एभरेष्ट बैंकले ६० करोड रुपैयाँ लगानी प्रतिवद्धता गरेको जनाइएको छ ।
जर्मन प्रविधीका मेसिनहरूको प्रयोगबाट उच्च गुणस्तरीय औषधि उत्पादन गर्ने जनाइएको छ ।
एलेक्साले नेपाली बजारमा गुणस्तरीय औषधि सहज मूल्यमा उपलब्ध गराउने लक्ष्य लिएको ठाकुरले बताए ।
उनले स्वदेशी उत्पादन बढाइ औषधिको आयातमा कमी ल्याउने र दीर्घकालीन रुपमा औषधि निर्यात गर्दै मुलुकको आर्थिक विकासमा योगदान पुर्याउनु आफ्नो उद्देश्य रहेको उनले बताए । करीव पा“च बर्षदेखिको अध्ययन पश्चात औषधि उद्योग स्थापना गरिएको ठाकुरले बताए ।
उद्योग स्थापना पूर्णरूपमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप रहेको जनाइएको छ । औषधि उद्योगले विराटनगरमा तत्कालै १५० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने जनाइएको छ । दक्ष जनशक्ति, अत्याधुनिक प्रविधि र प्रभावकारी व्यवस्थापन प्रणाली प्रयोग गरेर उच्चस्तरको औषधि उत्पादन गरिने दाबी गरिएको हो ।
उद्योगले पहिलो चरणमा एलभीपी १०० एमएलदेखि तीन हजार एमएलसम्म र दोस्रो चरणमा एसभीपी औषधि उत्पादन गरिनेछ । जसअन्तर्गत एक एमएलदेखि २० एमएलसम्मका औषधिहरू तयार पारिने जनाइएको छ । तेस्रो चरणमा भने आँखाको औषधि र कानको औषधि उत्पादन गरिने एलेक्साका लगानीकर्ता ठाकुरले बताए ।
उद्योगले नेपालमा एलभीपी क्षेत्रमै पहिलोपटक पूर्णरूपमा स्वदेशी उत्पादन गर्ने कम्पनी बन्ने दाबी गरिएको छ ।
वर्तमानमा नेपालको औषधि बजारमा करिब ६० प्रतिशत औषधि विदेशी कम्पनीहरूले ओगटिरहेको दाबी गरिन्छ । तर एलेक्साको स्थापनाले स्वदेशी उत्पादन र आत्मनिर्भरताको दिशामा महत्वपूर्ण साथ मिल्ने जनाइएको छ ।
कम्पनीले हालै तीन वर्षभित्र २० प्रतिशत बजार हिस्सा ओगट्ने पनि दाबी गरेको छ । निकट भविष्यमा अन्य मुलुकहरूमा औषधि निर्यात गर्ने लक्ष्य समेत राखेको जनाइएको छ ।
एलेक्साको स्थापनासँगै नेपालको औद्योगिक र स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाएको चिकित्सकहरूले पनि बताएका छन् ।
View : 2211
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved