Biratnagar, Morang, Nepal
३ कार्तिक २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

उड्डयन प्रशिक्षण प्रतिष्ठानको जग्गा फिर्ता गर्न पहल गर्छु : मन्त्री पाण्डे

उद्‌घोष संवाददाता
१० असोज २०८१, बिहिवार

Advertisement

काठमाडौँ, १० असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानका नाममा रहेको जग्गा फिर्ता ल्याउन पहल गर्ने बताएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘एटिसी सिमुलेटर तथा आधारभूत एयर ट्राफिक सर्भिस तालिम’को उद्घाटन गर्दै मन्त्री पाण्डेले भने, “कुनै पनि शैक्षिक प्रतिष्ठानमाथि सरकारले आँखा लगाउनु हुँदैन ।

नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानका नाममा रहेको जग्गा २०७६ सालमा सरकारले नै फिर्ता लिएको रहेछ । शैक्षिक प्रतिष्ठानको जग्गा कसैले खोस्न मिल्दैन । फिर्ता ल्याउने प्रक्रिया अघि बढाउँछु ।” मन्त्री पाण्डेले जग्गा फिर्ता भएपछि दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक संरचना बनाउने विश्वास दिलाए ।

जग्गा अपुग भएकाले सरकारले लिएको एकेडेमीको जग्गा एकेडेमीमै फर्काउने गरी पहल गर्ने उनको भनाइ थियो । प्रतिष्ठानबाट उत्पादित जनशक्तिले नेपाली आकाश सुरक्षित छ भन्ने विश्वास दिलाउन महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा मन्त्री पाण्डेले जोड दिए ।

“नागरिक उड्डयन क्षेत्र कमजोर भयो भने धेरै कुरा देखाउन सक्दैनौँ । नेपालको आकाश सुरक्षित छ भन्ने सन्देश प्रवाह हुनेगरी काम गर्न जरूरी छ”, उनले भने, “नेपाली आकाश सुरक्षित छ भन्ने सन्देश संसारभर फैलाउन जरुरी छ ।

असुरक्षित छ भन्ने गलत भाष्य र प्रवृत्ति रोक्नुपर्छ ।” मन्त्री पाण्डेले नेपालको आकाश सुरक्षित छ भन्नका लागि कुनै कसर बाँकी नराख्न नागरिक उड्डयन प्राधिकरण नेतृत्वलाई निर्देशन दिँदै त्यसको जिम्मा प्राधिकरणले लिनुपर्ने बताए ।

नेपाल वायुसेवा निगमलाई सुरक्षित र भरपर्दो बनाउन सरकारले आवश्यक हस्तक्षेप गर्दै अघि बढ्ने उनले उल्लेख गरे ।  रासस

View : 442

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved