Biratnagar, Morang, Nepal
९ असार २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

ट्यांकर चोरी प्रकरण : निगमले समयमा अनलोड नगर्दा घटना भएको व्यवसायीको गुनासो

उद्‌घोष संवाददाता
९ असार २०८३, मङ्गलवार

Advertisement

विराटनगर । नेपाल आयल निगम र व्यवसायीको कमजोरीका कारण २० हजार लिटर पेट्रोल लोड भएको एक ट्याङ्कर चोरी भएको छ । यो घटना नौलो हैन, यसअघि पनि चोरी भएको हो ।

विराटनगरबाट चोरी भएको एक ट्याङ्कर पेट्रोल सुनसरीमा फेला परेको छ । 

नेपाल आयल निगम प्रदेश कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको ट्याङ्कर आइतबार राति चोरी भएकोमा सोमबार दिउँसो फेला परेको थियो । निगमको पार्किङ एक जना सुरक्षागार्डको भरमा हुन्छ ।

कुनै घटना भए निगमको प्रादेशिक कार्यालय र नजिकैको वस्तीलाई नै खतरा हुने लोड गरिएको ट्याङ्कर कुर्न निगमले एक जना गार्ड मात्रै राख्ने गरेको छ । 

पार्किङमा ठुलो संख्यामा ट्याङ्कर रहने गरेका छन् । को १ ख ६१९० नम्बरको ट्याङ्कर सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–८ स्थित सडकमा रोकिराखेको अवस्थामा सोमबार फेला परेको प्रहरीले बताएको छ । 

सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेले सडकमा बेवारिसे अवस्थामा रहेको ट्याङ्कर फेला परेको जानकारी दिए । 

यतिका पेट्रोल लोड भएको ट्याङ्कर किन र कसले चोर्यो भन्ने खुल्न सकेको छैन । 

प्रहरीले भने कुनै ट्याङ्करका चालकले नै चोरी गरेको हुनसक्ने अनुमान गरेको छ । नवीन ढुवानी सेवाले भारत पश्चिम बंगाल सिलीगुढीबाट पेट्रोल लोड गरेर आइतवार साँझ विराटनगर ल्याएको थियो । 

प्रहरीले पार्किङ क्षेत्र र सडकको सीसीटीभी क्यामेराको रेकर्डका आधारमा चोरीमा संलग्न ब्यक्तिको खोजी गरिने बताएको छ । 

निगमका प्रादेशिक कार्यालय प्रमुख पुस्कर कार्कीले चोरी भए मध्ये ९ सय ५० लिटर कम पेट्रोलसहित फेला परेको ट्याङ्कर विराटनगर ल्याएर सुरक्षित राखिएको जानकारी दिए ।

उनका अनुसार, राति १२ बजेसम्म एक जना गार्डले सुरक्षा दिएका थिए । त्यसपछि चालक र सहचालकहरूको भरमा ट्याङ्कर सुरक्षामा थियो । 

ट्याङ्करको लुकिङ् ग्लास नजिकैको सानो सिसा फुटाएर भित्र प्रवेश गरी गाडी चोरीएको थियो । सो ट्याङ्करको चाबी भने चालकले अर्का चालकलाई बुझाएर हिंडेका थिए ।

कार्कीका अनुसार मंगलबार ढुवानी ब्यवसायीसँग छलफल गरेर थप एक गार्ड पार्किङ सुरक्षाका लागि राख्ने बारे तयारी भएको छ । 

एक गार्ड भने ढुवानी ब्यवसायीले राख्नुपर्ने हुन्छ । अति सम्वेदनशील पेट्रोलियम पदार्थ भरिएको ट्याङ्करको सुरक्षा सामान्य गार्डको भरमा रहँदै आएको छ ।

‘अमलेखगञ्जमा पार्किङ सुरक्षामा सेना राखिएको छ, विराटनगरमा प्रहरी पनि छैन’ एक जना पेट्रोलियम ब्यवसायीका नेताले भने, ‘यहाँ निगमको गम्भीर लापर्वाही देखिन्छ ।’

उनका अनुसार, निगमले खरिद गरेको पेट्रोलियम ब्यवसायीले ढुवानी गरेका मात्रै हुन् । निगममा आएपछि त्यसको सुरक्षा सरकारको हुनुपर्ने हो ।

निगमले सुृरक्षा नगर्दा यसअघि पनि २० हजार लिटर डिजल भरिएको ट्याङ्कर सोही पार्किङबाट चोरी भएको थियो । 

बिक्री भइसकेको अवस्थामा मधेस प्रदेशमा ट्याङ्कर फेला परेको थियो । बजारका पेट्रोलपम्पका टंकी खाली नभएसम्म निगमले समयमा ट्याङ्कर अनलोड नगरिदिंदा १० दिनसम्म ट्याङ्करलाई पालो पर्खिएर पार्किङमा राख्नुपर्ने हुन्छ ।

निगमका प्रमुख कार्की भने ढुवानीको जिम्मा ब्यवसायीकै हुने भएकाले निगमले नलिउञ्जेल सुरक्षाको जिम्मा पनि ब्यवसायीकै हुने बताउँछन् । 

एउटा ट्याङ्करको मूल्य ८० लाख र त्यसमा निगमको ५० लाख मूल्यको पेट्रोल रहेको हुन्छ । 

अति प्रज्वलनशील पदार्थ लोड गरेर निगमको पार्किङमा राखिएका ट्याङ्करको सुरक्षा सरकारले नलिए यस्ता घटना भइरहने ब्यवसायीको भनाई छ ।

View : 59

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved