मानगढ खानेपानी
विराटनगर । विराटनगर–३ स्थित मानगढ खानेपानी आयोजनाको निर्वाचन आगामी जेठ १० गते गर्ने सहमति भएको छ ।
उच्च अदालत विराटनगरले २०८१ फागुन २६ मा साविककै उम्मेदवार कायम राखेर तीन महिनाभित्र पुनः निर्वाचन गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार खानेपानीको निर्वाचन गर्न बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङमा भएको सर्वपक्षीय बैठकले २०८२ जेठ १० गते शनिबार निर्वाचन गर्ने निर्णय गरेको हो ।
करीव ६ हजार उपभोक्ता रहेको मानगढ खानेपानीको निर्वाचनलाई व्यवस्थित गर्न उच्च अदालत बार एसोसिएसन विराटनगरले निर्वाचन समिति तोक्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको रोहबरमा भएको बैठकले तीन सदस्यीय पदाधिकारी तोकिदिन उच्च बारलाई आग्रह गर्ने निर्णय गरेको हो ।
मतदानस्थल, मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीसहितको व्यवस्थापकीय कार्य र सुरक्षा व्यवस्थापनका लागि बैशाख १७ गते बुधबार पुनः अर्को बैठक बस्ने जनाइएको छ ।
छलफलले निर्वाचनलाई शान्तिपूर्ण एवं सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सबैले सहयोग र समन्वय गर्ने निर्णय गरेको छ ।
२०८१ जेठ १९ मा भएको मानगढ खानेपानीको मतदानमा सबै उपभोक्ताले मतदान गर्न नपाएपछि विवादित बनेको थियो । उक्त विवाद उच्च अदालत विराटनगरसम्मै पुगेको थियो ।
उच्चले २०८१ फागुन २६ मा फैसला गर्दै २०८१ जेठ १५ गते विहान ५.०० बजेसम्म कायम रहेका मतदाता (उपभोक्ता) नै मतदाता कायम हुने गरी पुनः निर्वाचन गराउन आदेश दिएको थियो ।
उच्च अदालतको फैसलाअनुसार २०८२ जेठ २७ गतेभित्र बाध्यकारी रुपमा खानेपानीको निर्वाचन हुनुपर्नेछ । सोही बाध्यकारी आदेशका कारण अध्यक्ष पदका उम्मेदवार, खानेपानी उपभोक्ता समितिका पदाधिकारी, स्थानीय प्रशासन, खानेपानी आयोजनाको क्षेत्रभित्रका वडाध्यक्ष र राजनीतिक दलका प्रतिनिधिसहितको बैठकले आगामी जेठ १० गते निर्वाचन गर्ने मिति तोकेको जनाइएको छ ।
बैठकले निर्वाचन स्थल भने टुंगो लगाएको छैन । बिहीबारको बैठकमा आगामी बुधबार (बैशाख १७) निर्वाचन गर्न सकिने सम्भावित स्थलहरूमा स्थलगत निरीक्षण गर्ने जनाइएको छ ।
निर्वाचनका लागि विराटनगर–३ स्थित प्यारागन बोर्डिङ स्कुल, पोलोस्टार बोर्डिङ स्कुल, पुष्पलाल चोकस्थित पुर्वाञ्चल विश्वविद्यालयको कार्यालय र औषधि व्यवस्था विभाग छेउमा रहेको पोखरिया माविको नयाँ भवन मध्ये कुनै एक ठाउँ उपयुक्त हुने विषयमा छलफल भएको छ ।
विगतदेखि निर्वाचन हुँदै आएको विराटनगर–३ स्थित मोर्डन एरा बोर्डिङ स्कुल भने अनुपयुक्त रहेको बैठकका सहभागीहरूले राय दिएका थिए ।
निर्वाचन सुनिश्चित गर्नका लागि अध्यक्ष पदका उम्मेदवार लालमणि भट्टराईसहितको नेतृत्वमा खानेपानी आयोजना तदर्थ समिति तथा आयोजना व्यवस्थापनलाई भेटेर १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए ।
उनीहरूले अघिल्लो निर्वाचनमा कमजोर व्यवस्थापनका कारण निर्वाचन विथोलिएको भन्दै पुनः हुने निर्वाचनमा सोही प्रकारको गल्ती नदोहोर्याउन चेतावनी दिएका थिए ।
मानगढ खानेपानीको अध्यक्षमा भट्टराईसहित दुर्गा चापागाईँ र रामबहादुर घिमिरे प्यानलै बनाएर मैदानमा उत्रिएका थिए ।
View : 262
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved