Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

असार १३ मा प्राण प्रतिष्ठा

विराटनगरको ऐतिहासिक राधारमण मन्दिरकाे ३ करोडको लागतमा पुनर्निर्माण

उद्‌घोष संवाददाता
५ वैशाख २०८३, शनिवार

विराटनगर । विराटनगर–४, बरगाछीस्थित ऐतिहासिक राधारमण मन्दिर अहिले नयाँ र आधुनिक कलेवरमा सजिएको छ।

वि.सं. २०२० सालमा स्थापना भएको यस पुरानो धार्मिक धरोहरलाई करिब दुई वर्षको अथक प्रयासपछि भव्य स्वरूप दिइएको हो। मन्दिरको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै आगामी असार १३ गते नयाँ श्री विग्रह (मूर्ति) हरूको प्राण प्रतिष्ठा गरिने भव्य कार्यक्रम तय भएको छ।

वि.सं. २०७९ वैशाखदेखि सुरु भएको साे महत्त्वाकांक्षी परियोजनामा हालसम्म करिब ३ करोड रुपैयाँ खर्च भइसकेको छ। मन्दिर व्यवस्थापनका अनुसार यो बजेटमध्ये करिब २ करोड रुपैयाँ भक्तजनहरूको व्यक्तिगत दान र चन्दाबाट संकलन गरिएको हो भने स्थानीय र प्रदेश सरकारबाट करिब १ करोड रुपैयाँ सहयोग प्राप्त भएको छ।

मन्दिर निर्माणमा ५० हजार वा सोभन्दा बढी सहयोग गर्ने करिब १७५ जना मनकारी दाताहरूको नाम शिलालेखमा उत्कीर्ण गरी सम्मान गर्ने तयारी भइरहेको कोषाध्यक्ष थानेश्वर खनालले जानकारी दिए।

मन्दिरको वास्तुकला र निर्माण शैली निकै आकर्षक छ। सुशीलकुमार पौडेलको संयोजकत्वमा रहेको निर्माण समितिले यसलाई व्यवस्थित र कलात्मक बनाएको छ।

मन्दिरको प्रवेशद्वारभित्र छिर्नासाथ यज्ञमण्डप, थान देवताको मन्दिर, ५० केजीको विशाल घण्टी र आकर्षक तुलसीको मोठले भक्तजनको मन लोभ्याउनेछ। भवनको भुइँतलामा आधुनिक कार्यालय, पुजारी आवास, भान्साघर र पाहुनाघरको व्यवस्था गरिएको छ भने माथिल्लो तलामा सीताराम, राधारमण र शिवपाञ्चायनका भव्य मन्दिरहरू रहनेछन्। साथै, निम्बार्काचार्यको प्रतिमा, भगवानका दुई सखीहरूको मूर्ति र अग्रभागमा गरुडको सानो मन्दिरले मन्दिरको शोभा थपिने छ।

साे मन्दिर निर्माणको अर्को रोचक पक्ष भनेको 'धार्मिक सद्भाव' हो। दक्षिण भारतीय कलाकार रामचन्द्र मडियथको टोलीले मूर्ति र कलात्मक बुट्टाहरू भरेका छन् भने स्थानीय कलाकार मोहम्मद जाकिर हुसेनले मन्दिरको भौतिक संरचना निर्माणको नेतृत्व गरेका छन्।

हिन्दू मन्दिरको निर्माणमा मुस्लिम कलाकारको यो संलग्नताले विराटनगरमा सद्भावको उत्कृष्ट नमुना प्रस्तुत गरेको छ।

जगतगुरु बालसन्त मोहनशरण देवाचार्य प्रमुख संरक्षक रहेको साे मन्दिरको व्यवस्थापन शंकरप्रसाद रेग्मीको अध्यक्षतामा रहेको १५ सदस्यीय समितिले गरिरहेको छ।

मन्दिर परिसरमा धार्मिक शिक्षालाई निरन्तरता दिन 'राधारमण वेद वेदाङ्ग पाठशाला' समेत गुरुकुल पद्धतिमा सञ्चालन भइरहेको छ।

पण्डित भवानीशंकर निरौलाको अध्यक्षता र रबिन गुरगाईंको प्रधानाध्यापकत्वमा हाल कक्षा ५ सम्म यहाँ अध्यापन भइरहेको छ।

विराटनगरको पुरानो धार्मिक पहिचान बोकेको राधारमण मन्दिरको यो नवनिर्मित स्वरूप र आगामी प्राण प्रतिष्ठाको खबरले यतिबेला स्थानीय भक्तजनहरूमा विशेष उत्साह र खुसीयाली छाएको छ।

View : 255

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved