Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

मोरङ छाडेर तेह्रथुम पुगेका भानुभक्त ढकाल कति सुरक्षित ?

उद्‌घोष संवाददाता
२१ माघ २०८२, बुधवार

विराटनगर । नेकपा एमालेका सचिव भानुभक्त ढकाल मंगलबार बिहान विराटनगरका पत्रकारहरूमाझ आत्मविश्वासी अन्दाजमा पेश हुँदै थिए । 

त्यसक्रममा उनले एमाले आउँदो चुनावमा सबैभन्दा ठूलो शक्तिका रूपमा उदाउने दाबी मात्रै गरेनन्, बालेन शाहलाई झापा ५ मा उठाएर उनीविरूद्ध षड्यन्त्र गरिएको पनि बताए ।

त्यहीक्रममा उनीतिर प्रश्न तेर्सियो ‘एमाले यति बलियो अवस्थामा भए तपाईं चाहिँ किन मोरङ ३ छाडेर तेह्रथुमतिर लाग्नुभएको त ?’ यसअघिका दुईटा चुनाव मोरङ ३ मा लडेका, एकपटक जितेका र २०७९ मा पराजयको पीडा सहेका ढकालले तेह्रथुममा आफ्नो जीत सुनिश्चित भएको दाबी गरे । 

ढकालले यस्तो दाबी गरिरहदा उनी फर्केर गएको कोशी पहाडी जिल्ला तेह्रथुमको चुनावी गणित कस्तो छ त भन्ने हेरौं । 

तेह्रथुमको चुनावी मैदान यसपटक ढकालले सहजै रहेको दाबी गरे जस्तो एमालेका लागि सजिलो भने छैन । 

एमालेले यसपटक ढकाललाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ । ढकाल २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङ–३ बाट उम्मेदवार बनेका थिए ।

सो निर्वाचनमा उनी नेपाली कांग्रेसका डा. सुनिल शर्मासँग पराजित भएका थिए । मोरङ ३ मा २२ हजार ७३६ मतको ठूलो अन्तरले हार बेहोरेपछि ढकाल यसपटक आफ्नो गृह जिल्ला तेह्रथुम फर्किएका छन् । नेपाली कांग्रेसले सन्तोष सुब्बालाई प्रतिनिधिसभा उम्मेदवार बनाएको छ ।

सुब्बा २०७९ को  निर्वाचनमा प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दा पराजित भएका थिए । यसपटक भने उनी कुनै गठबन्धन बिना एकल प्रतिस्पर्धामा छन् । 

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा तेह्रथुमबाट नेपाली कांग्रेसकी सीता गुरूङ विजयी भएकी थिइन् । उनले एमालेका विजय सुब्बालाई पराजित गरेकी थिइन् । 

गुरुङले १९ हजार ७०७ मत प्राप्त गर्दा सुब्बाले १८ हजार ६४१ मत पाएका थिए । पछिल्लो चुनावी नतिजालाई आधार मान्ने हो भने तेह्रथुमको चुनावी प्रतिस्पर्धा कांग्रेस र एमालेबीचमै केन्द्रित हुने आंकलन गर्न सकिन्छ ।

यद्यपि अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतका दलहरू बीच गठबन्धन थियो । 

यसपटक भने एकीकरणपछि बनेको नेपाली कम्युनिस्ट पार्टीले रणध्वज कन्दङवालाई उम्मेदवार बनाएको छ । कम्युनिस्ट आन्दोलनका पुराना नेता हुन् उनी । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुरेन्द्र कार्की उम्मेदवार बनेका छन् । त्यस्तै, श्रम संस्कृति पार्टीले पनि जिल्लामा आफ्ना गतिविधि विस्तार गर्दै आएको छ । पहिचानवादी मोर्चाको नेतृत्व गर्दै आएका सुविन्द्र लिम्बूलाई सो पार्टीले उम्मेदवार बनाएको छ ।

जनजाति बाहुल्य रहेको जिल्लामा पहिचानवादी आन्दोलन चर्केको थियो । यसैगरी राष्ट्रिय परिवर्तन पार्र्टी र उज्यालो नेपाल पार्टीबाट साझा उम्मेदवारका रूपमा २६ वर्षीया उषालक्ष्मी तुम्बाहाम्फेलाई अघि सारिएको छ । 

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट शंकरमान लिम्बू, नेपाल जनमुक्ति पार्टीबाट सागरनाथ रेग्मी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट होमभक्त लिम्बू, नेपाल कम्युनिष्ट पार्र्टी माक्र्सवादी पुष्पलाल समूहबाट टंकप्रसाद भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट मनकुमार लिम्बू तथा मंगोल नेसनल अर्गनाइजेसनबाट गंगाबहादुर चोङबाङ पनि चुनावी दौडमा छन् । 

एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा २०४८ सालदेखि लामो समय एमालेको वर्चस्व रहदै आएको थियो । 

२०६४ सालमा भने नेपाली कांग्रेसका तुलसी सुब्बाले विजय हासिल गरेका थिए । त्यसपछि २०७० र २०७४ सालमा एमालेले पुनः लगातार जित हात पारेको थियो । 

सालको निर्वाचनमा भने गठबन्धनको सहायतामा प्रतिनिधिसभा कांग्रेसले आफ्नो पक्षमा पारेको थियो । यसपटक तेह्रथुममा कूल ७३ हजार १३७ मतदाता छन् । 

२०७९ को निर्वाचनमा समानुपातिक तर्फको नतिजामा तेह्रथुममा एमाले सबैभन्दा बलियो देखिएको थियो ।

एमालेले १७ हजार २५८ मत पाउदा कांग्रेसले १४ हजार ६०६, माओवादीले ३ हजार ६६, राष्ट्रिय स्वतन्त्र पार्टीले २ हजार १८८ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ हजार ७९ मत पाएका थिए ।

View : 335

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved