Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

पतञ्जलीको योगसँगै ध्यान र सूर्य नमस्कार अभियान

उद्‌घोष संवाददाता
१० पुष २०८२, बिहिवार

विराटनगर । पतञ्जली योग महानगर समिति विराटनगरले महानगर क्षेत्रभित्रका विभिन्न साधना केन्द्रहरूमा 'आलोपालो योग र ध्यान' गराउने विशेष अभियानलाई तीव्रता दिएको छ। पुसको पहिलो सातादेखि सुरु भएको यस अभियानले नगरबासीहरूमा शारीरिक स्वास्थ्यसँगै आध्यात्मिक चेतना जगाउने लक्ष्य राखेको छ।

अभियानअन्तर्गत अहिले महानगरका सातवटा साधना केन्द्रमा नियमित योगका अतिरिक्त एक घण्टाको विशेष ध्यान सत्र सञ्चालन भइरहेको छ। यस्तै, एक महिने 'सूर्य नमस्कार' अभियान पनि उत्साहजनक रूपमा चलिरहेको छ।

विराटनगर–३ स्थित परोपकार अभियान समूहको हलमा दैनिक ९ अङ्कका दरले बढाउँदै सूर्य नमस्कार गराउने क्रममा आज (पुस १० गते) साधकहरूले ९० पटक सूर्य नमस्कार सम्पन्न गरेका छन्।

पतञ्जली योगपीठ नेपालका कोशी प्रदेश प्रशिक्षण विभाग प्रमुख चन्द्रमणि गुरागाईंका अनुसार संख्या बढाउँदै लैजाँदा साधकहरूको शारीरिक क्षमता र उत्साहमा उल्लेख्य वृद्धि भएको छ।

महानगर अध्यक्ष माधव अधिकारीले पतञ्जलीको सन्देश हरेक नागरिकसम्म पुर्‍याउन यो अभियान सुरु गरिएको जानकारी दिनुभयो। यस अभियानअन्तर्गत पूर्व महासचिव राजु चन्द्र दाहालले दैनिक विभिन्न केन्द्रमा पुगेर ध्यान सत्रको सहजीकरण गरिरहनुभएको छ।

हाल परोपकार अभियान, ज्येष्ठ नागरिक वडा कार्य समिति, विराट सामुदायिक भवन, राधाकृष्ण दयालु योग साधना केन्द्र, पुष्पलाल स्मारक, अष्ट चिरञ्जीवी र सिद्धेश्वर महादेव योग साधना केन्द्रमा यो अभियान सञ्चालन भइरहेको छ।

महिला पतञ्जली योग महानगर समितिकी अध्यक्ष कुमारी तामाङले मानसिक स्वास्थ्यका लागि योग र ध्यानलाई सँगै लैजान यो अभियान प्रभावकारी देखिएको बताए।

यसैबीच, महानगर समितिले लामो समयदेखि योग क्षेत्रमा निरन्तर क्रियाशील साधना केन्द्रका संयोजकहरूलाई सम्मान गरेको छ।

महानगर महासचिव डीबी बस्नेतका अनुसार राधाकृष्ण दयालु योग साधना केन्द्रकी संयोजक लक्ष्मी घिमिरे, पुष्पलाल स्मारक सामुदायिक केन्द्रकी संयोजक लक्ष्मी घिमिरे रेग्मी र सिद्धेश्वर शिवालय साधना केन्द्रका संयोजक गीता पाैडेललाई सम्मान गरिएको छ।

सम्मानित व्यक्तित्वहरूलाई रुद्राक्षको माला, पुष्पगुच्छा र योग प्रशिक्षणमा सहयोगी हुने पुस्तक प्रदान गरिएको सचिव पुष्प प्रसाईले जानकारी दिए। यसअघि महानगर र जिल्ला समितिको संयुक्त व्यवस्थापनमा सञ्चालित एक हप्ते ध्यान शिविर पुस ७ गते समापन भएको थियो।

View : 313

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved