विराटनगर । भारतको बिहारस्थित किशनगञ्ज जिल्लामा भारत–नेपाल सीमा क्षेत्रबाट ८० ग्राम खैरो हेरोइन र ठूलो परिमाणको नेपाली तथा भारतीय मुद्रासहित एक जना संदिग्ध तस्कर पक्राउ परेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतको सशस्त्र सीमा बल (एसएसबी) र किशनगञ्ज एन्टी नार्कोटिक्स टास्क फोर्सको संयुक्त टोलीले बुधबार बिहान करिब ११ः३० बजे भारत–नेपाल सीमा क्षेत्रमा संयुक्त अभियान सञ्चालन गरी दिगलबैंक थाना क्षेत्रको मोहरमारी खकवार टोलका शाहनवाज हुसेनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका हुसेनको साथबाट ८० ग्राम खैरो हेरोइन, २३ लाख ४७ हजार ९ सय नेपाली रुपैयाँ, ३० हजार ५ सय ५० भारतीय रुपैयाँ, एक थान डिजिटल तौल मेसिन तथा ६ वटा स्मार्ट मोबाइल फोन बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ ।
सुरक्षा निकायका अनुसार आरोपीको गतिविधिमाथि केही दिनदेखि निगरानी भइरहेको थियो ।
गोप्य सूचनाका आधारमा योजनाबद्ध रूपमा गरिएको छापामार कारबाहीका क्रममा उनलाई नियन्त्रणमा लिइएको हो ।
बरामद गरिएका सामग्री दिगलबैंक थानामा बुझाउने प्रक्रिया जारी रहेको छ । प्रहरीले खैरो हेरोइन तस्करीको स्रोत, संलग्न अन्य व्यक्तिहरू तथा तस्करी सञ्जालबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
आरोपीसँग सोधपुछ जारी रहेको र घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
View : 71
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved