विराटनगर । सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । बाख्रा हराएपछि खोज्न जंगल छेउ पुगेका सुरुङ्गा नगरपालिका–४ विरनगरका ७२ वर्षीय गोपी चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
आइतबार साँझ हराएको बाख्रा खोज्न गाउँका अन्य स्थानीयसँगै जंगल छेउ पुगेका चौधरीलाई जंगली हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लहान पुर्याइएको थियो । तर, उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
सप्तरीका प्रहरी प्रमुख एसपी रुपक खड्काका अनुसार चौधरी गाउँका अन्य ४–५ जना स्थानीयसँगै गाउँभन्दा पूर्व–उत्तर दिशामा रहेको जंगल छेउको गोठतिर बाख्रा खोज्न गएका थिए ।
बाख्रा खोज्दै जंगल नजिक पुगेका बेला हात्ती कराउन थालेको थियो । त्यस क्रममा चौधरीले पनि हात्तीकै जस्तो आवाज निकालेर जोडले कराएको स्थानीय दिलीप चौधरीले बताएका छन् । त्यसपछि हात्ती उनीतर्फ आएर लखेट्दै आक्रमण गरेको थियो ।
हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका चौधरीलाई तत्काल उद्धार गरी अस्पताल पुर्याइएको थियो । प्रहरीलाई आइतबार राति करिब ८ बजे घटनाबारे जानकारी प्राप्त भएको एसपी खड्काले बताए ।
‘उहाँ हराएको बाख्रा खोज्न जानुभएको रहेछ । हात्तीले आक्रमण गरेछ,’ एसपी खड्काले भने ।
वृद्धको हात्तीको आक्रमणबाट मृत्यु भएपछि विरनगर र आसपासका बस्तीमा त्रास फैलिएको छ । स्थानीयका अनुसार पछिल्ला दिनमा जंगल आसपासका क्षेत्रमा जंगली हात्तीको आवतजावत बढ्दै गएको छ ।
घरपालुवा जनावर हराउँदा खोज्न जंगल छेउ पुग्नुपर्ने बाध्यता र त्यहाँ जंगली जनावरको जोखिमले स्थानीयलाई थप चिन्तित बनाएको छ । जंगल आसपासका बस्तीमा हात्तीको सम्भावित आक्रमणबाट मानवीय तथा भौतिक क्षति हुन सक्ने भन्दै स्थानीयले सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ ।
बाख्रा खोज्न निस्किएका वृद्धले ज्यान गुमाएपछि स्थानीय बासिन्दाले जंगल आसपासका क्षेत्रमा जंगली हात्तीको जोखिम न्यूनीकरण र सुरक्षाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
View : 38
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved