Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

पूर्वसभामुख ढुङ्गानाको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने छः मानव अधिकार आयोग

उद्‌घोष संवाददाता
३ मंसिर २०८१, सोमवार

Advertisement

काठमाडौँ,३ मङ्सिर । राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाले देश र नागरिक अधिकारको रक्षाका लागि पुर्‍याएको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने जनाएको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेले आज जारी गरेको प्रेस विज्ञप्तिमा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख व्यक्त गर्दै उनले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्ने आयोगले विश्वास लिएको उल्लेख छ ।

“ढुङ्गानाको निधनले नेपालको लोकतान्त्रिक आन्दोलन, कानुन र मानव अधिकारको क्षेत्रमा अपूरणीय क्षति पुग्नुका साथै देशले एक अमूल्य निधि गुमाएको छ”, विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधान, २०४७ को निर्माण, संसद्को गरिमा रक्षा, कानुन कार्यान्वयन, शान्ति प्रक्रिया तथा मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि पुर्‍याएको योगदानको आयोग कदर गर्दछ ।”

मानव अधिकारको संरक्षण, सम्बर्द्धन र शान्ति प्रक्रियाका सवालमा ढुङ्गानाले आयोगसँग जोडिएर गरेको कार्यको स्मरण गर्दै स्वर्गीय ढुङ्गानाको आत्माको चिरशान्तिको कामना गरिएको छ । साथै, आयोगले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । रासस

View : 336

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved