Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
विचार

पितृवात्सल्य र शक्तिपीठको सामीप्य

दक्षिणकालीदेखि नक्साल भगवतीसम्मकाे तीर्थ यात्रा
मणि अर्ज्याल
१३ वैशाख २०८३, आइतवार

समयको गतिसँगै जीवनका प्राथमिकताहरू बदलिंदा रहेछन्, तर आफ्ना जरा र माटोप्रतिको मोह कहिल्यै नम मेटिने रहेछ।

अमेरिकाको व्यस्त र यान्त्रिक दैनिकीबाट केही समय निकाल्दै जेठी छोरी धेरै वर्षपछि दशैंको पावन अवसरमा आमा–बुवाको हातबाट टीका थाप्न र आफन्तजनको आशीर्वाद लिन काठमाडौँ हुँदै विराटनगर आइपुग्दा घरमा एउटा छुट्टै रौनक छायो।

धेरै वसन्तहरू परदेशमै बिताएकी छोरीका लागि यो पटकको दशैँ केवल चाड मात्र थिएन, यो त बाल्यकालका स्मृतिहरूको पुनरावृत्ति र परिवारसँगको पुनर्मिलनको उत्सव थियो।

विराटनगरका गल्लीहरू, परिचित अनुहारहरू र आफन्तसँगको सामीप्यले उनलाई पुनर्जीवित तुल्याएको आभास हुन्थ्यो। विराटनगरमा दशैँको उल्लास मनाएपछि हाम्रो सपरिवार यात्रा काठमाडौँतर्फ मोडियो।

त्यहाँ कान्छी छोरी, ज्वाइँ र नातिको साथमा पुनः टीका र जमराको रमाइलो भयो।

झन्डै एक दशकको अन्तरालपछि स्कुल तथा कलेजका साथीहरूसँगको भेटघाट र पुराना दिनका गफगाफले छोरी दङ्ग थिइन्।

नेपाल बसाइको छोटो अवधिमा उनलाई नेपालीपन झल्किने सामानको किनमेल मात्र गर्नु थिएन, बरु यहाँका रैथाने स्वादहरू- नेवारी ‘समयबजी’, हिमाली ‘थकाली’ र तराईको ‘मैथली’ खानाको तिर्सना मेट्नु पनि थियो।

विदेशमा रहँदा विभिन्न देशका साथीहरूसँग नेपालको विविधतापूर्ण खानपानको बारेमा वर्णन गर्ने उनको रहरलाई हामीले सहर्ष स्वीकार गयौँ।

तर, यी सबै भौतिक सुख र खानपानभन्दा माथि उनको एउटा अटल चाहना थियो,  नेपालका प्रसिद्ध शक्तिपीठहरूको दर्शन र आध्यात्मिक ऊर्जाको ग्रहण।

दक्षिणकाली माताको आँगनमा: जहाँ प्रकृति र अध्यात्म भेटिन्छन्

धार्मिक आस्थाले मानिसलाई संयमित र कृतज्ञ बनाउँछ। छोरीको विशेष आग्रहमा हामीले काठमाडौँको दक्षिणतर्फ अवस्थित प्रसिद्ध शक्तिपीठ ‘दक्षिणकाली’ जाने निधो गयौँ।

बिहानको झुल्के घामसँगै म, श्रीमती गायत्री, छोरी मनिषा, ज्वाइँ सन्तोष खनाल र नाति सक्षम खनाल जयवागेश्वरीबाट यात्रा सुरु गयौँ।

रत्नपार्क र त्रिपुरेश्वरको व्यस्त सडक छिचोल्दै झन्डै डेढ घण्टाको मोटर यात्रापछि हामी दक्षिणकाली मन्दिरको परिसरमा पुग्यौँ।

पहिलेको तुलनामा मन्दिर परिसर अहिले निकै व्यवस्थित र सफा देखिन्थ्यो। भक्तजनको सुविधाका लागि बनाइएका पदमार्ग र फूल–प्रसादका पसलहरूले एउटा धार्मिक पर्यटकीय गन्तव्यको आभास दिन्थे।

हामीले भक्तिपूर्वक फूल–प्रसाद किन्यौँ र जुत्ता–चप्पल तोकिएको स्थानमा राखी मूल मन्दिरतर्फ अघि बढ्यौँ। दर्शनार्थीहरूको लामो लस्कर थियो। पालो पर्खने क्रममा वरिपरिको प्राकृतिक सुन्दरताले मनलाई शान्त तुल्याइरहेको थियो।

दक्षिणकालीको मूर्ति पहिले खुला हुन्थ्यो, जहाँ देवीको पाउमै परेर ढोग्न पाइन्थ्यो। तर अहिले सुरक्षा र व्यवस्थापनका कारण मूर्तिअगाडि स्टिलको बार लगाइएको रहेछ।

निकै कसरत गर्दै लम्पसार परेर देवीको पाउ छोएर दर्शन गर्दा एउटा असीम ऊर्जा प्राप्त भएको महसुस भयो।

मन्दिरको काखमा बग्ने खोलाको कलकल आवाज र वरपरका हरिया डाँडाले मन लोभ्याइरहेको थियो। एउटा आध्यात्मिक तृप्ति बोकेर हामी त्यहाँबाट बिदा भयौँ।

ऐतिहासिक र पौराणिक सन्दर्भ

दक्षिणकाली मन्दिर काठमाडौँको फर्पिङमा अवस्थित छ, जुन लिच्छवीकालीन ऐतिहासिक बस्ती हो। काठमाडौँको रत्नपार्कबाट करिब १८ किलोमिटर दक्षिणमा रहेको यो स्थान ‘पूर्णवती गङ्गा’ र ‘उद्धारवती गङ्गा’ को पवित्र सङ्गममा अवस्थित छ।

जनश्रुतिअनुसार, प्राचीन समयमा दक्षिणकाली माता फर्पिङभन्दा माथिको डाँडामा आफ्ना गणहरूसहित विहार गर्नुहुन्थ्यो।

रातको समयमा मानिसहरू बाहिर निस्कँदा देवीका गणहरूले मानिसको सिकार गर्ने गर्दथे, जसले गर्दा बस्तीमा त्रास र अन्योल फैलिएको थियो।

यस समस्याबाट मुक्ति पाउन तत्कालीन तान्त्रिकहरूले कठोर साधना गरी देवीलाई प्रसन्न तुल्याए र मानव सिकार नगर्ने सर्तमा दुई नदीको दोभान (खोंच) मा बस्न राजी गराए। देवीलाई पशु बलि (राँगा, बोका, हाँस, भेडा) दिने प्रतिज्ञा गरेपछि मात्र मानव सिकार रोकिएको विश्वास गरिन्छ।


मुक्तिनाथ धाम: पनौतीमा मुस्ताङको झल्को

भोलिपल्ट हाम्रो यात्रा काभ्रेको ऐतिहासिक सहर पनौतीतर्फ मोडियो। त्यहाँ नवनिर्मित ‘मुक्तिनाथ धाम’ को दर्शन गर्नु थियो।

काठमाडौँको गौशाला, कोटेश्वर र भक्तपुर हुँदै हामी बनेपा पुग्यौँ र त्यहाँबाट पनौती लाग्यौँ। वि.सं. २०७४ मा निर्माण भएको यो धाम मुस्ताङको वास्तविक मुक्तिनाथ मन्दिरकै प्रतिलिपि शैलीमा बनाइएको रहेछ।

मुस्ताङ पुग्न नसक्ने तर मुक्तिनाथको दर्शन गर्ने अभिलाषा राख्नेहरूका लागि यो ठाउँ एउटा उत्तम विकल्प बनेको छ।

२२ वटा जलधाराबाट निरन्तर बगिरहेको चिसो पानीले मुस्ताङकै स्मृति ताजा गराउँथ्यो।

मन्दिरको अगाडि रहेको विशाल गरुडको मूर्ति र मन्दिरको शान्त वातावरणले छोरीलाई निकै प्रभावित पार्‍यो। मन्दिर परिसरमा रोटेपिङ खेलिरहेका केटाकेटीहरू देख्दा हामी पनि लोभियौँ र केही बेर रोटेपिङको मज्जा लिँदै बाल्यकालको सम्झनामा हरायौँ।


चण्डेश्वरी माता: दानव बधको जीवन्त कथा

मुक्तिनाथ धामको दर्शनपछि हामी बनेपास्थित प्रसिद्ध ‘चण्डेश्वरी मन्दिर’ तर्फ लाग्यौँ। यो मन्दिर नेवार समुदायको आस्थाको केन्द्र मात्र नभई सम्पूर्ण हिन्दू धर्मावलम्बीका लागि एक महत्त्वपूर्ण शक्तिपीठ हो।

रातो ढुङ्गाले बनेको यो भव्य प्यागोडा शैलीको तीनतले मन्दिरले प्राचीन नेपालको कला र वास्तुकलालाई जीवन्त राखेको छ।

मन्दिरको मुख्य ढोकामाथि चण्डेश्वरी माताले दानव ‘चण्ड’ को वध गरिरहेको कलात्मक तोरण देख्न सकिन्छ।

पौराणिक कथाअनुसार, दानव चण्डलाई कुनै पनि पुरुषले मार्न नसक्ने वरदान प्राप्त थियो। उसको अत्याचार बढेपछि माता चण्डेश्वरीले रौद्र रूप धारण गरी उसको वध गर्नुभएको थियो।

भनिन्छ, चण्डको मृत्यु हुँदा उसको पेटबाट एउटा शिवलिङ्ग निस्किएको थियो, जसलाई अहिले पनि मन्दिरको अगाडि सानो मन्दिरमा ‘चण्डेश्वर महादेव’ को रूपमा पूजा गरिन्छ। मन्दिर परिसरमा आफन्तको सम्झनामा ऐना चढाउने अनुपम परम्पराले हामीलाई अचम्मित तुल्यायो।


मैतीदेवी: पञ्चकुमारीको माइती र आस्थाको धरोहर

यात्राको अर्को दिन हामी काठमाडौँको मध्यभागमा रहेको मैतीदेवी मन्दिरतर्फ लाग्यौँ। जयवागेश्वरीबाट टेम्पो चढेर मैतीदेवी पुग्दा त्यहाँको चहलपहल बेग्लै थियो। मैतीदेवीलाई ‘पञ्चकुमारी’ को वासस्थान मानिन्छ।

किम्बदन्ती र इतिहास : मैतीदेवी मन्दिरको स्थापनाका बारेमा विभिन्न रोचक कथाहरू छन्।

एउटा कथाअनुसार, पाँचजना कन्याहरू आकाशमार्गबाट माइती जाँदै गरेको देखेर एक तान्त्रिकले आफ्नो शक्तिले उनीहरूलाई यहीँ रोकेका थिए।

अर्को कथाअनुसार, धोबीखोला (रुद्रमती) को किनारमा खेत खन्ने क्रममा एक किसानले शिला भेटाएका थिए, जसलाई देवीको रूपमा स्थापना गरियो।

यो मन्दिर राजा अंशुवर्माको पालामा (करिब वि.सं. ७४२) स्थापना भएको मानिन्छ। पछि श्री ३ भीम शमशेर र चन्द्र शमशेरले यस मन्दिरको जीर्णोद्धार र व्यवस्थापनमा ठूलो योगदान पुर्‍याएका थिए।

मन्दिर परिसरमा रहेको मसानघाटको पनि आफ्नै ऐतिहासिक महत्त्व छ, जहाँ नेवार समुदायका सात जातिहरूको दाहसंस्कार गरिन्छ।

मनकामना मन्दिरको दर्शनपछि मैतीदेवीको दर्शन गरेमा मात्र मनोकामना पूर्ण हुने जनविश्वासले गर्दा यहाँ सधैँ भक्तजनको भीड लाग्ने गर्दछ।


नक्साल भगवती: भव्यता र ऐतिहासिकताको सङ्गम

मैतीदेवीबाट हामी बिस्तारै पैदल यात्रा गर्दै नक्साल भगवतीको मन्दिर परिसरमा पुग्यौँ। सडकको छेउमै रहेको यो मन्दिर काठमाडौँको सबैभन्दा सुन्दर र शक्तिशाली शक्तिपीठमध्ये एक मानिन्छ।

नक्साल भगवतीको इतिहास करिब १४०० वर्ष पुरानो छ। लिच्छवी राजा शङ्करदेवको पालामा यो मन्दिरको निर्माण भएको पाइन्छ।

पौराणिक कथनअनुसार, राजा विक्रम केशरीको पालामा बनाइएको देवीको मूर्ति एक अनुपम कालीगढले बनाएका थिए। यही मूर्ति पछि नक्साल भगवतीको रूपमा स्थापित भयो।

नक्साल भगवतीको मूर्ति र पलाञ्चोक भगवती एवं शोभा भगवतीको मूर्ति एउटै कलाकारले बनाएको विश्वास गरिन्छ।

तीनतले प्यागोडा शैलीको यो मन्दिरको सुनौलो गजुर र काष्ठकलाले जोकोहीलाई आकर्षित गर्दछ। यहाँ दशैँको अष्टमी र नवमीका दिन विशेष पूजा र बलि चढाइन्छ।

मन्दिर परिसरमा रहेको प्राचीन इनारको जलले अभिषेक गर्दा मनमा शान्ति मिलेको महसुस भयो।


यसरी दक्षिणकाली, मुक्तिनाथ धाम, चण्डेश्वरी, मैतीदेवी र नक्साल भगवतीको यात्रासँगै हाम्रो यो धार्मिक भ्रमण समापन भयो। छोरी मनिषाका लागि यो यात्रा केवल मन्दिरहरूको दर्शन मात्र थिएन, यो त आफ्नो संस्कृति, मौलिकता र पारिवारिक संस्कारसँगको पुनर्जागरण थियो।

नेपालका मठ–मन्दिरहरू केवल ढुङ्गाका मूर्तिहरू होइनन्, यी त हाम्रा इतिहास, तन्त्र–मन्त्र, कला र सामाजिक एकताका प्रतीक हुन्।

विदेशको व्यस्त जीवनमा पनि आफ्नो धर्म र संस्कृतिप्रति अगाध श्रद्धा राख्ने छोरीको उत्साह देख्दा मलाई एउटा बाबुको रूपमा गौरव महसुस भयो। उनले यहाँ खिचेका तस्बिरहरू र सँगालेका अनुभवहरू विदेशमा रहेका साथीसङ्गीका लागि नेपाल चिनाउने एउटा माध्यम बन्नेछन्।

जब हामी साँझ घर फर्कियौँ, सबैको अनुहारमा एउटा अलौकिक चमक र शान्ति थियो। शक्तिपीठहरूको यो यात्राले हामीलाई केवल आशीर्वाद मात्र दिएन, बरु आत्मीयताको डोरोलाई अझ कसिलो बनाइदियो। नेपालीपनको यो सुगन्ध र देवीहरूको यो आशिष् छोरीको मनमा सधैँ ताजा रहोस्।

 

View : 159

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved