Biratnagar, Morang, Nepal
२६ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

तरुणदल आन्दोलन : सभापति बेपत्ता !

उद्‌घोष सम्वाददाता
२६ वैशाख २०८२, शुक्रवार

तरुण दलको कार्यालयमा तालाबन्दी गर्दै युवाहरू । तस्वीर : उद्घोष

विराटनगर । नेपाल तरुण दल मोरङको विवाद बढ्दै गएपछि अधिवेशनको माग गरिरहेका युवाहरूले सभापति लापता (हराएको) अभियान चलाएका छन् ।

नेपाली कांग्रेसको युवा संगठन तरुण दलको जिल्ला अधिवेशनको माग गर्दै युवाहरूले सभापतिको फोटो सामाजिक सञ्जालमा राखेर खोजीको अभियान चलाएका हुन् । 

तरुण दल मोरङ र सभापति हराएको ब्यङ्ग्यात्मक रुपमा अनुभूति गराउन सामाजिक सञ्जाल मार्फत लापता अभियान चलाइएको एक सदस्यले बताए ।

तरुण दल विराटनगर महानगर सदस्य आकाश घिमिरेले जिल्ला सभापति सञ्जय थापाको फोटोमा ठुलो अक्षरले लापता लेखेर जिल्लाका नेताहरूलाई फेसबुकमा ट्याग गरेका छन् ।

गत २१ गते तरुण दलको कार्यालयमा तालाबन्दी गरेर एक सय एक जनाको हस्ताक्षर सहित नेपाली कांग्रेस जिल्ला समितिलाई ज्ञापनपत्र बुझाउँदै युवाहरूले एक साताको अल्टिमेटम दिएका छन् ।

२७ गतेसम्ममा अधिवेशन नगरिए सामाजिक सञ्जालबाट सभापति खोज्ने, नेपाली कांग्रेस सहमहामन्त्री तथा तरुण दल निर्देशन समिति संयोजक महालक्ष्मी उपाध्याय र सदस्य सरिता प्रसाईंको मोबाइल नम्बरमा म्यासेज गरेर स्वतस्फुर्त जानकारी गराउने कार्यक्रम तय गरिएको छ । 

हालसम्ममा केन्द्रबाट प्राप्त भएको दुई हजार जना सदस्यको सदस्यता न्यायोचित रुपमा वितरण गरेर अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिनुपर्ने उनीहरूको माग छ ।

गत फागुन २ मा तरुण दलको केन्द्रीय समितिले पूर्ण सदस्यता वितरण गर्न परिपत्र गरेपछि चैत १४ गते मोरङमा २ हजार सदस्यता वितरण गर्ने निर्णय भएको थियो । 

वैशाख १४ सम्म निर्णय कार्यान्वयन नभएपछि जिल्लाका नेताहरूको उपस्थितिमा सात दिने चेतावनीसहित एक सय एक जनाले हस्ताक्षर गरेर पार्टी कार्यालयमा बुझाएको दलका सदस्य घिमिरेले बताए ।

महानगर सदस्य घिमिरे आगामी अधिवेशनमा सभापतिको उम्मेदवारी दिने तयारीमा छन् । 

तरुण दलको नगरमा भएका आन्दोलनमा उनले अगुवाई गर्दै आएका छन् । यस्तै हाल क्षेत्रीय सभापति रहेका मुकेश कार्की जिल्ला सभापतिको तयारी गर्दै आएका छन् । 

लामो अवधि दललाई बन्धक बनाएर अधिवेशन नगरी नेतृत्वले कार्यकर्तालाई अन्यौलतामा राखेको उनीहरुको भनाइ छ ।

View : 45

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved