विराटनगर । सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म विराटनगरमा पूरै विद्युत आपूर्ति बन्द रह्यो ।
रातिको हावाहुरीले ३३ केभीएको लाइन पूरै बन्द भएको हो । विद्युत प्राधिकरण स्रोतका अनुसार विराटनगरमा अहिलेसम्म यसरी विद्युत आपूर्ति पूर्ण रुपमा बन्द भएको थिएन ।
केही दिनयता दिनहुँजसो विद्युत आपूर्ति अनियमित हुन थालेको छ । वर्षासँगै आएको हावाहुरीका कारण विद्युत आपूर्तिमा अवरोध सिर्जना भएकाले अनियमित भएको छ ।
आइतबार अँएको हावाहुरीले ठाउँठाउँमा पोल ढाल्नुका साथै रुख ढलेर पनि विद्युत आपूर्ति बन्द भएको थियो ।
सोमबार राति पनि त्यही नियति दोहोरियो । सोमबार रातिको हुरीका कारण रातभर पूरै विराटनगर अन्धकार रह्यो ।
मंगलबार बिहानबाट मात्रै प्राधिकरणका कर्मचारीले मर्मत कार्य सुरु गरेर बिस्तारै सबै ठाउँमा विद्युत आपूर्तिको व्यवस्था नियमित बनाएका थिए ।
दुहबी ग्रीडका प्रमुख उकेश श्रेष्ठका अनुसार सो ग्रीड अन्तर्गत १५० मेगावाट विद्युत माग रहेकोमा मंगलबार ५० प्रतिशत मात्रै विद्युत आपूर्ति हुन सकेको थियो ।
पाँचथर, ताप्लेजुङ, इलामलगायतका पहाडी जिल्लामा शुक्रबार राति आएको वर्षाले पनि विद्युत आपूर्तिमा क्षति पुर्याएको थियो ।
पाँचथरको इवाखोला हाइड्रो पावर बगाएको छ । अहिलेको वर्षाले विभिन्न ठाउँमा ठूलो क्षति पुर्याएको छ ।
सोमबार रातिको हुरीले विराटनगर क्षेत्रमा झण्डै १५ घण्टा विद्युत आपूर्ति बन्द रह्यो ।
नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण कार्यालयका प्रमुख रामउद्गार साहका अनुसार विराटनगर क्षेत्रमा मात्रै दैनिक सय मेगावाट विद्युतको माग छ ।
सोमबार रातिको हुरीले धेरै ठाउँमा क्षति पुर्याएको थियो । मंगलबार अपरान्हसम्म पनि विद्युत प्राधिकरणले उद्योगमा लाइन दिन सकेको थिएन ।
विराटनगर वितरण केन्द्र अन्तर्गत बुढीगंगा गाउँपालिका, विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका र जहदा गाउँपालिका पर्दछन् । सबै मिलाएर विराटनगर वितरण केन्द्र अन्तर्गत ९० हजार २ सय ग्राहक छन् ।
View : 244
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved