विराटनगर । मोरङ कारागारका कैदीबन्दीको गर्मी भत्ता वापतको रकम गैरकानुनी रुपमा असुल गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेका गुण्डा नाइके अभिषेक गिरीलाई छाड्न माग गर्दै दायर बन्दीप्रत्यक्षीकरण रिट उच्च अदालत विराटनगरले खारेज गरेको छ ।
गिरीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङ र म्याद थपको आदेश दिने जिल्ला अदालत मोरङविरुद्ध सोनु आचार्यले उच्च अदालत विराटनगरमा रिट दायर गरेकी थिइन् । गिरीलाई बुधबार उच्च अदालत विराटनगरमा उपस्थित गराएर थुनामा राख्ने कि छाड्ने भन्ने बहस भएको हो ।
गिरीका तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत विराटनगरका न्यायाधीश गणेश ठाकुर र नारायणप्रसाद रेग्मीको इजलासले रिट खारेज गरिदिएको छ ।
रिट खारेज भएसँगै आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ परेका अभिषेक गिरीलाई अनुसन्धानका लागि हिरासतमा राख्ने जिल्ला अदालत मोरङको आदेशले निरन्तरता पाएको छ । उच्च अदालतले गिरीलाई थप अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने थप आदेश समेत दिएको छ ।
प्रहरीलाई जिल्ला अदालत मोरङले २०८३ असार १४ मा अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न म्याद थप गरेको थियो । उक्त आदेशविरुद्ध गिरीका तर्फबाट आचार्यले बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन् ।
अदालतले निवेदकको तर्फबाट प्रस्तुत कानुन व्यवसायी तथा जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङका प्रतिनिधिको बहस सुनेपछि अनुसन्धान प्रक्रिया कानुनअनुसार अघि बढेको देखिएको आदेशमा उल्लेख गरेको छ ।
आदेशमा विशेष सूचनाका आधारमा गिरीको घरमा खानतलासी गर्दा नगद तथा सुनका गरगहना बरामद भएको, बरामदी मुचुल्का तयार गरिएको तथा घटनासम्बन्धी अनुसन्धान जारी रहेको उल्लेख छ ।
अनुसन्धानका क्रममा प्राप्त तथ्यका आधारमा आपराधिक लाभसम्बन्धी कसुरमा हिरासतमा राखी थप अनुसन्धान गर्नु आवश्यक देखिएको अदालतको आदेशमा जनाइएको छ ।
उच्च अदालतले अनुसन्धान नसकिएको अवस्थामा हिरासतको आदेश बदर गर्न नमिल्ने भन्दै बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो ।
साथै, पाँच दिनभित्र अनुसन्धान सम्पन्न गरी मुद्दा चलाउने वा नचलाउने निर्णय गर्न र आवश्यक परे कानुनबमोजिम थप म्याद लिएर अनुसन्धान अगाडि बढाउन सकिने पनि आदेशमा उल्लेख गरिएको छ ।
View : 297
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved