Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

खडेरीले धान खेतमा धाँजा

उद्‌घोष संवाददाता
२९ असार २०८२, आइतवार

सिँचाइ अभावका कारण रोपाइँ गर्न नपाएपछि चिन्तामग्न अवस्थामा मोरङ कटहरी–१ हरिपुर बस्तीका ७३ वर्षीय किसान अर्जुन राजवंशी । फोटो : नवीन कर्ण/उद्घोष

विराटनगर । पर्याप्त बर्षात नहुँदा आकाशे पानीको भरमा धानखेती गर्दै आएका मोरङका किसानको खेतमा धाँजा फाटेको छ । सिँचाइको ब्यवस्था नरहेको तथा पर्याप्त बर्षात नहुँदा किसानको खेतखेतमै धानको बेर्ना सुक्न थालेको हो । 

मोरङ जिल्ला धान उत्पादनको हिसावले पकेट क्षेत्र मानिन्छ । 

नेपालमा धेरै धान फल्ने झापा जिल्लापछि मोरङको नाम आउँछ । तर यो वर्ष समयमै पर्याप्त वर्षा नभएपछि मोरङ जिल्लामा धान रोपाइँ ढिला भएको छ । 

आकाशे पानीको भर पर्नुपर्ने बाध्यताका कारण जिल्लाका अधिकांश खेतीयोग्य जमिन असारको अन्तिम सातासम्म बाँझै छन् । 

मोरङमा प्रायः जेठ महिनाबाट सुरु भई असारको दोश्रो हप्तासम्म वर्षे धानको रोपाइँ हुने गर्दछ । यद्यपि यो वर्ष पानीको अभावमा किसानले आफ्नो खेत बाँझै राख्न बाध्य छन् । 

आकाशे पानीको भरमा खेती गर्दै आएका मोरङको कटहरी गाउँपालिकाका अधिकांश किसानले हालसम्म रोपाइँ गर्न पाएका छैनन् । 

सिँचाइको व्यवस्था नहुँदा तथा मौसमी बर्षात समेत पर्याप्त नभएकाले धानको बेर्ना खडेरीका कारण खेतमै सुक्न थालेको कटहरी गाउँपालिका–१ हरिपुरका ७३ वर्षीय किसान अर्जुन राजवंशीले जानकारी दिए । 

खडेरीको कारण जमिन सुख्खा हुँदा धान रोपाइँ गरिएका जमिनसमेत अहिले चिरा–चिरा परेर फाटेका छन् । एकातिर आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता र अर्कोतर्फ रोपाईं गरेको धान समेत खेतैमा सुक्न थालेपछि किसानहरू दोहोरो मारमा परेका छन् । 

कटहरी–१ कै अशोक चौधरीले २०–२५ दिनको बिउ रोप्नुपर्नेमा पानी अभावका कारण डेढ महिना भइसक्दा पनि रोपाइँ गर्न नपाएको गुनासो गरे ।

कृषि विकास निर्देशनालयको तथ्याङ्कअनुसार असार २२ गतेसम्म कोशी प्रदेशको धान रोपाइँ हुने २ लाख ७६ हजार ३ सय ८६ हेक्टर क्षेत्रफलमध्ये २९ प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको देखिन्छ । 

तीमध्ये झापामा २१ प्रतिशत, सुनसरीमा २४ र मोरङमा ३१ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको उल्लेख छ । 

पानी कम परेका कारण विगतको तुलनामा यस वर्ष धान कम रोपाइँ भएको तथ्याङ्कमा उल्लेख छ । 

आउँदो सातासम्म पनि धानका लागि आवश्यक बर्षात नभए यस वर्षको उत्पादन नराम्ररी प्रभावित हुने अवस्था छ ।

View : 470

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved