प्रसिद्ध साधुसन्तलाई स्वागत गर्दै कार्यकारी निर्देशक विष्टलगायत । तस्वीरः उद्घोष
बराहक्षेत्र । सुनसरीको प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्रमा कात्तिक पूर्णिमाका अवसरमा लाग्ने कात्तिके मेलामा आगामी वर्षदेखि निशानयात्रा गरिने तयारी गरिएको छ ।
वर्षौंदेखि लाग्दै आएको मेलालाई विश्व प्रसिद्ध बनाउन निशानयात्राको तयारी गरिएकोे हो । यस वर्षको मेलामा आउने सन्त माहत्माहरूले धार्मिक परम्परा र संस्कृतिको संरक्षणका लागि निशान छाप तथा निशान यात्रालाई पनि विशेष महत्वका साथ सञ्चालन गर्नुपर्ने माग गरेका थिए ।
प्रस्तावित योजनाअनुसार आगामी वर्षदेखि भोलाजी मोडबाट बराहक्षेत्र नगरपालिका–२ को बयरवन हुँदै चतराको परिक्रमा गरी बाजागाजा र लावालस्करसहित पैदल निशान यात्रा सञ्चालन गर्ने तयारी गरिएको छ ।
यस वर्षको कात्तिके मेलामा चर्चित साधुसन्तसहित चार लाख भक्तजन आएको अनुमान गरिएको छ । हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म चलेको मेलामा नेपाल र भारतका साधुसन्तसहित यतिका संख्यामा भक्तजन सहभागी भएको मेला समन्वयकर्ता विराट बराहक्षेत्र विकास समितिको अनुमान छ ।
बराहक्षेत्र नगरपालिका–१ स्थित बराहक्षेत्र मन्दिर परिसरमा हरेक वर्ष लाग्ने मेलामा देश तथा विदेशबाट भक्तजन, साधु–सन्त र नागा बाबाहरूको सहभागिता थियो ।
बराहक्षेत्रको दर्शन र कोकाहा नदीमा स्नान गर्न प्रसिद्ध साधुहरूसहितको भिड थियो । मेलामा आउने सन्तहरूलाई सम्मान, व्यवस्थापन र धार्मिक परम्पराको संरक्षणमा विशेष ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ ।
यस वर्षको मेलामा भारतका प्रसिद्ध धार्मिकस्थल तथा अखडाका बाबाहरूको सहभागिता थियो । भारत आसामको कामख्या मन्दिरस्थित जुना आखडाका साधुहरूसमेत समूहमा आएका थिए । काठमाडौंस्थित पशुपति क्षेत्रको मृगस्थली अखडाबाट आएका देग्रा आदेश महाराजको प्रमुख आतिथ्यतामा भएको छलफलमा सन्तहरूले मेलाका लागि बिभिन्न सुझाव दिएका छन् ।
उनीहरूले आगामी वर्षदेखि मेलाको व्यवस्थापनमा सुधार गर्नुपर्ने विषय उठाए । समितिका कार्यकारी निर्देशक अविजाल विष्टले मेलाले धार्मिक पर्यटक भित्र्याउन मद्दत गरेको जानकारी दिदै आगामी वर्षहरूमा थप व्यवस्थित गर्दै लैजाने बताए ।
छलफलमा कात्तिक पूर्णिमाका अवसरमा बराहक्षेत्र आउने साधु–सन्त, महन्त तथा नागा बाबाहरूका लागि छुट्टै भेटी तथा दक्षिणाको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।
धार्मिक आस्था, परम्परा र सांस्कृतिक महत्व बोकेको कात्तिके मेलालाई व्यवस्थित बनाउन साधु–सन्तहरूले उठाएका माग तथा प्रस्ताव कार्यान्वयनमा विराट–बराहक्षेत्र विकास समितिको सहयोग र समन्वय आवश्यक रहेको साधुसन्तहरूले बताएका छन् ।
View : 38
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved