विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउन पहल गरिरहेका बेला कार्कीले त्यसको सामना पार्टीको आन्तरिक शक्ति संघर्षबाट नभई संवैधानिक र संसदीय प्रक्रियाबाट गर्ने रणनीति बनाएका छन् ।
पार्टीभित्र आफूविरुद्ध भइरहेको प्रयासलाई अस्वीकार गर्दै आएका उनले मुख्यमन्त्री पदको निरन्तरताका लागि प्रदेशसभाको अंकगणित र संवैधानिक व्यवस्थालाई आधार बनाउने भएका छन् ।
कार्कीलाई मुख्यमन्त्रीबाट हटाएर अर्को व्यक्तिलाई नेतृत्वमा ल्याउन एमालेभित्र पुनः छलफल र दबाब बढेको छ ।
अध्यक्ष ओली र प्रदेश इन्चार्ज शेरधन राईसहितका नेताहरू यसमा सक्रिय भएपछि मुख्यमन्त्री परिवर्तनको विषय फेरि एमालेको आन्तरिक राजनीतिमा प्रवेश गरेको हो ।
तर, संसदीय दलको नेता परिवर्तन गर्दैमा मुख्यमन्त्री पद स्वतः परिवर्तन नहुने संवैधानिक व्यवस्थाका कारण यो प्रयास सहज देखिँदैन ।
एमालेका प्रदेशसभा सदस्य रेवतीरमण भण्डारीले अहिले सरकार परिवर्तनको विषयलाई बेमौसमी बाजाको संज्ञा दिँदै यसको प्रतिवाद संवैधानिक र राजनीतिक दुवै प्रक्रियाबाट गरिने बताएका छन् ।
‘अहिले एमालेप्रति जनतामा नकारात्मक दृष्टिकोण सिर्जना भएको छ । यस्तो परिवेशमा हरेक प्रदेशका सरकारलाई गिजोल्ने र त्यसबाट एमालेलाई बाहिर निकाल्ने तथा नेता–कार्यकर्ताबीच नै लडाउने जुन खेल नेतृत्वबाट भएको छ, यो अत्यन्तै चिन्ताको विषय हो,’ भण्डारीले भने ।
कार्कीलाई हटाउने प्रयास यसअघि पनि भएको थियो । करिब दुई महिनाअघि अध्यक्ष ओलीसहितका नेताहरूले यस विषयमा छलफल अघि बढाएका थिए ।
संसदीय दलमा बहुमत जुटाएर कार्कीलाई दलको नेताबाट हटाउने र सरकारको नेतृत्वसमेत परिवर्तन गर्ने प्रयास भए पनि आवश्यक राजनीतिक सहमति र संवैधानिक प्रक्रियाको जटिलताका कारण त्यो निष्कर्षमा पुग्न सकेन ।
अहिले फेरि त्यही विषय उठेपछि कार्कीले आफूलाई प्राप्त संवैधानिक जिम्मेवारी र प्रदेशसभाको प्रक्रियाबाटै त्यसको सामना गर्ने तयारी गरेका हुन् ।
कार्कीलाई हटाउने प्रयासमा एमालेभित्रको संसदीय अंकगणित मात्रै निर्णायक हुने अवस्था छैन । मुख्यमन्त्री पदको निरन्तरताको प्रश्नमा संविधानले निर्धारण गरेको प्रक्रिया अंक गणितभन्दा बेग्लै छ ।
कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन् । यो व्यवस्थाअनुसार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्ने सदस्य मुख्यमन्त्री बन्न सक्छ ।
त्यसैले एमाले संसदीय दलमा बहुमत जुटाएर कार्कीलाई नेताबाट हटाइयो भने पनि त्यसले मुख्यमन्त्री पद रिक्त गराउँदैन ।
कोशी प्रदेशमा उपसभामुखबाहेक एमालेका ३९ जना प्रदेशसभा सदस्य रहेको अवस्थामा उनीहरूले संसदीय दलभित्र बहुमत पुर्याउन सक्ने सम्भावना भए पनि त्यसले मात्रै प्रदेश सरकार परिवर्तनको आधार तयार गर्दैन ।
मुख्यमन्त्री परिवर्तनका लागि संविधानले तोकेको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । यद्यपि कार्की पक्ष आफूसँग दलभित्र पनि बहुमत रहेको दाबीमा छ ।
कार्कीले दुई महिनाअघि नै प्रदेशसभाबाट विश्वासको मत लिइसकेका छन् । त्यसैले उनलाई हटाउने विषयमा पार्टीभित्रको असन्तुष्टि मात्र पर्याप्त हुँदैन ।
सरकारको समर्थन फिर्ता, विश्वासको मत र नयाँ सरकार गठनको संवैधानिक आधारसमेत आवश्यक हुन्छ ।
मुख्यमन्त्री कार्कीका लागि अर्को राजनीतिक आधार सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को धारणा पनि हो ।
नेकपाले अहिलेको अवस्थामा प्रदेश सरकारलाई अस्थिर बनाउने गरी नेतृत्व परिवर्तनको बहस अघि बढाउन नहुने बताउँदै आएको छ । एमालेभित्रै नेतृत्व परिवर्तनको प्रयास भइरहेको अवस्थामा नेकपाको यो धारणाले कार्कीलाई केही राजनीतिक आधार दिएको छ । एमालेका असन्तुष्ट सांसदहरूले मात्रै सरकार परिवर्तनको पहल गरे पनि प्रदेशसभामा अर्को सरकार गठन गर्न आवश्यक ४७ मत जुटाउनुपर्ने हुन्छ ।
कार्कीलाई हटाएर नयाँ मुख्यमन्त्री चयन गर्न एमालेले आफ्नै सांसदको संख्या मात्र देखाएर पुग्दैन । अन्य दलको समर्थन पनि आवश्यक पर्छ । नेकपाले तत्काल सरकार परिवर्तनको पक्षमा नरहेको बताइरहेका बेला एमालेभित्रको प्रयासले प्रदेशसभामा आवश्यक बहुमत जुटाउन थप चुनौती सामना गर्नुपर्ने देखिन्छ ।
संविधानको अन्तिम विकल्पका रूपमा गठन भएको सरकारलाई विस्थापित गर्न अर्को सरकार गठनको आधारसमेत आवश्यक हुने भएकाले यो विषय पार्टीको निर्णयबाट मात्रै टुंगिने अवस्था छैन ।
राष्ट्रिय कार्यकर्ता भेलापछि अध्यक्ष ओलीको कार्यशैलीप्रति पार्टीका केही नेता तथा कार्यकर्ता असन्तुष्ट रहेको नेताहरू बताउँछन् । केन्द्रमा शंकर पोखरेल र पूर्वराष्ट्रपति विद्या भण्डारीबीचको सम्बन्ध तथा राजनीतिक समीकरणबारे पनि एमालेभित्र चर्चा भइरहेको छ । पोखरेल विद्या भण्डारीलाई नेतृत्वमा स्वीकार गरेर अघि बढ्न तयार रहेको दाबीसमेत केही नेताले गरेका छन् ।
कोशीमा कार्कीले पार्टी रूपान्तरण र जागरणको बहसमा आफूलाई फरक ढंगले प्रस्तुत गर्दै आएको र त्यसले ओलीसँगको दूरी बढाएको केही नेताहरूको बुझाइ छ ।
त्यस्तै, आदिवासी जनजाति समुदायबाट मुख्यमन्त्री बनाउनुपर्ने तर्क पनि कार्कीको विकल्प खोज्ने समूहले अघि सारेको छ । तर, यस विषयमा असन्तुष्ट नेताहरूले कोशी प्रदेशको नामकरणका बेला ओलीले लिएको अडानसँग अहिलेको तर्कको सम्बन्धबारे प्रश्न उठाएका छन् ।
‘यदि आदिवासी जनजाति समुदायबाट मुख्यमन्त्री बनाउनुपर्ने थियो भने कोशी प्रदेशको नामकरणका क्रममा ओलीले किन दबाब दिए ? अहिले उनलाई आदिवासी जनजाति समुदायको व्यक्ति चाहिने, तर कोशी प्रदेशको नामबाट पछि नहट्ने उनको भनाइ तर्कसंगत देखिँदैन,’ एक नेताले भने ।
अहिलेको विवादको निकास पार्टीभित्रको असन्तुष्टि वा नेताहरूबीचको आरोपप्रत्यारोपबाट मात्र सम्भव देखिँदैन । एमालेले संसदीय दलमा नेतृत्व परिवर्तन गरे पनि मुख्यमन्त्री परिवर्तनका लागि प्रदेशसभाको संवैधानिक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
कार्कीले पनि यही प्रक्रियालाई आफ्नो प्रतिरक्षाको आधार बनाएका छन् ।
View : 58
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved