Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

गगनलाई देउवाको सुझाव ‘धेरै बोल्ने आफू सकिन्छ, कम बोल्नेले अरुलाई सक्छ’

उद्‌घोष सम्वाददाता
२२ मंसिर २०८१, शनिवार

विराटनगर । नेपाली कांग्रेस कोशीको पहिलो प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रममा शनिबार वक्ताहरुको लर्को थियो । त्यसैले वक्ताहरुका लागि निश्चित समय दिइएको थियो ।

पार्टीका पदाधिकारीहरुका लागि १३ मिनेटको समय तोकिए पनि महामन्त्री गगन थापाले केही समय बढी नै लगाएर बोले।

आफ्नो मन्तव्य टुंग्याउने बेलामा उनले ठट्टा गर्दै भनेका थिए ‘हाम्रो सभापतिजी थोरै बोल्नुहुन्छ। उहाँको पनि थोरै समय मैले लिएको हुँ ।’

सभापतिदेखि पार्टीका अन्य धेरै नेताहरुलाई प्रत्यक्ष–अप्रत्यक्ष रुपमा ‘थर्काउँदै’ बोलेका थापाको अभिव्यक्तिमा सहभागीहरुले पटकपटक समर्थनको ताली बजाए ।

अन्त्यमा जब सभापति शेरबहादुर देउवाले कम बोल्ने भएकैले आफूले उनको पनि समय लिएको बताए सहभागी मात्रै होइन देउवा स्वयम् पनि हाँसे ।

सभापति देउवाले आफ्नो बोल्ने पालोमा गगनको ठट्टालाई उस्तै शैलीमा जवाफ फर्काए । देउवाको प्रत्युत्तर थियो ‘महामन्त्रीले मलाई कम बोल्ने भन्नुभयो । ठीकै हो । बढी बोल्ने मानिस आफू सकिन्छ । तर, कम बोल्नेले अरूलाई सक्छ ।’ 

सभापति देउवाले यसो भन्दा पनि सहभागीहरु हाँसे । संस्थापन पक्षका धेरैजसो नेताले प्रदेश सम्मेलनमा शेखर कोइराला अनुपस्थित रहेको बारे टिप्पणी गरे। शेखर टिमकै एक जना मुख्य सदस्य गगन थापाले पनि कोइरालाप्रति असन्तोष प्रकट गरे। यद्यपि सभापति देउवाले भने शेखर कोइरालाबारे कुरै उठाएनन् । बरु देउवाले प्रधानमन्त्री केपी ओली र सरकारले राम्रो काम गरेको भनेर प्रशंसा गरे ।

‘अहिले बिआरआईको कुरा उठिरहेको छ। सुझबुझपूर्ण रुपमा सम्झौता भएको छ, उनले भने ‘ऋणभन्दा पनि अनुदानको रूपमा सुविधा लिने विषय हो। ओलीजीले त्यही ढंगले सम्झौता गर्नुभयो। हामीले अब धेरै ऋण लिएर परियोजना चलाउने अवस्था नभएको भनेको हो ।’

अहिलेको अवस्थामा कोहीसँग पनि नेपालले ऋण लिने अवस्था नभएको देउवाको भनाइ थियो ।

‘नेपालले विकासका निम्ति एडीबी, आईएमएफलगायत अन्तर्राष्ट्रिय दातृनिकायसँग ऋण लिएको छ, लिने गरेको छ तर अब धेरै लिन सक्ने अवस्था छैन ।’

देउवाले  कांग्रेस र एमाले दुई ठूला पार्टी मिल्दा स्थायित्व हुने विश्वास प्रकट गरे। ‘ओलीजीले राम्रो काम गर्नुभएको छ’, देउवाले भने ‘राम्रोलाई राम्रो भन्नुपर्छ । बीआरआईमा पनि राम्रो सहमति भएको छ। अब यो गठबन्धन पूरा समयसम्म रहन्छ । केही समस्या भए छलफल हुन्छ ।’

शेखर कोइराला अनुपस्थित रहेको प्रदेश भेलामा महामन्त्री विश्वप्रकाश शर्माले शुभकामना सन्देश पठाएका थिए । उनले ६ महिना अघि नै निर्धारण भएको खुम्बु यात्रामा आफू गएको उल्लेख गर्दै  सम्मेलन सफलताको कामना गरेर लिखित सन्देश पठाएका थिए। उनको सन्देश सम्मेलनमा वाचन गरेर सुनाइएको थियो ।

View : 210

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved