Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

त्रिविको बेवास्ताले बीबीएसका विद्यार्थी मारमा

उद्घोष सम्वाददाता
५ वैशाख २०८१, बुधवार

विराटनगर । त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकाय अन्तर्गत स्नातक तह व्यावसायिक अध्ययन (बीबीएस) का विद्यार्थीहरु चौतर्फी मारमा परेका छन् ।  त्रिवि परीक्षा नियन्त्रण कार्यालयले समयमा परीक्षा नगर्ने र परीक्षाफलसमेत समयमा प्रकाशन नगर्दा ती विद्यार्थीहरु चौतर्फी मारमा परेका हुन् ।

विसं २०७७ मा भर्ना भएकाले चार वर्षमा दोस्रो वर्षको परीक्षाफल पर्खिरहेका छन् ।  २०७७ भदौमा बीबीएस प्रथम वर्षमा भर्ना भएका ती विद्यार्थीहरु लोकसेवालगायत अन्य परीक्षाको तयारी गर्ने कि क्याम्पसकै पढाइमा होमिने वा यस्तै रहिरहने हो भन्ने अन्योलमा परेका छन् । कतिपय त पढाइ छोडेर वैदेशिक रोजगारीमा जानेकि भनेर रणभुल्लमा समेत परेका छन् । 

वार्षिक प्रणाली अनुसार त्रिविले बीबीएसको पढाइ सकी परीक्षाफल निकाल्ने काम  चार वर्षभित्रमा गरिसक्नु पर्ने हो । सो अनुसार २०७७ भदौमा बीबीएस भर्ना भएका विद्यार्थीहरु अहिले चौथो वर्षको परीक्षाको तयारीमा हुनु पर्नेमा तेस्रो वर्षको परीक्षा फर्मको पर्खाईमा छन् । परीक्षा फर्म नखुल्दा  भौतारिरहनु परेको उनीहरुको गुनासो छ । 

लोकसेवाको तयारी गर्न बस्दा बीबीएसको परीक्षा तालिका आउला भन्ने डर, तयारी नगरौं त भौतारिरहनु परेको छ । त्रिविको यस्तो रवैयाले टाढा घर भई विराटनगर भाडामा बस्दै आएकाहरुलाई झन मार परेको छ । बेलामा परीक्षा नहुँदा त्यक्तिकै भाडामा बस्न पनि अप्ठ्यारो हुँदा धेरैले पढाइ समेत छाड्ने गरेका छन् ।  

सप्तरीको राजविराज नगरपालिका –४ घर भई महेन्द्र मोरङ तेस्रो वर्षमा पढ्दै आएका सन्तोष खड्का त्रिविले समयमानै परीक्षाका कार्य नगर्दा विद्यार्थी ठूलो मारमा परेकाले विद्यार्थीमा नैराश्यता बढ्दै गएको बताए ।

एकातिर चार वर्षमा पनि तेस्रो वर्षको परीक्षाको सुरसार नहुनु अर्कोतर्फ विनाकाममा भौतारिएर हिड्नका लागि विराटनगरमा मंहगो घरभाडा तिर्नुपर्दा कति नैराश्यता बढेको छ मापन गर्न गाह्रो हुँदै गएको उनको गुनासो छ ।

उदयपुरको त्रियुगा–६ का दीपककुमार खड्का पनि तनावमा छन् । ‘बीबीएस पढ्दापढ्दै उमेर गैसक्यो कहिले स्नातक उत्तीर्ण गरेर लोकसेवा तयारी गर्नु ? न यता न उताको भैयो’ उनी आफ्नो पिर पोख्छन् ।

यस्तै बीबीएस दोस्रो वर्षको पढाइ  छ महिना अघि सकेर परीक्षाको तयारीमा बसेका पनि परीक्षा दिन नपाउँदा दुखी छन् । गत चैतमा परीक्षा तालिका निस्किए पनि त्रिवि परीक्षा नियन्त्रण कार्यालयको लापर्वाहीले गर्दा सबैको परीक्षा फर्म भरिदा र तालिकामा कैफियतले गर्दा सो परीक्षा बैशाख तेस्रो हप्ता हुने गरी सरेको छ ।

उता नयाँ दोस्रो वर्षका विद्यार्थीको पढाइ सकिन आँटेको तर अगाडिकै छिमल (ब्याच)को परीक्षा नहुँदा उनीहरु पनि आफ्नो पनि त्यस्तै हालत होला भनेर चिन्तित हुन थालेको खड्का बताउँछन् ।

त्रिविमा चार लाख विद्यार्थी भएको बताइन्छ । जसमध्ये करिव एक लाख नै बीबीएस अध्ययनरत छन् । तर बीबीएसको परीक्षा समयमा नै नगरी दिंदा बीचैमा पढाइ छोड्ने धेरै छन् र उत्तीर्ण प्रतिशत दश प्रतिशत भन्दा तल छ । जसको कारण विद्यार्थीमाथि त्रिविले खेलवाड गरिरहेको अभिभावक शंकर दाहालले आरोप लगाए ।

View : 226

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved