विराटनगर । इलामको रोङ गाउँपालिकाले आइतबार पनि सरकारी कार्यालय बन्द हुने संघीय सरकारको निर्णय अस्वीकार गरेको छ ।
सोमबार बसेको गाउँ कार्यपालिका बैठकले बुधबारदेखि लागू हुनेगरी सामुदायिक विद्यालयबाहेक अन्य कार्यालयहरू पुरानै समय तालिकामा संचालन हुने निर्णय गरेको हो ।
गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले पहाडी जिल्लाको भौगोलिकता अनुसार सेवा प्रवाह गर्न नसकिने भन्दै आइतबार पनि बिदा दिएर सोमबारदेखि विहान ९ बजेबाट कार्यालय सञ्चालन गर्नु अव्यवहारिक भएको बताए ।
उनले ९ बजे कार्यालय लाग्ने नियम लागू भए पनि त्यस्तो नियम लागू भएको मितिदेखि हालसम्म रोङ गाउँपालिकाको कुनै कार्यालयमा १० बजेअगाडि नै सेवाग्राही उपस्थित नभएको दाबी गरे ।
‘नेपाल विश्वकै धेरै सार्वजनिक विदा दिने देशहरूमा चिनिन थालेको छ’ उनले भने, ‘हामीले अब प्रविधिमैत्री सेवाप्रवाह गर्न ध्यान दिनुपर्छ, हाम्रो पालिकामा आइतबार विदा दिने र सोमबार विहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने अभ्यास असफल भएकोले यो निर्णय अस्वीकार गरेका छौं ।’
उनले आगामी असार मसान्तपश्चात भने निर्णयमा पुनर्विचार गर्न सकिने बताए । असार मसान्तसम्म गाउँपालिकामा सम्पन्न गर्नुपर्ने धेरै योजनाहरू रहेको र पहाडी जिल्लामा लगातारको विदाले समय अभाव हुने अध्यक्ष स्याङ्बोले बताए ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने, सरकारी खर्च कम गर्न कर्मचारीलाई दुई दिन आराम दिने र अन्तर्राष्ट्रिय विदाको अभ्यास अनुसार कार्यालय संचालन गर्ने भन्दै सोमबारदेखि शुक्रबारसम्म विहान ९ देखि बेलुका ५ बजेसम्म सरकारी कार्यालय संचालन गर्ने निर्णय गरेको थियो ।
अध्यक्ष स्याङ्बोले एशियाली देशहरूमा सार्वजनिक बिदा धेरै हुने प्रवृत्ति हटाउनु पर्ने माग गरे ।
त्यस्तै, जर्मनी, फ्रान्स लगायतका युरोपका धेरै देशमा सार्वजनिक विदा कम भए पनि वार्षिक तलबसहितको छुट्टी धेरै हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
View : 100
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved