विराटनगर । अभिव्यक्ति स्वतन्त्रता नै संकुचनमा पार्ने गरी सरकारले पछिल्ला दिनमा समाचार संस्थामा प्रवेश गर्ने र पत्रकारमाथि धरपकड गर्ने कार्य जारी राखेपछि मोरङका पत्रकारहरूले सामुहिक गिरफ्तारीको माग गरेका छन् ।
नेपाल पत्रकार महासंघले आह्वान गरेको आन्दोलनको कार्यक्रम अनुसार बुधबार पत्रकार महासंघ मोरङको कार्यालयबाट र्याली निकालेर जिल्ला प्रशासन कार्यालय मोरङको मूल प्रवेशद्वारमा पुगेका पत्रकारहरूले सवै पत्रकारलाई पक्राउ गर्न माग गरेका हुन् ।
महासंघले पत्रकारहरूमाथि भइरहेका धरपकड, गिरफ्तारी र प्रेस स्वतन्त्रतामाथिको खुला हस्तक्षेपको विरोध गर्दै आएको छ । विरोध कार्यक्रम अन्तरगत नै मोरङका पत्रकारहरूले पनि ‘पत्रकारलाई पटक–पटक होइन, एकैपटक सामूहिक गिरफ्तार गर’ भन्दै सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनमा उत्रिएका पत्रकारहरूले समाचार संकलन र सम्प्रेषणको कामलाई अवरोध नगर्न आग्रह गर्दै त्यस्तो कार्य नरोकिए देशभरीका पत्रकार सडक आन्दोलनमा उत्रिने चेतावनी दिए ।
धर्नापछिको कोणसभालाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाल, कोशी प्रदेश अध्यक्ष भरत खड्का र मोरङ अध्यक्ष सुशीला पाठकले सम्बोधन गरेका थिए ।
View : 34
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved