विराटनगर । कैदीबन्दीले पाउने सरकारी भत्ता असुली गरेको आरोपमा विराटनगरका अभिषेक गिरी पक्राउ परेपछि उनको समर्थन र बिरोधमा शनिबार मोरङ कारागार अशान्त थियो ।
आगजनी र नाराबाजीमा दिन बिताएका कैदीबन्दीलाई आन्दोलनबाट पछाडि सार्न प्रशासनले लामो मेहनत गर्नु परेको छ ।
गिरीलाई विराटनगर–८ स्थित उनको निवासबाट शनिबार विहान मोरङ प्रहरीले पक्राउ गरपछि मोरङ कारागार भित्रका कैदीबन्दीले हङ्गामा गरेका थिए ।
कारागारको बी ब्लकका कैदीबन्दीले गिरीको रिहाइको माग र ए ब्लकका कैदीबन्दीले कारवाहीको माग गर्दै चर्को नाराबाजी गरे । बी ब्लकका कैदीबन्दीले भित्रको भेटघाट कक्षमा आगजनी नै गरेका थिए ।
सोही कारागारमा चौकीदार (कैदीबन्दीका प्रमुख) रहेर साढे तीनवर्ष अघिनै छुटेका गिरीको समर्थनमा किन यहाँ आन्दोलन भयो ? भन्ने थप जिज्ञासा प्रशासनमा उब्जियो । कारागारभित्र गिरीका समर्थकहरू पनि रहेका छन् ।
कैदीबन्दीले पाउने भत्ता र त्यहाँभित्र काम गरेर पाउने पारिश्रमिकमा उनीहरूको पनि केही हिस्सा भाग लाग्ने गरेकाले समर्थनमा आन्दोलन भएको सुरक्षा निकायको अनुमान छ ।
यो विषयमा थप अनुसन्धान आवश्यक रहेकाले प्रमुख जिल्ला अधिकारी, प्रहरी र सशस्त्रका जिल्ला प्रमुख, कारागार प्रमुखलगायतले आन्दोलनकारीलाई सम्झाउन लामो कसरत गरे । गिरीको डरका कारण पनि समर्थन गरेको पाइएको छ ।
गिरीको समर्थन नगरे जेलभित्रै आक्रमण हुने र छुटेर बाहिर निस्किदा पनि असुरक्षित रहनुपर्ने भयले उनीहरूले समर्थनमा आन्दोलन गरेको प्रहरी स्रोतले बताएको छ ।
‘आरोपीको समर्थन गर्दा तपाईहरूलाई पनि अपराधलाई संरक्षण गरेको आरोप लाग्छ, उसलाई कारवाही भए अबदेखि तपाईहरूलाई उसले धाकधम्की दिने, बन्धक बनाउने बन्द हुन्छ’ मोरङ कारागारका प्रमुख राजन घिमिरेले कैदीबन्दीलाई सम्झाइएको वाक्य सुनाए ।
आन्दोलनबाट पछि हट्न राति ९ बजे कैदीबन्दी तयार भए । त्यसका लागि उनीहरूलाई आश्वासन दिन लामो समय खर्चनु परेको थियो ।
एक सुरक्षा अधिकृतका अनुसार, राति भाँडा र थाल ठटाएर आन्दोलन गरिरहेका कैदीबन्दीलाई सम्झाउन चौकीदारलाई पहिले सम्झाउनु परेको थियो । सम्झाउँदा नमानेपछि चौकीदारलाई धम्की पनि दिनु परेको थियो ।
कैदीबन्दीले बाहिरको मानिसको समर्थनमा यतिका नाराबाजी गरेपछि प्रजिअ युवराज कट्टेलले ‘तपाईहरूको दुःख छिनेर खानेको दास बन्नु हुन्छ ? बरू बचेको पैसा घरमा पठाउनु’ भनेका थिए ।
प्रजिअबिरूद्ध मुर्दावादको नारा लगाएका कैदीबन्दीलाई सम्झाउन उनी आफैं अघि सरेका थिए ।
प्रजिअ कट्टेलले भने— ‘तपाईंले दुःख गरेको पैसा छिनेर खाने कसैलाई अधिकार छैन, भत्ताको १३ लाख ४० हजार रूपैयाँ छ भने देखाऊ, नभए भन, सत्य बोल भनेर सम्झाइयो ।’
अपराधको अनुसन्धान गर्दा बिरोध भए कारागारभित्र छिरेर थप अनुसन्धान थालिने उनले चेतावनी दिएका थिए ।
कारागार प्रमुख घिमिरेका अनुसार जेलभित्र उत्पादन भएर बिक्री भएको गलैंचा र मुढाको रकम गिरीलाई जाने गरेको देखिएको छ ।
रकमका लागि गिरीलाई कारागारमै कार्यरत कार्यालय सहयोगी शिवचरण यादवले सहयोग गरिरहेको देखिएको छ ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । कारागारभित्र दैनिक उपभोग्य सामग्री पुर्याउने दीपक कार्की र विजय कामत पनि पक्राउ परेका छन् ।
गिरीसम्म कारागार भित्रको आम्दानी पुर्याउन कार्की र कामतको भूमिका पनि रहेको हुनसक्ने प्रहरीको अनुमान छ । कैदीबन्दीले पाएको जनही २ हजार ५ सय रूपैयाँ गर्मी भत्ता गिरीले लगेको प्रजिअ कट्टेललाई सूचना दिइएको थियो ।
कारागारका चौकीदार चञ्चल बर्मनले कैदीबन्दीबाट संकलन गरेको रकम आपूmले नै गिरीलाई पुर्याइ दिएको स्वीकार गरेपछि प्रहरीले गिरीलाई पक्राउ गरेको थियो । गिरी अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष जेल सजाय पाएर २०७९ मा छुटेका थिए ।
केहीवर्ष अघि गिरी सोही कारागारमा चौकीदारका रूपमा रहेका बेला जेल सरूवाको प्रयास गरिंदा यसरी नै कैदीबन्दीले आगजनी र तोडफोड गरेका थिए ।
चौकीदार रहेका बेला गिरीले कैदीबन्दीका लागि जेलभित्र सञ्चालन गरेका घरेलु उद्योग हालसम्म सञ्चालित छन् ।
त्यसबाट आउने मुनाफा हाल पनि गिरीलाई पठाउने गरिएको बताइएको छ ।
View : 74
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved