Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

निर्माणाधीन पक्की पुल पुरिएर बनेको बाँधले थुनियो दुधकोसी (फोटो)

थुलुङ दुधकोसी गाउँपालिका–२ का वडाध्यक्ष युजन बस्नेतले भने दुधकोसीमा निर्माणाधीन पुल नै पुरिएको र उक्त स्थानमा एक किलोमिटर पानी जमिरहेको बताए ।
उद्‌घोष संवाददाता
४ साउन २०८२, आइतवार

विराटनगर । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका–२ र ४ जोड्ने दुधकोसी नदीमा निर्माणाधीन पक्की पुल सिखु खोलाबाट आएको गेग्र्यानयुक्त बाढीले पुरिएपछि दुधकोसी नदी थुनिएको छ ।

सोलुखुम्बुबाट खोटाङ जोडिने काङेल बात्तिम–वादे जुबु सडक खण्डमा कोशी प्रदेश सरकारको बहुवर्षे ठेक्काबाट निर्माणाधीन पक्की पुल पुरिँदा दुधकोसी नदी झण्डै एक किलोमिटरसम्म पानी जम्ने गरी थुनिएको छ ।

सोलुखुम्बुका पूर्व प्रदेशसभा सदस्य उत्तम बस्नेतले सिखु खोलाको लेदो र गेग्र्यानसहितको बाढीले निर्माणाधीन पक्की पुलको एउटा स्पानको अधिकांश खण्ड पुरिएर दुधकोसी नदी थुनिएको जानकारी दिए ।

केही दिनअघि नै सिखु खोलाको बाढीले निर्माणाधीन पुलको आधा भाग पुरिएको र गएराति थप बाढीले पुल पुरिनुका साथै पिलरमा समेत क्षति पु¥याएको उनले बताए ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अ‍नोज कुमार घिमिरेले भने दुधकोसीमा छेउको अर्को खोलाबाट ढुंगा–गिट्टीसहितको बाढी आएर ‘ब्लक’ भएको सत्य भए पनि त्यसलाई खोलिसकेको र अहिले अवस्था सामान्य रहेको दाबी गरेका छन् ।

‘पालिकासँगको समन्वयमा ब्लक भएको ठाउँमा खोलिएको छ, हिजो राति ब्लक भएको थियो, स्थानीयलाई सतर्क रहन जानकारी गराइएको छ, अहिले नै खतरा छैन,’ उनले भने ।

तर थुलुङ दुधकोसी गाउँपालिका–२ का वडाध्यक्ष युजन बस्नेतले भने दुधकोसीमा निर्माणाधीन पुल नै पुरिएको र उक्त स्थानमा एक किलोमिटर पानी जमिरहेको बताए ।

पुल पुरिएर बाँधजस्तै बनेको उनले जिकिर गरे । उक्त स्थानको पारीपट्टि (वडा नम्बर ४ तर्फ) पहिरो खसेको खण्डमा दुधकोसी पूर्ण रूपमा थुनिने जोखिम रहेको बताए । घटनाबारे आफुले सम्बन्धित निकायहरूमा जानकारी पनि गराइसकेको बताए ।

‘दुधकोसीमा अर्को खोलाले पुल पुरेको छ, पुलको स्पान पुरिएपछि बाँधजस्तै बनेको छ, माथिल्लो भागमा एक किलोमिटरजति पानी अहिले पनि जमिरहेको छ,’ वडाध्यक्ष बस्नेतले भने, ‘यदि दुधकोसीमा पानी बढ्दै गएर बाढी आएको खण्डमा तटीय क्षेत्रमा जोखिम हुन सक्छ, ८६ मेगावाटको सोलुखोला–दुधकोसी हाइड्रोको पावर हाउस नै जोखिममा पर्न सक्छ ।’

पहिले पिँजिएर बग्ने दुधकोसी अहिले वडा नम्बर २ तिरबाट बगेर आएको सिखु खोलाको गेग्र्यानले वडा नम्बर ४ तर्फ धकेलिएको जनाइएको छ । पुल पुरिएका कारण खोलाको सतह नै माथि उठेको छ ।

‘बाढीले पुल पुरिएको छ, पुलमाथिबाटै पानी बगिरहेको छ, हिजो राति त ट्याप्पै थुनिएको थियो, पुलको पिलर बांगिएर क्षति पुगेको छ,’ वडाध्यक्ष बस्नेतले भने– ‘यहाँ अब पुल बन्ने अवस्था पनि अनिश्चित बनेको छ, किनभने पुलको लेभल नै बिग्रिएको छ ।’

कोशी प्रदेश सरकारले १५ करोड बढीको लागतमा बहुवर्षीय कार्यक्रम अन्तर्गत २०७६ सालमा उक्त पुल निर्माण सुरु गरे पनि अझैसम्म अधुरो रहेको थियो ।

बजेट अभावको कारण देखाउँदै पुल निर्माण कार्य रोकिएको थियो । गएराति सिखु खोलाको बाढीले वडा नम्बर २ तर्फको पुल नै पुरेका कारण यो पुलको भविष्य नै अनिश्चित भएको जनाइएको छ ।

तस्वीरहरु : उत्तम बस्नेतको फेसबुकबाट ।

View : 2005

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved