Biratnagar, Morang, Nepal
२२ जेठ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
विचार

वर्तमान शिक्षकलाई ‘एआई र डिजिटल ज्ञान’ अनिवार्य

ई. कमलेश्वर ठाकुर
१५ जेठ २०८३, शुक्रवार

आजको विद्यालय शिक्षा केवल किताब, कपी र ब्ल्याकबोर्डको घेराभित्र सीमित छैन। संसार तीव्र गतिमा डिजिटल र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को युगतर्फ अघि बढिरहँदा नेपाली शिक्षा क्षेत्रमा पनि नयाँ बहस सुरु भएको छ—के हाम्रा शिक्षकहरू आधुनिक प्रविधिसँग कदम मिलाउन तयार छन्?

अहिलेका बालबालिका ‘डिजिटल जेनेरेसन’ हुन्, जो मोबाइल, युट्युब र एआईको वातावरणमा हुर्किरहेका छन्। यस्तो अवस्थामा परम्परागत शैलीबाट मात्रै प्रभावकारी शिक्षण असंभव बन्दै गएको विज्ञहरूको मत छ।

अबको शिक्षक केवल ‘पढाउने व्यक्ति’ मात्र नभएर मार्गदर्शक र डिजिटल प्राविधिक बन्नु अपरिहार्य भइसकेको छ।

पहिले ‘चक र बोर्ड’ मा आधारित रहेको शिक्षण प्रणाली अहिले ‘स्मार्ट क्लासरुम’ मा रूपान्तरण हुँदैछ।

यदि शिक्षकहरू प्रविधिसँग अपडेट भएनन् भने विद्यार्थीहरू विद्यालयको पढाइभन्दा इन्टरनेटतर्फ बढी आकर्षित हुने खतरा बढेको छ। त्यसैले प्रविधिलाई डरका रूपमा होइन, शिक्षकको शक्तिशाली सहयोगीका रूपमा स्वीकार्नुपर्ने देखिन्छ। यसका लागि शिक्षकहरूले आधारभूत कम्प्युटर सीप अन्तर्गत फाइल व्यवस्थापन, पीडीएफ बनाउने, नेपाली युनिकोड टाइपिङ र जुम वा गुगल मिटको प्रयोग जस्ता बेसिक सञ्चालनमा सक्षम हुनुपर्छ।

साथै, प्रश्नपत्र, पाठ योजना र विद्यार्थीको नतिजा केही सेकेन्डमै तयार पार्न माइक्रोसफ्ट वर्ड र एक्सेलको ज्ञान हुन जरुरी छ।

विज्ञान, गणित र अङ्ग्रेजी जस्ता कठिन विषयलाई एनिमेसन र भिडियोमार्फत सजिलै बुझाउन पावरपोइन्टको प्रयोग र ज्वालामुखी विस्फोट जस्ता विषयलाई पर्दामा प्रत्यक्ष देखाएर सिकाउन स्मार्ट बोर्ड चलाउने क्षमता पनि शिक्षकमा हुनुपर्छ।

 

एआई प्रविधिले शिक्षकको कामलाई छिटो र स्मार्ट बनाइदिन्छ। अहिले संसारभरि लोकप्रिय रहेका विभिन्न उपकरणहरू नेपाली शिक्षकले पनि तत्काल सिक्नुपर्ने आवश्यकता छ।

उदाहरणका लागि, च्याटजीपीटी, जेमिनी, प्रपलेक्सिटी र माइक्रोसफ्ट कोपाइलट जस्ता एआई टुल्सको प्रयोग गरेर सेकेन्डभरमै डिजिटल पाठ योजना, परीक्षाका प्रश्न र नोटहरू तयार पार्न सकिन्छ। आकर्षक शैक्षिक सामग्री, सर्टिफिकेट र शैक्षिक पोस्टर डिजाइन गर्न क्यान्भा, एडोबी एक्सप्रेस र फिग्मा सहयोगी सिद्ध हुन्छन्।

त्यसैगरी, अनलाइन गृहकार्य जाँच गर्न र स्वचालित परीक्षा लिन गुगल क्लासरुम र गुगल फर्म्सको प्रयोग गर्न सकिन्छ भने एनिमेसन भिडियो देखाउन र गेम खेलेर सामान्य ज्ञान सिकाउन युट्युब, काहुट, जिमकिट, ब्लुकेट र मेन्टीमिटर उपयोगी हुन्छन्। अङ्ग्रेजी लेखन तथा व्याकरण दुरुस्त र उत्कृष्ट बनाउन क्विलबोट, ग्रामरली, ज्यास्पर एआई र एडिटजीपीटीको सहायता लिन सकिन्छ।

यदि कुनै शिक्षकले च्याटजीपीटीमा गएर "कक्षा ६ को वाटर साइकल (जल चक्र) को पाठ योजना बनाऊ" भनी कमान्ड दिएमा केही सेकेन्डमै उद्देश्य, क्रियाकलाप र गृहकार्यसहितको उत्कृष्ट सामग्री तयार हुन्छ।

 

विद्यालय शिक्षामा शिशु कक्षादेखि माध्यमिक तहसम्म नै प्रविधिको फरक-फरक माग रहेको छ।

पूर्व-प्राथमिक र प्राथमिक तहका साना बालबालिकाहरू सुनेर भन्दा देखेर छिटो सिक्ने भएकाले नर्सरी र प्राथमिक कक्षामा एनिमेटेड राइम्स, कार्टुन र भिडियोको प्रयोग अनिवार्य हुनुपर्छ।

अर्कोतर्फ, माध्यमिक तहका शिक्षकहरू अनलाइन अनुसन्धान, डिजिटल प्रस्तुतीकरण, भर्चुअल ल्याब र साइबर सुरक्षा जस्ता कुरामा पोख्त हुनुपर्छ।

तर प्रविधि जतिसुकै उन्नत भए पनि यो शिक्षकको विकल्प भने होइन। एआईले दिएका सूचनाहरू सत्य छन् कि छैनन् भनी शिक्षकले तथ्य जाँच गर्नैपर्छ। विद्यार्थीको स्तरअनुसार सामग्री परिमार्जन गर्ने र सिधै कपि-पेस्ट गर्ने बानीबाट बच्नु आवश्यक छ।

 

नेपालको धरातललाई हेर्ने हो भने कतिपय विद्यालयमा आज पनि कम्प्युटर ल्याब र स्मार्ट बोर्डहरू प्रयोगविहीन अवस्थामा थन्किएका छन्, जसको मुख्य कारण शिक्षकहरूमा डिजिटल तालिमको अभाव हो।

अब राज्य, विद्यालय प्रशासन र अभिभावक मिलेर शिक्षकहरूका लागि अनिवार्य एआई र आईसीटी तालिम सञ्चालन गर्ने, विद्यालयमा उच्च गतिको इन्टरनेट र डिजिटल पुस्तकालयको स्थापना गर्ने तथा प्रविधिमैत्री शिक्षाका लागि बजेटमा वृद्धि गर्ने जस्ता कामहरू तत्काल गर्नुपर्ने देखिन्छ।

 

निष्कर्षमा, प्रविधि र एआईले कहिल्यै पनि शिक्षकको स्थान लिन सक्दैन। तर, प्रविधि प्रयोग गर्न सक्ने शिक्षकले पक्कै पनि प्रविधि नजान्ने शिक्षकलाई विस्थापित गर्नेछन् र भविष्यको शिक्षाको नेतृत्व गर्नेछन्। शिक्षक आधुनिक भए मात्र विद्यालय, समाज र समग्र राष्ट्र समृद्ध बन्न सक्छ।

 

View : 507

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved