Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

९ बजेदेखि कार्यालय

‘प्रदेशमा १० बजेदेखि नै बनाऔं’

उद्‌घोष संवाददाता
२४ चैत २०८२, मङ्गलवार

विराटनगर । कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री एवं नेकपा एमालेका नेता रेवतिरमण भण्डारीले संघीय सरकारले ९ बजेदेखि सरकारी कार्यालय सुरु हुने भन्दै गरेको निर्णय संघीयताको भावना विपरित भएको बताएका छन् । 

कोशी प्रदेश सभामा एमाले संसदीय दलको तर्फबाट विशेष समय लिएर बोलेका भण्डारीले विगतमा दुईपटक निर्णय गरेर पनि फेल भइसकेको ९ बजेदेखि कार्यालयमा कर्मचारी पुग्ने कुरा अहिलेसमेत अव्यवहारिक भएको दाबी गरे । 

भण्डारीले संघ र प्रदेशमा अलग–अलग निजामति कानुन रहे पनि अहिले संघीयताको भावना विपरित संघ सरकारले धमाधम निर्णय गरिरहेको आरोप लगाए । उनले संघीय सरकारले अपादरर्शी र गृहकार्यविना यस्तो निर्णय गरेको बताए । उनले अव्यवहारिक निर्णय सच्याउन समेत आग्रह गरे ।

‘यो निर्णय सुशासनमुखी छैन, कर्मचारीलाई सास्ती दिने बाहेक यसबाट कसैलाई फाइदा पुग्दैन’ उनले भने, ‘केही फाट्टफुट्ट पुग्ने सेवाग्राहीलाई होला फाइदा ।’

उनले प्रदेश सरकारले छुट्टै निर्णय नगरी संघ सरकारको यस्तो निर्णय कार्यान्वयन गर्न नसक्ने बताए ।

प्रदेश सरकारमा काम गरिरहेका केही माथिल्लो तहका कर्मचारीलाई सोध्दा उक्त ‘स्वतः लागू भइहाल्यो’ भनेर जवाफ दिएको बताए । ‘तर कसरी लागू हुन्छ ? प्रदेशको ऐन नियम छुट्ट्ै छ, संघको छुट्टै छ’ भण्डारीले भने, ‘हामीले प्रदेश सरकारले निर्णय नगरिकन यो कसरी लागू हुन्छ ?’

उनले ९ बजे कर्मचारी कार्यालय पुगे पनि सेवाग्राही १० बजेपछि मात्रै कार्यालय पुग्ने भएकोले संघीय सरकारले कर्मचारीलाई दुःख दिनका लागि यस्तो निर्णय गरेको टिप्पणी गरे ।

विहान ९ बजे कार्यालय पुग्न कर्मचारीले ८ बजे खाना खाइसक्नु पर्ने र तयारी भएर कार्यालयमा ९ पुग्नुपर्ने तर यसको विकल्पमा कर्मचारीहरूले अहिले पनि बेलुका ७ बजेसम्म पनि काम गरिरहेको दाबी गरे । 

‘कर्मचारीका दुईखालका काम हुन्छन्, एउटा आन्तरिक काम– जुन काम बेलुका ५ बजेसम्म भ्याइँदैन भने ७ बजेसम्म बसेर पनि गर्ने चलन छ, भोलिका लागि के काम गर्ने भन्ने बेलुकै तयारी गरेरमात्रै कर्मचारी निस्किएकै छन्’ उनले भने, ‘संघीय सरकारले ह्वात्तसँग ९ बजे अफिस बोलाइदिएको छ, जुन कुरा विगतमा दुई पटक फेल भइसक्यो, किनभने कर्मचारी ९ बजे अफिस पुगेपनि सेवाग्राही १० बजे पछि आउँछ, सेवाग्राहीले पनि खाना खानुप¥यो, ९ बजे अफिस लाग्छ भनेर सेवाग्राहीले ८ बजे खाना खाँदैनन् ।’

उनले मधेसमा विहान ८ बजे खाजा खाने र दिउँदो १ देखि २ बजे खाना खाने तथा पहाडमा विहान ९ बजेतिर खाना र २ बजेतिर खाजा खाने अभ्यास रहेकोले कार्यालय समय विहान ९ बजे उपयुक्त नभएको दाबी गरे ।

उनले सदनबाटै प्रदेश सरकारका मन्त्रीहरूको ध्यानाकर्षण गराउँदै प्रदेश सरकारले निर्णय नगरिकन संघीय सरकारको यस्तो निर्णय स्वतः लागू नहुने बताए । 

भण्डारीले अहिले संघीय सरकारले मानिसहरूलाई गैरकानुनी रुपमा गिरफ्तारी गरिरहेको दाबी गरे । उनले विधिको शासनको धरातलमा उभिएर चल्न सरकारलाई आग्रह गरे ।

View : 227

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved