विक्रम सम्वत् २००४ सालमा स्थापना भएको ‘जयतु संस्कृतम्’ नै नेपालको पहिलो विद्यार्थी संगठन भएको इतिहास छ । जहाँ राजकीय संस्कृत विद्यालय र तिनधारा पाठशालामा भएको बिषयगत भेदभावलाई लिएर आन्दोलन भएको थियो । आन्दोलनको नेतृत्व गर्ने प्रमुख विद्यार्थीहरू थिए– रामप्रसाद न्यौपाने (रामेछाप), राजेश्वर देवकोटा, परशुराम पोखरेल, पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मा खनाल (तनहुँ), कमलराज रेग्मी, काशीनाथ गौतम र गोकर्ण शास्त्री ।
यिनै नेता नै प्रथम विद्यार्थी आन्दोलनका प्रमुख नेतृत्वकर्ता मानिन्छन् । जसले पछि बीपीलाई नेतृत्व प्रदान गरी नेपालमा प्रजातन्त्र ल्याउन सहयोग गरे । जसले गर्दा नेपालमा प्रजातन्त्र पनि स्थापित भयो ।
यो आन्दोलनको मुख्य उपलब्धि भनेकै राणा शासनको जग हल्लाउने पहिलो औपचारिक विरोध थियो । र, पछिल्ला विद्यार्थी आन्दोलनहरू जसको नेतृत्व (नेविसंघ र अनेरास्ववियु जस्ता संगठनहरूले अघि बढाएका आन्दोलन) को प्रेरणाको स्रोत बने । यसैबाट अनि सुरु हुन्छ विद्यार्थी संगठन र यसको औचित्य ।
नेपालको राजनीतिमा विद्यार्थी संगठनको भूमिका ऐतिहासिक रूपमै महत्वपूर्ण रहेको छ । प्रजातन्त्र, जनआन्दोलन र माओवादी जनयुद्धदेखि लिएर संविधानसभा निर्वाचनसम्मका राजनीतिक परिवर्तनको प्रक्रियामा विद्यार्थी संगठनहरूले अग्रणी भूमिका खेलेका छन् । ती संगठनहरू मुख्य दलका सहयोगी वा भ्रातृ संगठनका रूपमा अहिलेसम्म पनि क्रियाशील छन् ।
कांग्रेस निकटको नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकटको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र नेकपा माओवादी केन्द्र (हालको नेकपा) निकटको अखिल (क्रान्तिकारी) नेपालको विद्यार्थी आन्दोलनका लागि प्रमुख विद्यार्थी संगठन हुन् ।
यी संगठनहरूले क्याम्पसमा आन्दोलन, विद्यार्थी हकहित, छात्रवृत्ति वितरणको पारदर्शिता, शैक्षिक सुधार जस्ता मुद्दा उठाउँछन् भने राष्ट्रिय राजनीतिका ठूला परिवर्तनमा पनि सहभागी हुन्छन् ।
विद्यार्थी संगठनहरू यिनै र यस्तै विचारको लागि चाहिएको हुन्छ तर विद्यार्थी संगठनहरू विस्तारै रचनात्मक हुने भन्दा प्रतिक्रियात्मक, सामाजिक मुद्दामा भन्दा राजनितिक विभाजनको अस्त्रका रुपमा चिनिएका छन् ।
जसका कारण विद्यार्थी संगठनहरू स्थापित राजनीतिको प्रतिबिम्ब हुनेभन्दा आन्तरिक द्वन्द्वमा फस्न थालेका छन् । जबकी, विद्यार्थी आन्दोलनको भूमिका राजनीतिक जनमत निर्माण र विद्यार्थीको समस्या समाधानमा केन्द्रित हुनुपर्ने थियो तर अवस्था फरक बनेको छ ।
अहिले विद्यार्थी संगठनहरू अधिक रुपमा प्रतिक्रियात्मक, दलगतप्रति बफादार र अराजकताप्रतिको उत्सुकतातिर आकर्षित हुन थालेको भान हुन थालेको छ । जसले गर्दा नेपालको शैक्षिक क्षेत्रमा विद्यार्थी संगठनहरूको औचित्व र अस्तित्वमाथि चौतर्फी बहसको विषय बनिरहेको छ ।
अहिले हेर्दा नेपाली विद्यार्थी संगठनहरू आफ्नो इतिहासकै सबैभन्दा ठूलो द्वन्द्वको चौराहमा उभिएका छन् । यसले केवल संगठनको अस्तित्वको मात्र लडाईँलाई होइन, नेपाली राजनीतिको पुरानो पुस्ता (संगठित दलहरू) र नयाँ पुस्ता (विकल्प खोज्ने युवा) बीचको द्वन्द्वलाई उजागर गरेको छ ।
वास्तवमा अब नेपाली विद्यार्थी संगठनहरूले उठाउनु पर्ने केही मुद्दाका शैली यस्ता हुनु पर्दछ ः–
१. गुणस्तरीय शिक्षाका लागि पैरवी
२. प्रविधिमैत्री क्याम्पससहित हरेक संकायमा इन्टरनेट, डिजिटल लाइब्रेरी र अनलाइन कक्षाको व्यवस्थाका लागि अभियान
३. शान्तिपूर्ण र संवादमुखी कार्यशैली
४.हिंसा, तालाबन्दी, दलगत झडपभन्दा माथि उठेर शान्तिपूर्ण र रचनात्मक राजनीतिक क्रियाकलाप
५. सार्वजनिक बहस र सेमिनार
६. वैकल्पिक प्रविधि र सामाजिक सञ्जालको पूर्ण उपयोग
७. भर्चुअल हड्ताल (क्याम्पस बन्द नगरी डिजिटल माध्यमबाट सरकारलाई जवाफ माग गर्ने, जस्तैः ट्वीटर आन्दोलन, ब्ल्याक प्रोफाइल, ह्यासट्याग अभियान)
८. विद्यार्थीमात्र नभएर सामाजिक सरोकारका मुद्दा उठान
९. सहकार्य र एकता
कुनै पनि संगठन पूर्ण रूपमा गलत भने छैनन्, तर यसको कार्यशैली र एजेण्डा समयसापेक्ष भने बन्नैपर्छ । अहिलेको सरकारको नीतिले पनि संकेत गरेको छ कि, पुरानै शैलीको विद्यार्थी राजनीतिले अबको शैक्षिक संस्था र विद्यार्थीको चेतना विकास हुन सक्दैन ।
विगतको वातावरणले खराब पारेको कुरालाई समाजले पनि पचाउन छाडेको छ । सुधारको लागि अबको बाटो शान्तिपूर्ण, पारदर्शी र विद्यार्थीहरूको वास्तविक समस्या समाधानमा केन्द्रित बन्न सक्नुपर्ने एकमात्र विकल्प हो ।
अब टीका लगाएर गणेशजीले तीनलोक घुमे जसरी नेतृत्व लिएर आफैंले आफैलाई महान बनाउने सोच्दा विद्यार्थीको एउटा इकार्इं मात्र हैन, पूरै संगठन नै सकिन्छ । जय नेपाल
झुम्का, सुनसरी
View : 228
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved