Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

जोखिम व्यवस्थापन तथा बीमा सम्बन्धी सेमिनार

उद्‌घोष सम्वाददाता
१४ वैशाख २०८२, आइतवार

विराटनगर । नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी (एनआईपीएस) कोशी र बीमा अनुसन्धान तथा व्यवस्थापन प्रतिष्ठान (एन–आइआरएमए) को सहकार्यमा जोखिम व्यवस्थापन तथा बीमा सम्बन्धी एक दिवसीय सेमिनार सम्पन्न भएको छ ।

शनिबार विराटनगरमा आयोजित कार्यक्रममा निर्जीवन बीमा, जीवन बीमा, लघु बीमा कम्पनीहरूबाट १६० जना प्रतिनिधिहरू सहभागी भएका थिए ।

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख विनोद पोखरेल, बीमा अनुसन्धान तथा व्यवस्थापन प्रतिष्ठानका अध्यक्ष डा. रविन्द्र घिमिरे र एनआईपीएस कोशीका अध्यक्ष खड्गबहादुर श्रेष्ठले संयुक्त रूपमा सेमिनारको उद्घाटन गरेका थिए ।

सेमिनारमा नेपाल बीमा सर्भेयर संघका कोशी प्रदेश केन्द्रीय प्रतिनिधि ओमप्रकाश राठीले बीमा व्यवसायमा नैतिकता र नियमित तालिमको आवश्यकता औंल्याउँदै बीमा कर्मचारी र सर्भेयरहरूलाई अद्यावधिक ज्ञान र व्यावसायिक आचरणलाई आत्मसात् गर्न जोड दिए । 

नेपाल पुनर्बीमा कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीले यस्ता तालिमहरूले गुणस्तरीय व्यवसाय अभिवृद्धि, नैतिक जोखिम न्यूनीकरण र कम्पनीको विश्वसनीयता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै पुनर्बीमा कम्पनी सधैँ कर्मचारीको क्षमता अभिवृद्धिमा तत्पर रहेको उल्लेख गरे ।

कार्यक्रमको मुख्य उद्देश्य बीमा सिद्धान्त, अन्डरराइटिङ, दाबी व्यवस्थापन, पुनर्बीमा र समसामयिक जोखिम व्यवस्थापन विधिबारे उन्नत प्रशिक्षण प्रदान गर्नु, आधुनिक जोखिम विश्लेषण र ठगी नियन्त्रणका प्रविधिहरू सिकाउनु, अन्तर्राष्ट्रिय अभ्यासहरू साझेदारी गर्नु, बीमा क्षेत्रमा अनुसन्धान र छलफलको वातावरण निर्माण गर्नु रहेको बताइएको थियो ।

सेमीनारमा डा. घिमिरेले ‘जोखिम व्यवस्थापन र बीमा क्षेत्रका समसामयिक विषयहरू’मा प्रस्तुति दिएका थिए । 

उनले बीमा क्षेत्रमा व्याप्त नैतिक समस्या, सेवा स्तरमा सुधारको आवश्यकता र नेपालमा बीमा उद्योगलाई विश्वसनीय बनाउने उपायहरूमा जोड दिएका थिए ।

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख विनोदकुमार पोखरेलले कर्पोरेट सुशासन र बीमा सम्बन्धी कानुनी प्रावधानहरू विषयमा जानकारी दिदै बीमा ऐन तथा नियमावलीअनुसार कर्मचारी, व्यवस्थापन तथा बोर्ड सदस्यहरूको अधिकार, कर्तव्य र दण्ड व्यवस्थाबारे चर्चा गरे । 

बीमा पोलिसी जारी गर्दा दररेट, निक्षेप पर्ची जाँच गरी मात्र बीमालेख जारी गर्नुपर्ने स्मरण गराउँदै उनले हरेक कर्मचारीले नियमको कार्यान्वयनमा समान जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख गरे । कर्पोरेट सुशासनले मात्र बीमा कम्पनीलाई दिगो बनाउन सक्ने उनले जोड दिए ।

नेपाल पुनर्बीमा कम्पनीका प्रमुख प्रबन्धक ईश्वर प्रधानले दाबी व्यवस्थापन र पुनर्बीमा अन्डरराइटिङ अभ्यास विषयमा प्रस्तुति दिदै जोखिम स्वीकार्दा उचित अन्डरराइटिङ प्रक्रिया अपनाउनुपर्ने र दाबी गर्दा सत्यता परीक्षण अनिवार्य हुनुपर्नेमा जोड दिए । 

बीमा तथा जोखिम व्यवस्थापन विज्ञ उदयराज अधिकारीले नेपालको सन्दर्भमा जोखिम व्यवस्थापन र बीमा क्षेत्रको खाडलबारेमा प्रष्टयाएका थिए । उनले जोखिम पहिचान, मूल्यांकन र न्यूनीकरणमा नेपालका बीमा कम्पनीहरूबीच समन्वय र सुधारको खाँचो औंल्याए ।

बीमा विज्ञ नारायणकुमार भट्टराईले जीवन बीमामा बीमा पोलिसी समयपूर्व रद्द हुने समस्या, न्यून प्रतिफल, अस्वस्थ प्रतिस्पर्धा, अपर्याप्त प्रशिक्षण, नियामकीय अस्थिरता, ठगीजन्य गतिविधि र आन्तरिक कमजोरीहरू बारेमा चर्चा गरे ।

View : 461

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved