Biratnagar, Morang, Nepal
१९ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

रास्वपाको कारबाहीमा परेका तिम्सिना राजावादी कित्तामा

उद्‌घोष सम्वाददाता
१८ वैशाख २०८२, बिहिवार

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट  निलम्बनको कारबाहीमा परेका कोशीका पूर्व सभापति राजेश तिम्सिना राजावादी कित्तामा उभिएका छन् । 

सनातन धर्म सापेक्ष राष्ट्र र हिन्दू सम्राटको एजेन्डासहित नयाँ अभियानको घोषणा गरेका उनले धर्मनिरपेक्षताको सट्टा हिन्दू राज्य बनाउने अभियान घोषणा गरेका हुन् । 

गएको माघमा रास्वपाले प्रदेश सभापतिबाट निलम्बन गरेपछि तिम्सिना राजावादी लाइनमा उभिएका हुन् । 

उनको यो अभियानमा रास्वपाकै पूर्वकोशी प्रवक्ता कमलबाबु मैनालीले साथ दिएका छन् । 

बुधबार ‘स्वतन्त्र राष्ट्रवादी विचार समूह’ का नाममा एक संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले यस्तो माग गरेका हुन् । 

उनीहरू दुवै जना रास्वपाका पूर्व महामन्त्री मुकुल ढकाल निकट मानिन्छन् । 

मुकुल पनि पार्टीको कारबाही भोगेका नेता हुन् । तिम्सिनाले संयोजक र मैनालीले सचिवका रूपमा विज्ञप्ति जारी गरेका हुन् ।

अब निर्णायक परिवर्तनको खाँचो भएको भन्दै विज्ञप्तिमा ९ वटा एजेन्डा अघि सारिएको छ ।

पहिलो एजेन्डामा नेपाल सनातन धर्म सापेक्ष राष्ट्र हुनुपर्ने र नेपाली हिन्दू सम्राटलाई विश्व हिन्दू सम्राट्का रूपमा स्थापना गर्नुपर्ने उल्लेख छ ।

अन्य एजेन्डाहरूमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसदले मन्त्री बन्न नपाउने, प्रदेश संरचना खारेज गर्नुपर्ने, गैरदलीय स्थानीय निकाय हुनुपर्ने लगायतका माग छन् । 

‘हिन्दू सम्राट भनेर घुमाउरो भाषा प्रयोग गरिएको हो, हामीले खोजेको राजा नै हो,’ तिम्सिनाले भने ‘तर, राजा सांस्कृतिक रूपको मात्रै हुनुपर्छ ।’

View : 114

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved