Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

नेकपा एमाले मोरङ १० औं अधिवेशन

उम्मेदवारको लर्कोले निर्वाचन कमिटीलाई चुनाव गराउनै सकस

प्यानल बनाई उम्मेदवारी दिन नपाइने पार्टी केन्द्रको नीतिविपरीत दुवै समूहले उम्मेदवारी दिएका हुन् ।
उद्‌घोष सम्वाददाता
२० फागुन २०८१, मङ्गलवार

बन्दसत्र भइरहेको विराटनगरस्थित होटल मनास्लुको सभाहल । यही हलमा मतदानको कार्यक्रम हुने निर्वाचन कमिटीले जनाएको छ ।

विराटनगर । नेकपा एमाले मोरङको जारी १० औं जिल्ला अधिवेशनमा कुल प्रतिनिधि संख्याको एक तिहाई भन्दा बढी संख्याले विभिन्न पदमा उम्मेदवारी दिएपछि निर्वाचन कमिटीलाई चुनाव गराउन सकस परेको छ । सोही सकसलाई टार्न निर्वाचन कमिटीले उम्मेदवारी फिर्ता लिने समयलाई निरन्तर बढाउँदै लगेको छ ।

निर्वाचन कमिटीले दिएको जानकारीअनुसार अध्यक्ष, उपाध्यक्ष, सचिव र २ जना उपसचिवसहितको पदाधिकारीमा हरेक पदमा दुई-दुई जनाको उम्मेदवारी परेको छ । सदस्यमा भने धेरैले उम्मेदवारी  दिएका छन् । १६० जना सदस्य पदका लागि ३३१ जनाले उम्मेदवारी  दिएका हुन् । 

उम्मेदवारहरू धेरै जना भएपछि अहिले एमाले नेताहरू सदस्यहरूमा सर्वसम्मत गर्न पहल गरिरहेका छन् । ‘सबैको उम्मेदवारी कायम रहने हो भने मतपत्र नै १८-२० पानाको बनाउनुपर्ने अवस्था छ’, निर्वाचन कमिटीका एक सदस्यले भने ‘त्यसैले सकेसम्म दुई-तीन पानाको मतपत्र हुने गरी सर्वसम्मत गर्ने प्रयास भइरहेको छ ।’

केन्द्रीय निर्वाचन  कमिटीका सदस्य समीर नेपालले पनि छरितो मतपत्र बनाउनका लागि उम्मेदवारी  फिर्ता गराउने विषयमा लचिलो नीति लिइएको बताए । ‘हामी निर्वाचनका अरु काम पनि गरिरहेका छौं’, उनले भने ‘अन्तिम नामावली प्रकाशनको समयसम्म उम्मेदवारी फिर्ता लिने विषयमा लचिलो नै हुन्छौं ।’

जारी जिल्ला अधिवेशनमा संस्थापन र इतर समूह गरी दुई समूहले प्यानलै बनाई उम्मेदवारी दिएका छन् । प्यानल बनाई उम्मेदवारी दिन नपाइने पार्टी केन्द्रको नीति विपरीत दुवै समूहले उम्मेदवारी दिएका हुन् । दुवै समूहले आ-आफ्नो प्यानलको उम्मेदवारको फोटो राखी सामाजिक सञ्जालमा मत माग्न सुरु गरिसकेका छन् ।

संस्थापन पक्ष राजकुमार ओझा नेतृत्वमा चुनावी मैदानमा होमिँदा इतर पक्ष अजम्बर राईको अगुवाईमा प्रतिष्पर्धामा ओर्लिएका छन्।अध्यक्षका दुई उम्मेदवारमध्ये प्रदेशका पूर्वसांसद  ओझालाई  कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने बहुसंख्यक स्थायी कमिटी सदस्यको साथ छ । अध्यक्षमै उम्मेदवार बनेका जिसस मोरङका प्रमुख अजम्बर राईलाई नेता विनोद ढकालको समर्थन छ । ओझाको टिमबाट उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, उपसचिवमा इर्जालाल राजवंशी र शिल्पा निराला कार्कीले उम्मेदवारी दिएका छन् । कार्की विराटनगरकी उपमेयर हुन् । 

त्यस्तै, ढकाल समूहबाट अध्यक्ष अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा  सन्तोष वान्तवा र उषा झाले उम्मेदवारी दिएका छन् ।  उषा झा जिसस मोरङकी उपप्रमुख हुन् । एमाले मोरङ जिल्ला कमिटी पदाधिकारीसहित  १६५ सदस्यीय हुनेछ ।

View : 490

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved