विराटनगर । नेकपा एमाले मोरङ जिल्ला कमिटीका सचिवालय सदस्य ओम सुवेदीले राजिनामा दिएका छन् ।
तीन दशकभन्दा लामो राजनीतिक क्रियाशिलता अन्त्य गरेको घोषणा गर्दै सुवेदीले पार्टी नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै सचिवालय सदस्यबाट राजिनामा दिएका हुन् ।
राजिनामापत्रमा सुवेदीले पार्टी नेतृत्वमा देखिएको विचलन, व्यक्तिपूजा, गुटबन्दी, अवसरवाद र अराजक प्रवृत्तिले संगठन कमजोर बन्दै गएको आरोप लगाएका छन् ।
उनले योग्यता, क्षमता र विचारको सट्टा नातावाद हाबी भएको भन्दै वर्तमान नेतृत्वको शैलीप्रति असहमति प्रकट गरेका हुन् ।
सुवेदीले आफ्नो राजनीतिक यात्रा २०४३ सालतिर झापाबाट सुरू गरेको उल्लेख गरेका छन् ।
पञ्चायतकालमा नेकपा (माले) मार्फत सक्रिय राजनीतिमा प्रवेश गरेका उनी २०४७ सालमा नेकपा एमालेसँग संगठित भएका थिए ।
त्यसयता विद्यार्थी राजनीति, ट्रेड युनियन र निजामती सेवासँगै पार्टीका विभिन्न मोर्चामा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए ।
सुवेदीले लामो समयसम्म नेपाल निजामती कर्मचारी संगठनमार्फत नेतृत्वदायी भूमिका निर्वाह गरेका गर्दै न्याय सेवाजस्तो संवेदनशील क्षेत्रमा कार्यरत रहँदा पनि पार्टीप्रति प्रतिबद्ध रहँदै आएको उल्लेख गरेका छन् ।
पार्टीको आर्थिक नीति, जनजीविकासम्बन्धी मुद्दा तथा अनियमितता र भ्रष्टाचारविरूद्धका आन्दोलनमा सक्रिय योगदान दिएको दाबी पनि उनले गरेका छन् ।
तर पछिल्लो समय पार्टी नेतृत्व जनताबाट टाढिंदै गएको, जनभावनालाई बेवास्ता गरेको र नेतृत्वमा दम्भ तथा अहंकार बढेको उनले आरोप लगाएका छन् ।
‘नेतृत्वको तुष्ट प्रवृत्ति र गलत अभिव्यक्तिका कारण जनतामा भित्रभित्रै असन्तुष्टि बढ्दै गएको’ उनले उल्लेख गरेका छन् । सुवेदीले हालै सम्पन्न निर्वाचन परिणामतर्फ संकेत गर्दै कोशी प्रदेशको राजधानी रहेको मोरङ जिल्लामा ६ वटा निर्वाचन क्षेत्रमध्ये ४ क्षेत्रमा पार्टीले जनमत जोगाउन नसक्नु अत्यन्तै पीडादायी भएको उल्लेख गरेका छन् ।
सुवेदीले पार्टीभित्र सुधारको आवश्यकता औंल्याउँदै व्यक्ति परिवर्तन मात्र होइन, संगठनात्मक संरचना, कार्यशैली, जीवनशैली र व्यवहारमा समेत रूपान्तरण आवश्यक रहेको बताएका छन् । तर हालको अवस्थामा यस्तो सुधारको सम्भावना अत्यन्त न्यून देखिएको निष्कर्षसहित उनले सचिवालय सदस्यबाट राजिनामा दिएको जनाएका छन् ।
राजिनामापत्रमा उनले ‘एमालेजनले गल्ती स्वीकार नगर्ने’ प्रवृत्ति बढ्दै गएको भन्दै त्यसले नेतृत्वलाई झन् कठोर बनाएको टिप्पणी गरेका छन् ।
पार्टीभित्रै रहेर सुधारको प्रयास गर्दा पनि माथिल्लो तहमा परिवर्तनको सम्भावना क्षीण देखिएपछि स्वेच्छाले अलग हुने निर्णय लिनुपरेको उनको भनाइ छ ।
उनले पार्टी जीवनबाट अलग भए पनि राष्ट्रसेवकको हैसियतमा प्राप्त अनुभव, ज्ञान र सीपलाई देश र समाजको हितमा प्रयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
View : 225
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved