Biratnagar, Morang, Nepal
१५ साउन २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
विचार

संस्कृति र आत्मीयताको पर्व  साउन १५

मणि अर्ज्याल
१४ साउन २०८३, बिहिवार

Advertisement

साउन महिनामा श्रद्धालुहरू विभिन्न शिवालयमा गई पूजा गर्नुका साथै व्रत बसी सात्विक जीवनशैली अपनाउने गर्दछन्।

धार्मिक विश्वास अनुसार साउन महिनामा गरिने पूजाले सुख, शान्ति र समृद्धि प्राप्त हुने गर्दछ।

नेपाली समाजमा ऋतु र महिना अनुसार विभिन्न परिकार बनाएर खाने एउटा सुन्दर मौलिक परम्परा छ।

 

असार १५ मा दहीचिउरा, माघे सङ्क्रान्तिमा घ्यू र चाकु तथा जनैपूर्णिमामा क्वाटी खाइन्छ।

यसैगरी, हरेक वर्षको साउन १५ लाई नेपालमा खीर खाने दिनका रूपमा मनाइन्छ। खीरलाई नेपाली संस्कृतिमा शुभ, पवित्र र समृद्धिको प्रतीकका रूपमा मानिन्छ।

 

यो पर्व केवल खानपानमा मात्र सीमित नभई परम्परा, संस्कृति र पारिवारिक आत्मीयता झल्काउने तथा पारिवारिक सम्बन्धलाई मजबुत बनाई आपसमा सद्भाव र माया साटासाट गर्ने पर्वको रूपमा पनि हेरिन्छ।

यस दिन खीर खानुको मुख्य उद्देश्य कृषकहरूले वर्षायामभरि आ–आफ्ना खेतमा खेती गर्न राखेको धानको बीउ रोपिसक्ने र खेतिपातीको काम पनि सकिने भएकाले हो।

निरन्तरको हिलो र पानीमा काम गर्दा शरीरमा ऊर्जा कम हुने र बिरामी पर्न सक्ने सम्भावना रहने हुँदा, रोपाइँ सकिएको खुसियाली मनाउन र थकित शरीरलाई पुनर्जीवन दिई ऊर्जावान बनाउन पौष्टिक तत्त्वले भरिपूर्ण खीर खाने परम्परा चलिआएको हो।

साउने झरीमा तात्तातो खीर खानाले स्वास्थ्यका लागि पनि राम्रो हुन्छ र पर्व अनुसार विभिन्न परिकार बनाई खाने नेपाली परम्पराको पालना पनि हुन्छ।

 

खीरमा आफ्नो गच्छे अनुसार चामलमा दूध, चिनी र अलैँची, मरिच, किसमिस, नरिवल, छोकडा लगायतका मरमसला  हाली पकाइन्छ।

यो परिकार शक्तिवर्धक हुनुका साथै रोगनिवारकसमेत हुन्छ।

नेपाली संस्कृति अनुसार सँगै बसेर भोजन गर्नु सम्बन्धलाई बलियो बनाउने माध्यम मानिन्छ।

हाम्रो जस्तो कृषिप्रधान देशमा असार महिनाको रोपाइँ सम्पन्न भइसकेपछि आउने साउन महिनामा किसानहरू काम सकेर केही दिन विश्राम गरी बस्ने चलन छ।

 

आधुनिक जीवनशैलीका कारण केही परम्परा र संस्कृति लोप हुने अवस्थामा पुगेका छन्।

अहिलेको पुस्ता धर्म, संस्कृति र परम्पराबाट टाढा हुँदै गई विदेशी रहनसहनमा रमाउने गरेको अवस्थामा युवा पुस्तालाई यस्ता चाडपर्वहरूको बारेमा बुझाई आफ्नो संस्कृति तथा परम्पराको जानकारी गराउन यस पर्वले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।

साउन १५ को खीर खाने परम्परा आज पनि नेपाली समाजमा त्यतिकै लोकप्रिय रहेको छ। गाउँमा मात्र नभई सहरी क्षेत्रमा समेत यस दिन खीर खाने चलन छ।

 

यस्ता मौलिक पर्वहरूको संरक्षण गर्दै भावी पुस्तामा समेत यसको महत्त्वबारे पुस्तान्तरण गर्नु आजको आवश्यकता हो।

यो पर्व नेपाली कृषि संस्कृति र परम्पराको प्रतीकका रूपमा मनाइँदै आएको छ। यस्ता मौलिक पर्वहरूको जगेर्ना गर्दै हरेक वर्ष नेपाल ग्रामीण विकास समाज केन्द्रद्वारा सञ्चालित ज्येष्ठ नागरिकहरूका लागि स्थापित ब्रह्मज्ञानी विश्रामालयमा पनि ज्येष्ठ नागरिकहरू भेला भई भजनकीर्तन गरी खीर खाई मनाउने गरिन्छ।

साउन १५ मा आफ्नै घरमा समेत खीर खाने परम्परा भएकाले विश्रामालयमा ज्येष्ठ नागरिकहरूलाई सरिक हुन गाह्रो हुने र घर तथा अन्य स्थानमा पनि कार्यक्रम हुने भएकाले यस पटक भने साउन १५ गतेअगावै बिहीबार नै भजनकीर्तनसहित भव्य रूपमा खीर खाने कार्यक्रम सम्पन्न गरिएको हो।

View : 50

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved