‘कहिलेकाहीँ लाग्थ्यो, मेरो जीवनमा समस्या बाहेक केही बाँकी नै छैन । शरीर दुख्थ्यो, मन थाकेको थियो, आर्थिक अवस्था झन् कमजोर हुँदै गइरहेको थियो । तर आज पछाडि फर्केर हेर्दा लाग्छ समयमै कसैले साथ दिएको भए जीवन फेरि बदलिन सक्छ रहेछ ।’
यी शब्दहरू हुन् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उमा राई (नाम परिवर्तन) का, जसको जीवनमा एकपछि अर्को गर्दै आएका विपत्तिहरूले उनलाई शारीरिक, मानसिक र आर्थिक रूपमा गहिरो संकटमा पु¥याएको थियो ।
केही वर्षअघि ट्याक्टर दुर्घटनामा परेर उनी गम्भीर घाइते भइन् । उपचारपछि ज्यान त बच्यो, तर ढाडको चोटका कारण आज पनि लठ्ठीको सहारा र कम्मरमा पेटी बाँधेर हिँड्नुपर्ने अवस्था छ । लामो उपचारका क्रममा ठूलो आर्थिक भार थपियो र परिवार ऋणमा डुब्यो ।
ऋण तिर्ने आशामा उनका श्रीमान् वैदेशिक रोजगारीका लागि साउदी अरेबिया जानुभयो । तर विदेश पुगेपछि अपेक्षाअनुसार आम्दानी हुन सकेन । यता घरमा ऋणदाताको दबाब बढ्दै गयो ।
आर्थिक अभाव झन् चर्किएपछि परिवारले ठूलो छोरालाई पनि कम उमेरमै वैदेशिक रोजगारीमा पठाउने निर्णय ग¥यो ।
घरमा भने उनी, बुहारी, दुई नातिनी र कान्छो छोरा बस्दै आएका थिए । कान्छो छोरा परिवारको जिम्मेवारीभन्दा आफ्नै जीवनमा व्यस्त रहने गर्थे । त्यसैबीच अर्को ठूलो पीडा थियो दुवै नातिनी अपाङ्गता भएका थिए । जेठी नातिनीको दृष्टि कमजोर थियो भने कान्छी नातिनी हिँड्न, बोल्न वा आफैँ दैनिक क्रियाकलाप गर्न सक्दिनथिन् । उनलाई सधैँ ओछ्यानमै राखेर हेरचाह गर्नुपर्ने अवस्था थियो ।
यसैबीच विदेशमा रहेका छोरा गएको केही समयपछि बुहारी घर छोडेर अर्कैसँग गइन् । विदेशमा रहेका छोरासँग पनि नियमित सम्पर्क हुन सकेन । अचानक सबै जिम्मेवारी ती वृद्ध महिलाको काँधमा आइपुग्यो । आफ्नै स्वास्थ्य कमजोर भएको अवस्थामा दुई अपाङ्गता भएका नातिनीको हेरचाह, घरधन्दा र आर्थिक अभावले उनी शारीरिक, मानसिक र भावनात्मक रूपमा पूर्णतः थाकिसकेकी थिइन् ।
उनी भन्छिन्, ‘रुन मात्रै मन लाग्थ्यो । कहिलेकाहीँ सबै कुरा छोडेर कतै टाढा जान मन लाग्थ्यो । बाँच्नुको अर्थ नै छैन जस्तो लाग्थ्यो ।’ यही समयमा श्रीमान्को वैदेशिक रोजगारीसँग सम्बन्धित समस्याका लागि उनी आप्रवासी स्रोत केन्द्रमा आइन् । त्यही क्रममा मनोसामाजिक परामर्शकर्तासँग उनको भेट भयो ।
विश्वासमा आधारित सम्बन्ध विस्तारसँगै नियमित मनोसामाजिक परामर्श सुरु गरियो । परामर्शका क्रममा उनका भावनाहरू व्यक्त गर्ने वातावरण सिर्जना गरियो, तनाव व्यवस्थापनका उपायहरू सिकाइयो र समस्याहरूलाई क्रमशः प्राथमिकताका आधारमा समाधान गर्ने योजना बनाइयो ।
परामर्शसँगै विभिन्न निकायसँग समन्वय गरी परिवारलाई आवश्यक सामाजिक तथा सरकारी सेवासँग जोड्ने प्रयास गरियो । वडा कार्यालय, अस्पताल, महिला शाखा तथा नगरपालिकासँग समन्वय गरी दुवै नातिनीका लागि अपाङ्गता परिचयपत्र बनाइयो । यसका साथै तत्काल राहतस्वरूप १० हजार रुपैयाँ बराबरको आर्थिक सहयोगसमेत उपलब्ध गराइयो ।
जीवन बिस्तारै सहज हुँदै गएको थियो । तर केही समयपछि विदेशमा रहेका छोरा बिरामी परेपछि नेपाल फर्किन बाध्य भए । यसले परिवारमा फेरि आर्थिक र मानसिक तनाव थपियो । यस कठिन समयमा पनि मनोसामाजिक परामर्श निरन्तर जारी रह्यो । नगर प्रमुख, उपप्रमुख तथा सम्बन्धित शाखासँग पुनः समन्वय गरी छोराको उपचारका लागि नगरपालिकाबाट ३५ हजार ५०० रुपैयाँ बराबरको उपचार तथा आर्थिक सहयोग उपलब्ध गराइयो ।
यसले परिवारलाई उपचार सुरु गर्न ठूलो राहत मिल्यो ।
यसैबीच निरन्तर समन्वयका प्रयासपछि दुवै नातिनीले अपाङ्गता भत्ता पनि प्राप्त गर्न थाले । नियमित सामाजिक सुरक्षा सुविधाले परिवारको दैनिक जीवन केही सहज बन्न थाल्यो । आज उनी पहिलेभन्दा धेरै आत्मविश्वासी र आशावादी देखिन्छिन् । समस्याहरू सबै समाप्त भएका छैनन्, तर तीसँग जुध्ने शक्ति भने बढेको छ ।
भावुक हुँदै उनी भन्छिन्, ‘जीवनमा धेरै दुःख देखेँ । कहिलेकाहीँ सबै सकियो भन्ने लाग्थ्यो । तर तपाईंहरूसँग भेट भएपछि लाग्यो अझै पनि हाम्रो पीडा सुन्ने र साथ दिने मान्छे रहेछन् । आज म आफूलाई एक्लो ठान्दिनँ । तपाईंहरूलाई भेट्नु भनेको भगवान्ले कठिन समयमा पठाएको सहारा पाएजस्तो लाग्छ ।’
सिकाइ ः यस कथाले देखाउँछ कि मनोसामाजिक परामर्श केवल मानसिक तनाव कम गर्ने सेवा मात्र होइन, सेवाग्राहीलाई आवश्यक सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र सरकारी सुविधासँग जोड्ने प्रभावकारी माध्यम पनि हो । बहुपक्षीय समन्वय, समयमै गरिएको मनोसामाजिक सहयोग र स्थानीय सरकारको सक्रिय सहभागिताले बहुआयामिक समस्यामा रहेका परिवारको जीवनमा आशा, आत्मविश्वास र सम्मानका साथ पुनः अघि बढ्ने आधार निर्माण गर्न सक्छ ।
गायत्री तामाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मनोसामाजिक परामर्शकर्ताको रुपमा कार्यरत छिन् ।)
View : 20
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved