Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

आध्यात्मिक जागरण र सुख शान्तिको कामना

विराटनगरको पिछरामा श्रीमद्‌भागवत महायज्ञ

समाजमा भाइचारा अभिवृद्धि गर्ने र आध्यात्मिक चेतना फैलाउने लक्ष्य राखिएको यस महायज्ञले स्थानीय क्षेत्रमा धार्मिक वातावरण सिर्जना गरेको छ ।
उद्‌घोष संवाददाता
९ चैत २०८२, सोमवार

विराटनगर ।  विराटनगर–११ स्थित पिछरा, अल्का मार्गमा समाजमा आध्यात्मिक जागरण ल्याउने र सुख शान्तिको उद्देश्यका साथ सञ्चालित श्रीमद्‌भागवत महापुराण सप्ताह महायज्ञको तेस्रो दिनको अनुष्ठान पूरा भएको छ ।

लक्ष्मी नारायण भजनकीर्तन समिति, विराटनगर–११ को आयोजनामा सुरु भएको सो महायज्ञ आउँदो शुक्रबार विशेष अनुष्ठानका साथ समापन गरिने समितिकी कोषाध्यक्ष सुजया दाहालले जानकारी दिइन् ।

विराटनगर–११ र ६ वडाको सिमाना (अल्का मार्ग–केशलिया मार्ग) मा जारी महायज्ञमा स्थानीय श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहँदै आएको छ।

गत शुक्रबार भव्य कलशयात्रा र मण्डप पूजा गरी शनिबारदेखि विधिवत् रूपमा पाठपारायण र कथावाचन सुरु गरिएको थियो । महायज्ञमा प्रमुख कथावाचक पण्डित चक्रपाणी न्यौपाने र उपवाचक पण्डित श्रीगणेश ओझाले सङ्गीतमय शैलीमा कथावाचन गरिरहेका छन् ।

महायज्ञलाई सफलतापूर्वक सम्पन्न गर्न भजनकीर्तन समितिकी अध्यक्ष विन्दा कोइराला, उपाध्यक्ष भीमा तिवारी, सचिव ममता कटवाल, सहसचिव तारा काफ्ले र संरक्षक देवी गौतमको नेतृत्वमा ३२ सदस्यीय समिति अहोरात्र खटिएको छ ।

समितिका सदस्यहरू अञ्जु भट्टराई, दीपा कार्की, विमला कोइराला, निक्का आचार्य, विन्दा तिवारी, राधा बस्नेत लगायतका सदस्यहरूले व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरिरहेको जनाइएको छ ।

समाजमा भाइचारा अभिवृद्धि गर्ने र आध्यात्मिक चेतना फैलाउने लक्ष्य राखिएको यस महायज्ञले स्थानीय क्षेत्रमा धार्मिक वातावरण सिर्जना गरेको छ । आगामी शुक्रबार समापन समारोहमा विशेष पूजा र प्रसाद वितरणको कार्यक्रम समेत तय गरिएको छ ।

View : 494

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved