विराटनगर । एसटीयु सेन्टर नेपालद्वारा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रव्यापी अन्तरविद्यालय वक्तृत्व प्रतियोगितामा मेरिल्याण्ड कलेज, विराटनगरकी कक्षा ११ की छात्रा प्रेरणा प्रियदर्शीले चौथो (सान्त्वना) स्थान हासिल गरेकी छन् ।
अनलाइन माध्यमबाट आह्वान गरिएको प्रतियोगितामा देशभरका ९८ वटा कलेज सहभागी भएका थिए ।
प्रतियोगितामा प्राप्त भ्युजको ५० प्रतिशत र निर्णायकको ५० प्रतिशत मूल्यांकनका आधारमा नतिजा निर्धारण गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका निर्णायकहरूमा प्रा.डा. जीवलाल सापकोटा, डा. गीता त्रिपाठी तथा जलवायु विज्ञ विजय हितान रहेका थिए ।
प्रतियोगितामा प्रथम हुने विद्यार्थीले एक लाख नौ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् भने मेरिल्याण्डकी प्रेरणा प्रियदर्शीले नगद ९ हजारसहित प्रमाणपत्र प्राप्त गरेकी छन् ।
९८ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले चौथो स्थान हासिल गर्न सफल भएकी हुन् ।
प्रेरणा पढाइमा पनि अब्बल रहेको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताएका छन् ।
कलेजले नियमित शैक्षिक गतिविधिका अतिरिक्त आयोजना गर्ने विभिन्न अतिरिक्त क्रियाकलापमा पनि उनी सक्रिय रूपमा सहभागी हुने गरेको प्रिन्सिपल ढकालले जानकारी दिए ।
View : 30
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved