विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औँ जन्मजयन्तीको पूर्वसन्ध्यामा रतुवामाई–८, दाम्राभिट्टा निवासी साहित्यकार जितबहादुर कटुवालको कथा सङ्ग्रह ‘मखमली सपना’ लोकार्पण गरिएको छ ।
शनिबार रतुवामाई–८ स्थित दुर्गा माध्यमिक विद्यालयको सभा हलमा आयोजित एक विशेष समारोहका बीच कृतिको लोकार्पण गरिएको हो ।
रतुवामाईका कला, साहित्य र शिक्षाप्रेमीहरू गणेश उप्रेती, महानन्द भट्टराई, चन्द्रवीर राई, हरिबहादुर राई र टिकेन्द्र पौमोले संयुक्त रूपमा कृतिको अनावरण गरेका हुन् ।
कार्यक्रममा कृतिको समीक्षा गर्दै साहित्यकार केशव भट्टराईले ‘मखमली सपना’ मा नारी जातिको आकांक्षाको सूक्ष्म विश्लेषण गरिएको र समसामयिक जीवनको यथार्थ चित्रण रहेको बताए ।
उनले यस कृतिमा भाषा सरल र बोधगम्य रहेको भन्दै यसमा संगृहित कथाहरूले नेपाली भूगोलदेखि दक्षिण अफ्रिकाको सुडानसम्मको जनजीवनलाई समेटेको उल्लेख गरे ।
त्यस्तै, अर्का समीक्षक थिरनाथ दाहालले जितबहादुर कटुवालमा रहेको प्रतिभा, साधना र निरन्तरताकै कारण ‘मखमली सपना’ एउटा सुन्दर कृतिको रूपमा सार्वजनिक भएको धारणा राखे ।
कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्व र कृतित्वबारे पनि चर्चा गरिएको थियो ।
सुनवर्षी माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र रेग्मी र धरणीधर माध्यमिक विद्यालयका प्रधानाध्यापक खड्ग विश्वकर्माले महाकवि देवकोटाको योगदानबारे प्रकाश पारेका थिए ।
सो अवसरमा विभिन्न विद्यालयका विद्यार्थीहरूले कविता वाचन र नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अध्यक्षता रतुवामाई कला साहित्य मञ्चका अध्यक्ष चन्द्र घिमिरेले गरेका थिए भने सञ्चालन संस्थाका सचिव सुमन प्रसाईँले गरेका थिए ।
View : 124
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved